०२ साउन २०८३, शनिबार

उद्यमसँगै राजनीतिमा सक्रिय पुनम

साउन २४, २०८२
बुटवल
उद्यमसँगै राजनीतिमा सक्रिय पुनम

उद्योगसँगै राजनीतिमा पनि सक्रिय भैरहवाकी पुनमकुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार आकांक्षी छन् । बिहीबार रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमा पुनमको नाम पनि छ । पार्टीले अनलाइन आवेदन माग गरेर उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गरेको हो । सबै प्रक्रिया पुर्‍याएर रास्वपाले उम्मेदवार टुंग्याउने छ ।

आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन रास्वपासहित सबै दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीको सूचीमा मधेशी मूलकी महिलाबाट पुनम एक्लो दाबेदार हुन् । 

पुनम निकटका अनुसार उनी विगत दुई वर्षदेखि पार्टी सदस्य भएर काम गरिरहेकी छिन् । उनले पार्टी सिद्धार्थनगरको नगर सचिवसमेत भएर काम गरेकी छन् । पार्टीको विधानसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिसमेत उनले अध्ययन गरेकी छन् ।

पुनमले लामो समयदेखि मुलुकको राजनीति, नेतृत्व र विधिबारे अध्ययन गरेको उनी निकटहरू बताउँछन् । ‘हाम्रो पार्टीले अघि सारेका एजेण्डा र मुलुकको विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण उहाँले रास्वपा रोज्नुभएको हो,’ रास्वपा सिद्धार्थनगरका एक स्थानीय नेताले भने, ‘पुनमजी योग्य हुनुहुन्छ, उहाँसँग उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता छ । तर, पार्टीको कुरा हो, कसले टिकट पाउँछ भन्न सकिँदैन ।’ उनी यसअघि सिद्धार्थनगरको प्रमुख (मेयर)मा समेत उम्मेदवार बनेकी थिइन् । 

रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको मात्रै नभई आफूले समग्र जिल्लाको सम्भावना बुझेको पुनमले बताइन् । ‘रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताको मात्रै होइन मैले समग्र जिल्लाको सम्भावना बुझेकी छु,' ​पुनमले भनिन्, 'यहाँका समस्यासँग परिचित छु, समस्या समाधानका उपाय पनि बुझेकी छु । यसैले मैले रास्वपाबाट उपनिर्वाचन लड्न चाहेकी हुँ ।’

आफूले राजनीतिलाई पेसा नभई सेवा ठान्ने उनले बताइन् । उनी युवा उद्यमीसमेत हुन् । ‘राष्ट्रिय पुँजीको विकास र रोजगारी सिर्जना गर्दै मुलुकको समृद्धिमा टेवा पुर्‍याउन निरन्तर लागेकी छु । उद्यमसँगै मैले राजनीतिलाई निरन्तरता दिँदै रास्वपाको अभियानमा लागेकी छु,’ उनले भनिन्, ‘हाम्रो परिवारको लगानीमा रुपन्देहीमा नेपालमै पहिलो ग्रोमोर दानेदार अर्ग्यानिक मल उद्योग सञ्चालित छ । यसँगै अन्य व्यवसायीक फर्ममा समेत लगानी गरी रोजगारी सिर्जनामा लागेकी छु । तर, राजनीति छोडेकी छैन ।’

उनले मेडिकल बायोलोजीमा स्नातकोत्तर (डिग्री) अध्ययन गरेकी छन् । उनले केही समय भैरहवा मेडिकल कलेज र देवदह मेडिकल कलेजमा अध्यापन समेत गराएकी थिइन् । उनी नेपाल–भारत मैत्री केन्द्रको केन्द्रीय कमिटी सदस्यसमेत हुन् ।

यसबाहेक विभिन्न सामाजिक संघसंस्थासँग जोडिएर समाजसेवा पनि गर्दै आएकी छन् । उनले ठूला दलका नेताका कारण मुलुक जर्जर अवस्थामा पुगेको सुनाइन् । ‘मुलुकमा भ्रष्टाचार र कुशासन व्यप्त छ,’ उनले भनिन्, ‘मुलुकको सम्भावना, विकास र समृति तथा राजनीतिक प्रतिशोधबारे हाम्रो पार्टीले उठाएका एजेण्डालाई थप स्थापित गर्न म उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेकी हुँ ।’
जनताको मनोभावना, विकास, सम्भावना र समस्यासँग परिचित भएकाले पनि आफू मख्उ दाबेदार भएको उनको भनाइ छ । ‘मेरो दाबी हो, बाँकी कुरा पार्टीले डिसिजन गर्ला,’ उनले भनिन् ।

मिश्रित समुदायको बसोबास र व्यापारिक थलोसमेत रहेको रुपन्देही-३ मा मधेशी समुदायको बाहुल्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्