२६ जेठ २०८३, मंगलबार
जेनजी आन्दोलन

शान्तिपूर्णरूपमा शुरू भएर बानेश्वर पुग्दा रक्तपात मच्चिएको अप्रत्यासित घटनाको नालीबेली

भदौ २३, २०८२
काठमाडौं
शान्तिपूर्णरूपमा शुरू भएर बानेश्वर पुग्दा रक्तपात मच्चिएको अप्रत्यासित घटनाको नालीबेली

काठमाडौंलगायत देशका विभिन्न शहरमा सोमबार नयाँ पुस्ता (जेनेरेसन जेड- जेनजी)का किशोर–किशोरी र युवा–युवतीले गरेको आन्दोलन रक्तपातपूर्ण बनेको छ ।

यो समाचार टिप्पणी तयार गर्दासम्म १८ जनाको मृत्यु पुष्टि भएको छ भने २ सयभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । विभिन्न स्रोतहरूका अनुसार घाइतेमध्ये दर्जन बढीको अवस्था चिन्ताजनक छ ।

जेनजीको आन्दोलन यति धेरै रक्तपातपूर्ण होला भन्ने आकलन कसैले पनि गरेका थिएनन् । आइतबार रातिसम्म सामाजिक सञ्जाल टिकटकमा जेनजीहरूले आफ्नो धारणा पोस्ट गर्दै आन्दोलन शान्तिपूर्ण हुनुपर्ने अपिल गरिरहेका थिए ।

टिकटकमार्फत यसरी आन्दोलनका लागि अपिल भइरहँदा आन्दोलन कसरी गर्ने र उद्देश्य के राख्ने भन्ने सम्बन्धमा पनि धेरैले आफ्नो राय राखेका थिए ।

संसद् भवन कब्जा गर्ने, आगजनी गर्ने, प्रहरीलाई आक्रमण गर्ने, तोडफोड गर्ने लगायतका कुराहरू निषेध गरिएका थिए ।

सामाजिक सञ्जालहरूमा धेरै फलोअर हुने सेलिब्रिटी र इन्फ्लुएन्सरहरूले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पोस्टहरू गरेका थिए ।

सबैबाट आन्दोलन शान्तिपूर्ण हुनुपर्ने भन्दै आह्वान गरिएपछि यति धेरै हिंसात्मक होला भनेर सुरक्षा विश्लेषण पनि भएको थिएन । साथै, घुसपैठ हुन नदिन पनि जेनजीले आग्रह गरिरहेका थिए ।

यो हदसम्म घुसपैठ होला भनेर पनि आकलन गरिएको थिएन ।

null

साँझ साढे ५ बजेतिर सम्पन्न भएको सुरक्षा परिषदको बैठकपछि तीनवटै सुरक्षा निकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेनजी आन्दोलनमा आपराधिक जत्थाको घुसपैठ भएको ब्रिफिङ गरेका छन् ।

बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसो नै गृहमन्त्री लेखकले सुरक्षा प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर छलफल थालेका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।

जेनजी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिबद्धताप्रति ढुक्क हुँदा यो अवस्था आएको र यसलाई पूर्वानुमान गर्न असफल हुँदा हिंसा भड्किएको सुरक्षा विश्लेषण छ ।

काठमाडौं मात्र होइन, इटहरी, बुटवल, पोखरा जस्ता शहरहरूमा पनि यस्तै आन्दोलन भए । कैयौं ठाउँमा हताहती पनि भए । पछिल्लो रिपोर्टिङ अनुसार १४ जना प्रहरी यो आन्दोलनमा घाइते भएका छन् ।

संसद् भवनको भत्किएको गेट

आन्दोलनमा रक्तपात हुनुअघिको दृश्य

आन्दोलनका लागि ११ बजेको समय तोकिएको भए पनि माइतीघर मण्डलामा ९/१० बजेबाट नै जेनजीहरू भेला हुन थालिसकेका थिए । माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरू आफ्नै शैलीमा नाराबाजी गर्न शुरू गरे भने कतिपयले गीत गाउन थाले । म्युजिक सिस्टम पनि उनीहरूले नै ल्याएका थिए ।

११ बजेको हाराहारीमा जडिबुटीतिरबाट एक हुल आन्दोलनकारी निस्क्यो । बानेश्वरकै पनि छेउछाउबाट नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भए । माइतीघर मण्डलाबाट पनि ठूलो संख्यामा ३/४ हुल बानेश्वरतर्फ लाग्यो ।

