०४ साउन २०८३, सोमबार
रुस-युक्रेन युद्धमा नयाँ मोड

वार्ता गर्न जेलेन्स्की मस्को नजाने, पुटिनलाई कीभ आउन चुनौती

रुसमाथि दोस्रो चरणको नयाँ प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी
भदौ २३, २०८२
काठमाडौं
वार्ता गर्न जेलेन्स्की मस्को नजाने, पुटिनलाई कीभ आउन चुनौती

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा वार्ताका लागि आउन गरेको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाइल आक्रमण भइरहेकोले आफू रुसको राजधानी मस्को जान नसक्ने बताएका हुन् । 

उनले रुसी राष्ट्रपति पुटिन आफैं युक्रेन आउन सक्ने विकल्प दिएका छन् । जेलेन्स्कीले पुटिनलाई वास्तवमा शान्ति र वार्ता चाहेको नभई समय लम्ब्याउने खेल खेलिरहेको आरोपसमेत लगाए । यसअघि पुटिनले यदि जेलेन्स्की तयार भए मस्को आउन सक्ने र वार्ता हुन सक्ने बताएका थिए । 'उनी कीभ आउन सक्छन्,' जेलेन्स्कीले भने, 'मेरो देश हरेक दिन क्षेप्यास्त्र आक्रमणमा परेको बेला मस्को जान सक्दिनँ । म यो आतंकवादीको राजधानी जान सक्दिन ।'

यसअघि आइतबार मात्रै रुसले पहिलोपटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको थियो । रातभरको आक्रमणमा रुसले आठ सय पाँच ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको युक्रेनको आरोप छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।
यससँगै युक्रेनविरुद्ध रूसको आक्रमणमा नयाँ मोड लिएको बीबीसीले विश्लेषण गरेको छ । अहिलेसम्म युक्रेनमा कुनै पनि सरकारी भवनमा रुसी आक्रमण भएको थिएन । किभको केन्द्र धेरै सुरक्षित मानिन्छ र यहाँ वायु रक्षा तैनाती सुरुदेखि नै बलियो छ । त्यसैले, यो आक्रमणले मानिसहरूलाई स्तब्ध बनाएको समाचारमा उल्लेख छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौताको मध्यस्थता गर्ने आफ्नो प्रयासमा दुई नेताहरू बीचको बैठकलाई प्राथमिकता दिएका छन् । 'अन्ततः म ती दुईलाई एउटा कोठामा राख्नेछु,' उनले फक्स न्यूजलाई भनेका छन् ।

null

ट्रम्पले गत महिना अलास्कामा पुटिनसँगको आफ्नो शिखर सम्मेलनको लक्ष्य अमेरिका, रुस र युक्रेनका नेताहरू बीचको त्रिपक्षीय बैठक बनाएका थिए र पछि युक्रेनी नेता ह्वाइट हाउस आएपछि पुटिन र जेलेन्स्की बीचको द्विपक्षीय बैठक हुने बताएका थिए । तर, हालसम्म उक्त वार्ता हुन सकेको छैन । 

पुटिन र जेलेन्स्की बीचको द्विपक्षीय वार्ता हुन नसकिरहेका बेला ट्रम्पले रुसमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउनेबारे कुरा गरेका छन् । आइतबार सञ्चारकर्मीले रुसमाथि अर्को चरणको प्रतिबन्ध लगाउन तयार हुनुहुन्छ ? भनेर सोध्दा ट्रम्पले छोटो जवाफ दिए र भने, 'हो, म तयार छु।'

यद्यपि, उनले नयाँ प्रतिबन्धहरू कहिले र कसरी लागू हुनेछन् भन्ने कुरा स्पष्ट पारेनन् । यदि यी प्रतिबन्धहरू लगाइए भने तिनीहरूले रूसको तेल आपूर्ति, बैंकिङ क्षेत्र र छायाँ फ्लीटलाई असर गर्न सक्ने सीएनएनले जनाएको छ ।

तस्वीरहरू : एपी

salt training

कमेन्ट गर्नुहोस्