२७ जेठ २०८३, बुधबार
नेपालीको मिर्गौलामाथि करोडौंको व्यापार

मिर्गौला बेचेको पैसा नपाएपछि खुल्यो पोल, डेढ सय नेपालीको मिर्गौला तस्करी !

साउन २२, २०८२
काठमाडौं
मिर्गौला बेचेको पैसा नपाएपछि खुल्यो पोल, डेढ सय नेपालीको मिर्गौला तस्करी !

नेपालबाट भारतको दिल्लीमा मिर्गौला तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढीका समीर नेपाली र राकेश नेपाली छन् ।

यो गिरोहले विगत पाँच वर्षदेखि नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेका सर्वसाधारणलाई आर्थिक प्रभावमा पारेर मिर्गौला बिक्रीका लागि दिल्ली लैजाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले डेढ महिना लामो अनुसन्धानपछि परियार र नेपालीद्वयलाई सप्रमाण नियन्त्रणमा लिएको हो ।

यो गिरोहले नेपाली सर्वसाधारणलाई शुरूमा भारतमा होटलमा काम गर्दा मासिक कमाई १० देखि २० हजार भारतीय रूपैयाँ आम्दानी हुने भन्दै बुटवल भैरहवा हुँदै सुनौली सीमा पार गराएर दिल्ली पुर्‍याई मिर्गौला बेच्न प्रोत्साहन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनीका अनुसार सामान्य मजदुरी गरेर बसेका, आर्थिक रूपमा विपन्न सर्वसाधारणलाई मिर्गौला बिक्री गरे ६ देखि ७ लाख रूपैयाँ आम्दानी हुने भन्दै दिल्लीका विभिन्न पोलिक्लिनिकमा लगेर मिर्गौला झिक्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामध्ये कुमार भन्ने राजकुमार परियार मुख्य आरोपी हुन् । उनले समीर र राकेशलाई परिचालन गरेर मिर्गौला तस्करीलाई बढावा दिएको प्रहरीले जनाएको छ । ब्यूरोको प्रमुख पंगेनीका अनुसार यो गिरोहसँग यही साउन ९ गते मात्रै पाँच जना सर्वसाधारण मिर्गौला बिक्री गरेर नेपाल फर्किएको अनुसन्धानबाट खुलेको छ । 

‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट मात्रै यो गिरोहले हालसम्म डेढ सय भन्दा बढी नेपाली सर्वसाधारणलाई दिल्लीमा पुर्‍याएर मिर्गौला बिक्री गरेको देखिन्छ,’ पंगेनीले लोकान्तरसँग भने, ‘यो संख्या अझै बढ्ने देखिन्छ।’ 

ब्यूरोका अनुसार पक्राउ परेकामध्येका समीर आफैं पनि मिर्गौला बिक्री गर्नेमध्येका एक हुन् । उनले नै राजकुमारलाई यो धन्दाका बारेमा अवगत गराएपछि परियार र नेपालीद्वय मिलेर मिर्गौला तस्करीको धन्दा चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी पंगेनीले जानकारी दिए । यो गिरोहले दिल्लीमा प्रतिमिर्गौला २० लाख भन्दा बढीमा बिक्री गर्दै आएका थिए ।

नेपालीलाई बस चढाएर दिल्ली पुर्‍याउने, होटलमा राख्ने, खाना खुवाउनेदेखि अन्य आर्थिक कारोबारको जिम्मा समेत यही गिरोहले लिँदै आएका थिए । ब्यूरो प्रमुख पंगेनीका अनुसार गिरोहमध्येका सदस्यले मिर्गौला बिक्री गर्ने ग्राहक खोज्ने व्यक्तिले ५० हजार, दिल्ली लगिदिएबापत ५० हजार र उता पुर्‍याएर मेडिकल चेक गराएबापत ५० हजार पाउँदै आएका थिए । 

‘यो गिरोहसँग मिलेर दिल्लीका माफियाले कतै मिर्गौला स्टोर गरेर राख्दै त आएका छैनन् भन्ने हाम्रो आशंका हो,’ पंगेनीले भने,‘पक्राउ परेकामध्ये परियारले १२ जना र नेपालीद्वले १८ जना नेपालीलाई त गत असारभित्रमा मात्रै दिल्ली पुर्‍याएको देखिन्छ ।’ 

नेपालीको मिर्गौलाको दिल्लीमा करोडौंको व्यापार हुँदै आएको यो घटनाले पुष्टि गरेको बताउँछन्, एसएसपी पंगेनी । उनका अनुसार एक जना पीडितलाई दिल्ली पुर्‍याएर मिर्गौला झिकी कबुल अनुसार ६ लाख रूपैयाँ नदिएपछि ती पीडितले नेपाल फर्किएर ब्यूरोमा उजुरी गरेका थिए । त्यसपछि यो घटनाको पर्दाफास भएको हो । ब्यूरोले पक्राउ परेकाविरुद्ध संगठित अपराध मुद्दामा अनुसन्धान थालेको छ ।

एसएसपी पंगेनीले मिर्गौला तस्करीमा अन्य गिरोहको समेत संलग्नता हनुसक्ने आशंमा अनुसन्धान अघि बढाइएको बताए । ‘करोडौं रूपैयाँमा हुँदै आएको मिर्गौला तस्करीमा यी तीन जनाको मात्रै संलग्नता छ भन्ने लाग्दैन, हामीले अन्य गिरोहको खोजी गरिरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्