
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १५ मा अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासबारे छलफल गर्ने पुष्टि गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा आर्मेनिया र अजरबैजानका नेताहरूसँगको कार्यक्रममा बोल्दै ट्रम्पले भने, 'हामी रूससँग भेट्दैछौँ।'
उनका अनुसार, वार्ताका क्रममा सम्भावित शान्ति सम्झौतामा केही क्षेत्रहरूको आदान–प्रदान हुने सम्भावना छ, जुन अहिले नै विवादको विषय बनेको छ। 'यो धेरै जटिल छ। तर हामी केही परिवर्तन गर्नेछौं। केही क्षेत्रहरू दुवै पक्षको हितमा साटासाट गरिनेछ,' ट्रम्पले भने।
युक्रेन र यसको युरोपेली सहयोगीहरूले क्रिमिया, डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया लगायतका कब्जा गरिएका क्षेत्रहरू रूसलाई हस्तान्तरण गर्ने कुनै पनि सम्झौतामा लामो समयदेखि कडा आपत्ति जनाउँदै आएका छन्।
रूसी राष्ट्रपति पुटिनले भने बारम्बार कुनै पनि शान्ति सम्झौतामा युक्रेनले २०१४ देखि कब्जामा रहेका केही भू–भाग त्याग्नुपर्ने बताउँदै आएका छन्। साथै उनले युक्रेनलाई पश्चिमी सहायता रोक्न र नेटोमा सदस्यता लिन खोज्ने प्रयास अन्त्य गर्न समेत आग्रह गरेका छन्।