यसअघिको प्रदर्शनहरूमा प्रहरीले माइतीघर मण्डलाबाट बिजुलीबजार हुँदै बानेश्वर चोक पुग्ने बेलामा एभरेस्ट होटेलअगाडि प्रदर्शनकारीहरूलाई रोक्ने गर्थ्यो ।

सोमबार पनि प्रहरीले त्यहाँ ब्यारिकेड खडा गरेको थियो । करिब १२ बजेतिर त्यहाँ पुगेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य घम्साघम्सी भयो ।

प्रहरीले केही सेल अश्रुग्यास हान्यो । प्रदर्शनकारीले ढुंगा र इट्टा प्रहार गरे । सामान्य झडपपछि प्रहरीले उक्त ठाउँ खाली गरिदियो ।

null

त्यहाँ खटिएका एक प्रहरी जवानले लोकान्तरसँग भने, ‘त्यति ठूलो झडप भएको थिएन । हामीले रोक्ने प्रयास गरिरहेका थियौं, तर माथिबाट मूभ हुन आदेश आयो ।’

उनका अनुसार त्यहीँ ठूलो क्षति हुने आंकलनका साथ प्रहरी नेतृत्वले ठाउँ खाली गर्न आदेश दिएको थियो । प्रहरीको त्यो मूभ नै पछि 'डिजास्टर' बन्यो ।

ती प्रहरी जवान भन्छन् – ‘प्रदर्शनकारीलाई त्यहीँ रोक्न सकेको भए, संसद् भवन सुरक्षित हुन्थ्यो । न गोली चलाउनुपर्थ्यो, न हताहती हुन्थ्यो ।’

मध्याह्न साढे १२ बजेसम्म प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनलाई पूर्ण रूपमा घेरिसकेका थिए । प्रहरी बाहिर थिएन । तीनकुनेसम्म नै प्रहरी देखिएका थिएनन् । सबै संसद् भवन छिरेर बसेका थिए ।

त्यतिबेलासम्म भीड मात्रै ठूलो थियो, प्रदर्शनकारीहरू अराजक देखिएका थिएनन् । यद्यपि फाट्ट-फुट्ट अश्रुग्यास भने भित्रबाट प्रहरीले प्रहार गरिरहेको थियो । प्रदर्शनकारीहरूले बानेश्वर चोकको प्रहरी बीटमा नेपालको झण्डा फहराएका थिए ।

त्यसपछि एकाएक प्रदर्शनकारीहरू उग्र हुन थाले । उनीहरूमध्ये ४०/५० जनाको एउटा समूहले संसद् भवनमा २ नम्बर गेटमा तोडफोड गर्न थाले । अनि त्यही समयमा सुरक्षाकर्मीको सेन्ट्री पोस्टमा केही प्रदर्शनकारीहरू चढे । अनि करिब ३०/३५ को संख्यामा प्रदर्शनकारीहरू संसद् भवन छिरे ।

शुरूमा प्रहरीले तिनीहरूलाई भित्रै सम्झाइबुझाइ गरेर राखेको रिपोर्टिङ गरियो । अनि थप प्रदर्शनकारीलाई भित्र छिर्न नदिन प्रहरीले प्रयास गरिरहेको थियो । तर, बाहिरबाट ढुंगा, इट्टा र पानीको बोतल भित्र प्रहार हुन थालेपछि प्रहरीले वाटर ट्यांक तयार गरेर बाहिर पानीको फोहोरा फ्याँक्न थाल्यो ।

null

केही समयपछि प्रदर्शनकारीहरूले उक्त गेटको बाहिरपट्टि आगो लगाए । प्रहरीले पानीको फोहराले त्यसलाई निभायो । त्यसपछि गेटभित्र पनि आगो लाग्यो । प्रहरीले त्यसलाई पनि निभायो ।

करिब पौने १ बजेसम्म यत्तिकै घम्साघम्सी भइरहेको थियो । केही अश्रुग्यासहरू फायर गरिएका थिए । प्रदर्शनकारीहरूले गेट तोडेपछि प्रहरीले भित्रबाट गोली चलाउन थाल्यो ।

१२ बजेको आसपासमा राज्य व्यवस्थाको बैठक छाडेर गृहमन्त्री रमेश लेखक सचिव गोकर्णमणि दुवाडीसँग केही कानेखुसी गरेर बाहिर निस्किए । त्यहाँको अवस्था गम्भीर रहेको ब्रिफिङ पाएपछि उनले जसरी पनि संसद भवनको सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ ।

