
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न र त्यसमा संलग्न सबै पक्षको हितलाई ध्यानमा राखेर सम्झौतामा पुग्न संयुक्त राज्य अमेरिकाले वास्तविक प्रयास गरिरहेको बताएका छन् ।
अलास्काको एंकोरेजमा अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको महत्त्वपूर्ण शिखर वार्ताको पूर्वसन्ध्यामा पुटिनले यस्तो टिप्पणी गरेका हुन् । पुटिनको यस्तो टिप्पणीपछि वार्ताको वातावरण सकारात्मक बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार राष्ट्रपति पुटिन र ट्रम्पबीच युक्रेन द्वन्द्व अन्त्य गर्ने उपायहरूका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धलाई सामान्यीकरण गर्ने दिशातर्फका कदमहरूबारे छलफल हुने कार्यक्रम छ ।
शिखर वार्ताको तयारीका लागि बिहीबार मस्कोमा आफ्ना शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि पुटिनले उक्त भनाइ राखेका हुन् ।
पुटिनले अमेरिकी नेतृत्वले युद्ध अन्त्यका लागि ट्रम्पले निकै ऊर्जावान र इमानदार प्रयासहरू गरिरहेको बताएका हुन् । उनले युरोप र समग्र विश्वमा दीर्घकालीन शान्तिका लागि अवस्था सिर्जना गर्न आफू तयार रहेको पनि बताए ।
उनले रुस र अमेरिकाबीच हुने वार्ताको आगामी चरणहरूमा रणनीतिक आक्रामक हतियार नियन्त्रणमा सम्झौता भएमा यो प्रक्रियालाई अझ अगाडि बढाउन सकिनेसमेत बताए ।
बिहीबारको बैठकमा रक्षामन्त्री एन्ड्रे बेलोसोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र विदेशमन्त्री सर्गेई लाभरोभलगायतका अधिकारीहरू उपस्थित थिए । यी सबै अधिकारीहरू शुक्रबार पुटिन-ट्रम्प शिखर सम्मेलनमा भाग लिन अलास्का जानेछन् ।
क्रेमलिनका अनुसार कार्यक्रमको सुरुवात दुई नेताबीचको एकल वार्ताबाट हुनेछ र त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलको बैठक हुनेछ ।
अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले यस शिखर सम्मेलनलाई एक महत्त्वपूर्ण बैठक भएको बताएका छन् । उनले यो बैठकले युक्रेन द्वन्द्व समाधान गर्न सकिन्छ कि सकिँदैन भनेर निर्धारण गर्न मद्दत गर्ने प्रतिक्रिया दिएका हुन् ।
यदि वार्ता राम्रोसँग अगाडि बढेमा आफूले पुटिन र युक्रेनी नेता भ्लादिमिर जेलेन्स्कीलाई समावेश गरी दोस्रो चरणको वार्ताको खोजी गर्न सक्ने ट्रम्पको भनाइ छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार ट्रम्पले पुटिनसँगको भेटमा द्वन्द्वको शान्तिपूर्ण अन्त्यका लागि सबै सम्भावित विकल्पहरू खोज्ने बताइन् । उनले अमेरिकी राष्ट्रपति रुसमाथि कुनै नयाँ प्रतिबन्ध लगाउनुको सट्टा कूटनीतिमार्फत स्थिति समाधान गर्न चाहेको पनि बताइन् ।