
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने सम्पूर्ण आयातमा थप २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
यो नयाँ कर पहिले लागू भइसकेको २५ प्रतिशत करमा थप हुनेछ, जसअनुसार अब भारतबाट आयात हुने सामानमा कुल ५० प्रतिशतसम्म कर लाग्नेछ। ट्रम्पले हस्ताक्षर गरेको आदेश अनुसार, नयाँ कर २१ दिनपछि औपचारिक रूपमा लागू हुनेछ।
ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको आदेशमा भनिएको छ, “भारत सरकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूसी तेलको आयात गरिरहेको पुष्टि भएको छ।” यही कारण देखाउँदै अमेरिकाले भारतमाथि थप व्यापारिक प्रतिबन्ध स्वरूप आयात कर बढाएको हो।