०२ साउन २०८३, शनिबार

जापानमा लगानीकर्ताको उत्साह, सेयर बजारमा उल्लेखनीय वृद्धि

साउन २७, २०८२
काठमाडौं
जापानमा लगानीकर्ताको उत्साह, सेयर बजारमा उल्लेखनीय वृद्धि

अमेरिकाबाट जापानले कर (ट्यारिफ) सम्बन्धी विशेष छुट प्राप्त गरेको पुष्टि भएपछि आज टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । अमेरिकी बजारमा देखिएको सुधारको प्रभाव र जापानी कम्पनीहरूको सशक्त आर्थिक नतिजाले पनि बजारमा सकारात्मक संकेत थपेका छन् ।

प्रमुख सूचकांक ‘निक्केई’ २२५ आज ८९७.६९ अंकले अर्थात् २.१५ प्रतिशतले वृद्धि भई ४२ हजार ७१८.१७ मा पुग्न सफल भयो । यो विन्दु पछिल्ला १३ महिनाको सबैभन्दा उच्च स्तर हो ।
निक्केई भन्नाले जापानको प्रमुख सेयर बजार सूचकांकलाई जनाइन्छ, जसलाई ‘निक्केई २२५’ पनि भनिन्छ । यो सूचकांक टोकियो स्टक विनिमयमा सूचीकृत २२५ वटा ठूला तथा प्रभावशाली कम्पनीहरूको सेयर मूल्यको औसतका आधारमा गणना गरिन्छ । यसले जापानको समग्र सेयर बजारको प्रदर्शनलाई झल्काउने काम गर्छ । यो सूचकांक जापानी आर्थिक समाचार संस्था ‘निहोन केइजाई शिम्बुन’ द्वारा प्रकाशित तथा व्यवस्थापन गरिन्छ । जापानको अर्थतन्त्रको अवस्थाबारे बुझ्न यो एक महत्वपूर्ण मापन सूचक हो ।

बजारमा सकारात्मक धारणा बनिनुमा विशेष महसुल छुटको पुष्टि, सशक्त कर्पोरेट नतिजा तथा विदेशी छोटो अवधिका लगानीकर्ताहरूको सक्रियताले प्रमुख भूमिका खेलेका छन् । यसका साथै, डलरसँगको तुलनामा येनको विनिमय दर करिब १४८ मा झरेको हुँदा निर्यातमुखी कम्पनीहरूको सेयरमा विशेष रूपमा सुधार आएको हो ।

टोकियो स्टक एक्सचेन्जको टोपिक्स सूचकांक पनि आज ४२.१६ अंकले, अर्थात् १.३९ प्रतिशतले बढेर तीन हजार ६६.३७ मा बन्द भएको छ, जुन लगातार दोस्रो दिनको कीर्तिमानी बन्द हो ।
आजको कारोबारमा प्राइम बजारमा ९६४ कम्पनीका सेयरहरू बढेका छन् भने ६०० कम्पनीका सेयर घटेका र ५९ कम्पनी स्थिर रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्