नेपाली महिला क्रिकेटमा उदाहरणीय नाम हो, पूजा महतो । क्रिकेटमा उदाउन उनले गरेको संघर्षको कथा जति मर्मस्पर्शी छ, त्यति नै गर्व गर्न लायक पनि । उनले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा हात पारेको सफलता पनि चानचुने कुरा होइन ।
नेपाली क्रिकेटको इतिहासमा पूजा यस्ती पात्र हुन्, जसले राष्ट्रिय टोलीमा स्थान बनाउन न घरेलु प्रतियोगिता खेल्नु पर्यो, न त छनोट प्रतियोगितामै आफ्नो क्षमता प्रदर्शन । विश्व क्रिकेटमै यस्तो दुर्लभ घटना निकै कम हुन्छ ।
अर्कोतिर, नेपाली क्रिकेटमा उनी यस्ती खेलाडी पनि हुन्, जसले पहिले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाइन्, त्यसपछि मात्र उमेर समूहको टोलीलाई नेतृत्व गर्ने अवसर पाइन् । एउटा खेलाडीको भूमिकामा उनले हात पारेको यो उपलब्धि पनि कम्ता लोभलाग्दो छैन ।
पूजाले यी सबै अवसर पाउनुको पछाडि एउटै कारण थियो– क्रिकेटमा निखारिन उनले गरेको अथक परिश्रम अनि भविष्यमा आफू, आफ्नो समाज र राष्ट्रका लागि केही गरेर देखाउने बलियो आत्मविश्वास ।
‘स्पष्ट लक्ष्य, निरन्तरको संघर्ष र दरिलो आत्मविश्वास नै सफलताका कडी हुन् । अनि, ममात्र कसरी अपवाद बन्न सक्छु ! म निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी व्यक्ति हुँ । जीवन धान्न पनि थोरै संघर्षले नपुग्ने । त्यसैले सानै उमेरमा परिवारसँगै थातथलो छाडेर विदेशिनु पर्यो । भारत बसाइका क्रममा पनि परिवार चलाउन बुवा–आमाले गरेको चर्को संघर्षलाई मैले नजिकबाट देखेकी छु,’ उनी भन्छिन् ।
पक्कै पनि महोत्तरीको गौशलादेखि भारतको दिल्ली हुँदै राष्ट्रिय टोलीको उप–कप्तानसम्मको यात्रा उनका लागि सहज थिएन । उनको जन्म गौशालामै भएको हो । उनी सानै हुँदा परिवारको लालन–पालन गर्न बुवा भारत पसिसकेका थिए ।
त्यसपछि पाँच वर्षकै कलिलो उमेरमा पूजा पनि आफ्नो पुर्ख्यौली थलो छाडेर बा–आमाकै फेरो समाउँदै भारतको दिल्ली पुगिन् । दिल्लीमा बा–आमाले संघर्ष गरेर आफ्ना तीन सन्तानलाई जसोतसो पालनपोषण गरिरहे ।
यसै क्रममा उनको भाइको मनमा क्रिकेट सिक्ने रहर पलायो । स्वाभाविकै थियो, आखिर भारत भनेको क्रिकेट भनेपछि हुरुक्कै हुनेहरूको राष्ट्र न पर्यो । जताततै क्रिकेटको माहोल । अन्तत: भाइ दिल्लीकै एक क्रिकेट एकेडेमीमा भर्ना भए ।
‘भाइलाई क्रिकेट एकेडेमी पुर्याउने र ल्याउने जिम्मा मेरो थियो । स–साना बालबालिका पनि क्रिकेट सिक्न आउँथे । यसैक्रममा एकेडेमीका प्रशिक्षकले मलाई पनि क्रिकेट सिक्न भन्नुभयो । तर, दुई जनाको शुल्क तिर्ने आर्थिक हैसियत बुवाको थिएन । यो बुझेर एकेडेमीका प्रशिक्षकहरूले सदाशयता देखाउनुभयो र म सित्तैमा क्रिकेट सिक्न थालेँ । अहिले सोच्छु, मेरो जीवनले त्यतिबेलै नयाँ मोड लिइसकेको रहेछ,’ उनले विगत सम्झिइन् ।
क्रिकेट कखरा सिक्न थालेपछि पूजाको जीवनले फरक मोड लियो । उनी दिन–रात यही खेलमै एकहोरिन थालिन् । ‘हाम्रो जीवनमा परिवेशले ठूलै असर पार्दो रहेछ । क्रिकेट सिक्न थालेपछि म पनि एकहोरिन पुगेँ । मेहनत पनि निकै गरेँ । बिहान एकेडेमी गयो । त्यहाँबाट फर्किएर विद्यालय पुग्यो । विद्यालयबाट फर्किएलगत्तै फेरि राति ८ बजेसम्म एकेडेमी धाउने । मेरो दिनचर्या नै यत्तिमै सीमित भयो । विस्तारै मेरो खेलमा पनि निखार आउन थाल्यो,’ पूजा भन्छिन् ।