त्यसअघि रक्षात्मक देखिएको प्रहरी आक्रामक हुन थाल्यो । अनि भटाभट गोली चलाउन थाल्यो । यद्यपि प्रहरीले गोली चलाउन शुरू नगर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्र आसपासमा कर्फ्यु घोषणा गरिसकेको थियो ।

उक्त क्षेत्रमा एनटीसी र एनसेल दुवैको इन्टरनेट ठप्प थियो । हो-हल्लाले फोनमा कुरा गर्ने अवस्था थिएन, त्यसैले कर्फ्युबारे प्रदर्शनकारीहरू अनभिज्ञ देखिए । कतिपयले कर्फ्युमा के हुन्छ ? भन्दै एकआपसलाई सोधिरहेका थिए ।

अनि शुरू भयो मृत्युको गणना

करिब १ बजेर ५० मिनेट जाँदा पहिलोपटक एकजना प्रदर्शनकारीको मृत्यु भएको सूचना बाहिरियो । ती प्रदर्शनकारीलाई घाइते अवस्थामा सिभिल अस्पताल पुर्‍याइएको थियो ।

पहिलो मृत्युको खबर आउँदा पनि प्रदर्शन यथावत थियो । संसद् भवनको गेट अगाडि केही गोली चलेको आवाज आएको थियो । तर, त्यो हताहतीबारे बानेश्वर चोकमै उभिएर नारा लगाइरहेका प्रदर्शनकारीहरू पनि अनभिज्ञ देखिन्थे ।

त्यसको आधा घण्टा नाबित्दै ट्रमा सेन्टरमा लैजाँदै गरेको अवस्थामा अर्का एक घाइतेको पनि मृत्यु भएको खबर आयो । यो समाचार तयार पार्दासम्म मृतकको संख्या १८ पुगिसकेको छ ।

कर्फ्यु जारी गरिएपछि पनि बानेश्वर क्षेत्रमा सेना परिचालन हुन समय लाग्यो । प्रहरीको गोली लागेर केही घाइते हुँदासम्म पनि प्रदर्शनकारीहरूले रोकिने नाम लिएका थिएनन् ।

मृत्युको खबरहरू आउन थालेपछि प्रदर्शनकारीहरू तितरबितर हुन थाले । कोही थापागाउँतिरबाट निस्के भने कोही तीनकुनेतिर गए । कोही बिजुलीबजारतिर पनि फर्के, तर कर्फ्यु लागेको २ घण्टासम्म पनि त्यहाँको भीड कम भएन ।

null

घुसपैठको आशंका

पौने ३ बजे सामाजिक सञ्जालमार्फत कार्यक्रम संयोजक बताउने पुरुषोत्तम यादव र सबल गौतमले एक नोट प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीलाई सुरक्षित फर्किन आग्रह गरे ।

 ‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौं,’ उनीहरूले एक विज्ञप्ति नोट गर्दै भनेका थिए, ‘तर, बीच–बीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू वा सम्भावित राजनीतिक/राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोशिश गरिएको अनुभव भएको छ ।’

उक्त विज्ञप्तिका बाबजुद पनि प्रदर्शन रोकिएन । उक्त प्रदर्शन यो समाचार टिप्पणी लेख्दासम्म जारी छ ।

आजको आन्दोलनमा माओवादी केन्द्र, रास्वपा, दुर्गा प्रसाईं समर्थक समूह र अन्य असन्तुष्ट समूहबाट घुसपैठ भएको आशंका सरकारले गरेको छ ।

‘जतिबेला कर्फ्यु जारी भयो, त्यतिबेलैदेखि जेनजीहरू फर्किने तयारी गरेका थिए । उनीहरू फर्के, अनि घुसपैठ गर्नेहरूले विभिन्न समूह बनाएर संसद् भवन तोडफोड गर्ने, एमाले पार्टी कार्यालयमा आक्रमण गर्न जाने, एम्बुलेन्समा आगजनी गर्ने जस्ता काम भएका छन् । हामीले यस्तो होला भन्ने सोचेका थिएनौं,’ बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।

उसो त सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि सार्वजनिक रूपमै घुसपैठियाहरूले नै यो घटना घटाएको बताएका छन् ।

सत्तारूढ दल एमालेका नेताहरूले घुसपैठका कारण आजको अप्रिय घटना भएको भने पनि कांग्रेसमा भने मिश्रित स्वरहरू सुनिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्