
डडेल्धुराकी २४ वर्षीया नन्दकुमारी शाही आफन्तको घर स्वयम्भू जाँदै थिइन् । एक्कासि उनीसँग सिन्धुपाल्चोकका विमल तामाङले साउदी रियाल देखाउँदै सोधे ‘बहिनी म सँग यति साउदी रियाल छ, कहाँ साट्ने होला ?’ चिनजान नै नभएका विमललाई शाहीले ‘थाहा छैन’ भनेर जवाफ फर्काइन् ।
उनीहरू कुरा गरिरहेका बेला सिन्धुलीको दुधौलीका लालबहादुर घिसिङ आइपुगे । तामाङलाई नचिनेझैँ गरेर घिसिङले यताउति हेर्दै प्रश्न गरे, ‘म सँग सुनको ढिक्का छ, १४ तोला जतिको, कहाँ बेच्ने होला ?’ तामाङले रियाल देखाउँदै सोधे ‘यो रियाल साट्दा एक लाख जति नेपाली रुपैयाँ हुन्छ, मलाई दिने हो ?’
सुनको बिस्कुट आकारको ढिक्का देखेपछि शाहीलाई पनि लोभ लाग्यो । अनि उनले औंठी देखाउँदै भनिन्, ‘यो औंठी मैले एक महिनाअघि मात्रै बनाएको हो, एक तोला ११ लालको हो, रियालभन्दा त मेरै सुन बेच्दा धेरै पैसा आउँछ ।’
घिसिङले ‘बरु बहिनीको औंठीसँग साट्छु’ भन्दै सुर्तीको खोलबाट सुनको ढिक्का झिकेर शाहीलाई दिए । शाहीले मख्ख पर्दै औँठी फुकालेर दिइन् ।
घिसिङले ‘यहाँ नदेखाउनुस्, प्रहरीले समात्छ, कोठामा गएर हेर्नुस्, अनि राम्रो ठाउँ हेरेर मात्रै बेच्नुस्’ भनेर शाहीलाई पठाए । अनि घिसिङ र तामाङ उक्त सुनको औंठी लिएर भक्तपुर लोकन्थलीका सुन पसले भक्तबहादुर गदाल विककोमा पुगे । गदालले ८० हजारमा औंठी किनेर पगालिहाले ।
उता शाही खुसी हुँदै दिदीको घरमा पुगिन् । उनले त्यो ढिक्का देखाउँदै भनिन्, ‘आज नसोचेको भयो, मैले एक तोला ११ लालको औंठी दिएँ, १४ तोलाको सुनको ढिक्का ल्याएँ ।’ दिदी सुन ठगीका समाचारबारे अभ्यस्त थिइन् । उनले शाहीलाई भनिन्, ‘लौ तँलाई ठग्यो, यो नक्कली सुन हुनुपर्छ, यस्ता घटना कति भइरहेका छन् ।’
शाहीले जवाफ फर्काइन्, ‘सुन पसलमा गएर देखाउँदा सक्कली कि नक्कली थाहा भइहाल्छ नि !’ दुवैजना एउटा सुन पसलमा पुगेर त्यसलाई जाँच गर्न दिए । उक्त वस्तु सुन नभएर पित्तल र तामाबाट बनाइएको धातु भएको प्रमाणित भयो । अनि शाही छाँगाबाट खसेजस्तै भइन् । त्यसपछि दुवैजना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर उजुरी गरे ।
विमल तामाङ र लालबहादुर घिसिङले सोझासाझा र गाउँबाट भर्खरै काठमाडौं छिरेका शाहीजस्ता थुप्रै महिलाहरूलाई यसैगरी झुक्याएर ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान कार्यालयमा शाहीकै शैलीमा ठगिएका ५ जनाले आफू सुन ठगीमा परेको भनेर उजुरी गरेका छन् । स्वयम्भू बस्ने मेनुका खत्री महर्जनको आधा तोलाको औंठी, बौद्ध रामहिटीकी दिलमाया तामाङको एक तोला सुनको औंठी, माकलवारीकी काइली बम्जनको एक तोलाको सुनको औँठी, बौद्ध तीनचुलीकी डोल्मा शेर्पाको दुई तोलाको औंठी र जडिबुटीकी चमेली दर्लामीको तीन तोला बराबरको सुनको सिक्री र ब्रासलेट तामाङ तथा घिसिङले नै नाटकीय रूपमा ठगी गरेको अनुसन्धानबाट खुलेको छ । पीडित महिलाहरूले आफूहरूलाई ठग्ने व्यक्ति तिनै दुईजना हुन् भनेर पहिचान गरिसकेका छन् ।
अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार विमल यसअघि ५ पटक मुद्दा चलेका कुख्यात व्यक्ति हुन् । उनीविरुद्ध २०८० जेठ ५ मा कास्की अमरसिंह चोकका रविलाल जैसीलाई नक्कली सुन देखाएर चार तोला बराबरको सुनको औंठी लुटपाट गरेको घटनामा मुद्दा चलेको थियो ।
त्यस्तै, सोही वर्ष चैत १२ मा गोंगबुमा अभद्र व्यवहार, चैत १६ मा नयाँ बानेश्वरमा डेढ तोलाको सुनको औंठी लुटपाट, सोही दिन बानेश्वरमै सुनको डेढ तोलाको औंठी घडी र ३६ हजार ४३० रुपैयाँ लुटपाट र २०८२ जेठ ५ मा पोखरामै चिजबहादुर लिम्बूलाई जुसमा नशालु पदार्थ खुवाएर उनको साथमा रहेको २ तोला ८० लालको सुनको औंठी र मोबाइल लुटपाट गरेको घटनामा मुद्दा चलेको थियो ।
यही घटनामा विमललाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेर ५ महिना जेल सजाय तथा ५ हजार जरिवानाको फैसला सुनाएको थियो । उनले कैद भुक्तान गर्न बाँकी रहेको एसपी जिसीले बताए ।
सुन लुटपाट घटनामा पक्राउ परेका अर्का आरोपी घिसिङविरुद्ध पनि २०७० मंसिर ३० मा फागुन ९ मा अभद्र व्यवहारमा मुद्दा चलेको थियो ।
‘नक्कली सुन र साउदी रियाल देखाएर सोझा महिलाहरूलाई ठगी गरेको आरोपमा तामाङ र घिसिङलाई पक्राउ गरेका छौं,’ अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘यिनीहरूले यसैगरी अरू थुप्रै महिलालाई ठगी एवं लुटपाट गरेको आशंका छ ।’
अनुसन्धान कार्यालयले उनीहरूबाट बरामद गरेको नक्कली सुनका चारवटा ढिक्का र लुटपाट गर्न प्रयोग गरेको स्कुटर समेत बरामद गरी दुवै जनालाई मुद्दा चलाउन काठमाडौं परिसरको जिम्मा लगाएको छ ।