अनि कसरी नेपाली क्रिकेटसँग जोडिन पुगिन् त पूजा ? यो प्रसंग पनि रमाइलो छ । खासमा, पूजाका हजुरबुवा र हजुरआमा गौशालाको पुर्ख्यौली थलोमै थिए । त्यसैले पूजाका पिता बेला–बखत नेपाल आउने क्रम जारी थियो ।
यसैक्रममा एकपटक पूजाका पिता र भाइ केही समयका लागि गौशाला आएका रहेछन् ।
स्थानीय युवाले क्रिकेट खेलेको देखेपछि पूजाका भाइले पनि मन थाम्न सकेनन् र साथीहरूसँग क्रिकेट खेल्न थाले । नेपाल बसाइका क्रममा पूजाका भाइ उमेर समूहको क्याम्पमा पनि परे ।

दिल्लीको एकेडेमीमा क्रिकेट सिकेकाले उनको खेल राम्रो पनि थियो ।
एक प्रतियोगिताका क्रममा उनले प्लेयर अफ दी म्याच अवार्ड पनि पाए । उनलाई अवार्ड दिने व्यक्ति थिए, नेपाल क्रिकेट संघ (क्यान) का तत्कालीन कोषाध्यक्ष रोशन सिंह ।
‘रोशन सरसँग कुराकानी गर्ने क्रममा भाइले मेरो बारेमा पनि बताएको रहेछ । त्यसपछि सरले मेरो खेलको भिडियो माग्नुभयो । हामीले केही भिडियो पठायौँ । यसरी मेरा लागि आफ्नो देशको क्रिकेटसँग जोडिने ढोका खुलेको थियो,’ उनी भन्छिन् ।
यसरी पूजा क्रिकेट खेल्न नेपाल फर्किइन् । केही समय प्रशिक्षणमा रहेपछि उनी सिधै राष्ट्रिय टोलीको सदस्य बन्न पुगिन् । सन् २०२३ मा मलेसियामा आयोजित महिला टी– २० विश्वकप एसिया क्वालिफायर उनले राष्ट्रिय टोलीबाट खेलेको पहिलो ठूलो प्रतियोगिता बन्न पुग्यो ।
त्यसअघि, उनले चार राष्ट्र सम्मिलित शृंखलामा हङकङविरुद्ध खेल्दै सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेकी थिइन् । सिनियर टोलीबाट खेलिसकेपछि उनी यू–१९ राष्ट्रिय टोलीमा छानिएकी हुन् । पूजाकै कप्तानीमा नेपालले यू–१९ अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को सफलता हात पारेको छ ।
पूजाकै कप्तानीमा नेपाली टोलीले इतिहासमै पहिलोपटक आईसीसी यू–१९ महिला टी–२० विश्वकप पनि खेल्यो । टोलीलाई विश्वकपमा पुर्याउन पनि उनको भूमिका महत्वपूर्ण थियो । उनकै कप्तानीमा नेपालले एसीसी यू–१९ महिला एसिया कपमा पनि अब्बल प्रदर्शन गर्यो ।
यू–१९ एसिया कपमा नेपाली टोलीले बलियो पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जितसमेत हात पार्यो । पाकिस्तानविरुद्धको जितमा पूजाकै योगदान महत्त्वपूर्ण थियो । उनले दुई विकेट लिएकी थिइन् भने अविजित ४७ रन पनि बनाएकी थिइन् ।
पूजाको ब्याटिङ जति अब्बल छ, बलिङ पनि उत्तिकै धारिलो । यही खुबीले उनलाई यतिबेला राष्ट्रिय टोलीको प्रभावशाली अलराउन्डरको रूपमा उभ्याएको छ ।
मध्यम तेज गतिकी बलर पूजा अहिले सिनियर राष्ट्रिय टोलीकी उप–कप्तान पनि हुन् । दुवै विधामा अब्बल भए पनि पूजा आफूलाई ब्याटिङ अलराउन्डरको रूपमा चिनाउन चाहन्छिन् ।
क्रिकेटका अतिरिक्त उनलाई मनपर्ने अर्को खेल टेबलटेनिस हो । राजनीतिप्रति भने उनलाई रत्तिभर चासो छैन रे ! ‘क्रिकेटपछि मलाई सबैभन्दा मन पर्ने खेल टेबलटेनिस हो । समय मिल्दा टेबलटेनिस खेल्छु पनि । राजनीतिप्रति भने फिटिक्कै चासो छैन । खै किन हो,’ उनी भन्छिन् ।
अनि, गीत–संगीतले भने उनलाई लठ्ठै पार्छ रे ! ‘जीवनमा तनाव पनि त हुन्छ नि, गित–संगीत भनेको तनाव कम गर्ने सबैभन्दा उत्तम माध्यम हो । त्यसमाथि संगीत भनेपछि म हुरुक्कै हुन्छु । गितार पनि बजाउँछु । तर, आफैंलाई राम्रो गाउन भने आउँदैनन् । मलाई बाथरुम सिंगर भन्दा हुन्छ,’ यसो भनिरहँदा उनी मुसुक्क हाँसिन् ।
हेर्नुहोस्, भिडियो :