
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा थप २५ प्रतिशत थप कर लगाएका छन् । यो नयाँ कर पहिले नै लगाइएको २५ प्रतिशत करमा थपिने र यसले कुल ५० प्रतिशत बनाउने बीबीसीले जनाएको छ ।
ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेपछि ट्रम्पले भारतमा कर लगाउने घोषणा गरेका हुन् । युक्रेनमा युद्धविराम गर्न रूसको सहमतिको लागि शुक्रबारको समयसीमाअघि स्टीव विटकफले पुटिनलाई भेटेका थिए।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो थप ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ ।
भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूसी तेल आयात गरिरहेको अमेरिकाको आरोप छ । यसै आधारमा, अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा २५ प्रतिशत थप कर लगाउने निर्णय गरेको हो ।
रुस युक्रेन युद्ध शुरू भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो ।
थप ट्यारिफ लगाउने अमेरिकी निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरूका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।
अमेरिकाले कर लगाएलगत्तै भारतको विदेश मन्त्रालयले भने यसलाई अनुचित, अव्यावहारिक र तर्कहीन भनेको छ । 'अमेरिकाले भारतमा थप कर लगाउने निर्णय गरेको छ, जबकि धेरै अन्य देशहरूले पनि आफ्नो राष्ट्रिय हितमा त्यही काम गरिरहेका छन्। हामी फेरि एकपटक दोहोर्याउँछौं कि यो कार्य अनुचित, अव्यावहारिक र तर्कहीन छ । भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ,' बीबीसी हिनदीका अनुसार अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै भारतले भनेको छ ।