११ साउन २०८३, सोमबार
जेनजी आन्दोलन

रेडियो नेपालका राजेन्द्र र नारायण : आफ्नो कार्यालय मात्र होइन उद्योग मन्त्रालय पनि जोगाए

भदौ २९, २०८२
काठमाडौं
रेडियो नेपालका राजेन्द्र र नारायण : आफ्नो कार्यालय मात्र होइन उद्योग मन्त्रालय पनि जोगाए

जेनजी समूहले गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित सरकारी निकाय र देशभरका सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भए ।

सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य विभिन्न मन्त्रालय, कांग्रेस-एमाले लगायत दलका संसदीय दलका कार्यालय र सिंहदरबारको बाहिरपट्टी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय आन्दोलनकारीको निसानामा परे । जसलाई उनीहरूले तोडफोड र आगजनी गरेर क्षतिग्रस्त पारे । 

त्यसदिनको प्रदर्शनमा आन्दोलनकारीले विभिन्न सञ्चार प्रतिष्ठानका कार्यालयमा समेत आगजनी र तोडफोड गरे । सिंहदरबार बाहिर रहेका मात्रै होइन, सिंहदरबारभित्रै रहेको नेपाल टेलिभिजनमा पनि तोडफोड र आगजनी भयो ।

तर, प्रधानमन्त्री कार्यालयभन्दा दक्षिणतर्फ रहेको देशकै पहिलो प्रसारण स्टेसन, रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र र रेडियो नेपालको पश्चिमतर्फ रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने जोगिएका छन् । यसमा रेडियो नेपालमा कार्यरत राजेन्द्र विक्रम शाही र नारायण श्रेष्ठको प्रमुख भूमिका देखिएको छ । शाही समाचार शाखामा कार्यरत छन् भने श्रेष्ठ कार्यालय सहयोगी हुन् ।

उनीहरूले आगजनी र तोडफोडका लागि पुगेका प्रदर्शनकारीलाई नमस्कार गर्दै, सम्झाउँदै बुझाउँदै गरेर पठाएका कारण आगलागी र थप तोडफोड हुन पाएन । यद्यपि, यी दुई निकायमा केही क्षति भने पुगेको छ । सार्वजनिक प्रसारण सेवाका अध्यक्षको कार्यकक्षमा तोडफोड गरिएको छ भने कम्प्युटर समेत चोरेर लगेको पाइएको छ । 

‘जति समूह आएपनि हामीले सम्झाएपछि उनीहरू रेडियो नेपालको गेटसम्म आउँदै फर्किँदै गरे । त्यसबखत सिंहदरबारमा ठूलो आगो दन्किरहेको थियो । सबैतिर धुवाँ नै धुवाँ थियो । हामीलाई सास फेर्न समेत सकस भइरहेको थियो । रेडियो नेपालको पर्खाल अग्लो नभएकाले पाँच–छ जनाको एक समूह प्रशासनिक भवनतिर आयो । उनीहरू हातमा फलामको रड र साङ्लोसहित थिए’, शाहीले लोकान्तरसँग भने, ‘भित्र प्रवेश गरेर हाजिर मेसिन, टेलिकमले राखेको चार्जर पोर्ट तोडफोड गरेर पेट्रोल खन्याउँदै आगो लगाउन लागेका थिए । कार्यालय सहयोगी नारायण दाइ दौडिँदै जानुभयो र बिन्ती गरेपछि उनीहरूले आगो नलगाइ फर्किए ।’

शाहीले मनमा डर भएपनि उनीहरूलाई केही कुरा भनेर भएपनि रोक्न सक्छु भन्ने आँटले गेटतिर अगाडि बढेको बताए । उनीहरूलाई रेडियो नेपाल सञ्चार संस्था रहेको, युवाहरूकै आवाज बोल्ने र दु:ख र विपद्का बेला सधैँ चाहिने भन्दै सम्झाइबुझाइ गरेको शाही बताउँछन् । 

‘गेटमा गएर उनीहरूलाई यो रेडियो नेपाल हो है सरहरू, युवाहरूकै आवाज बोल्ने, दु:ख र विपद्का बेला सधैँ चाहिने, भोलिका दिनमा हामी सबैलाई चाहिने संस्था हो भनेर सम्झाएँ । समूहमा रहेका केही केटाहरू जलाइदेऊ, भत्काइदेऊ भन्दै उफ्रिरहेका थिए’, शाहीले भने, ‘तर, राष्ट्रिय झण्डासहित आएका केटीहरूले विगतमा आफूहरू पनि रेडियो नेपालमा फोन गर्ने गरेको, सुन्ने गरेको, भूकम्प  र कोरोनाको बेला रेडियोले निकै ठूलो गुण लगाएको छ भन्दै केटाहरूलाई सम्झाए । त्यसपछि त्यो समूह फेरि प्रधानमन्त्री कार्यालयतिर गयो ।’

उनका अनुसार आन्दोलनकारीहरू हातमा लाठी, भाला, खुकुरी, पेट्रोल, लाइटरजस्ता सामान बोकेका देखिन्थे । त्यहीक्रममा आन्दोलनकारीहरूको एक हुल उद्योग मन्त्रालयको पछाडि पुगेको थियो । रेडियो नेपाल र उद्योग मन्त्रालय नजिकै भएकाले उद्योगतिर आगो लाग्दा रेडियोको भवनमा समेत सल्किनले खतरा भएपछि आफूले चलाखी गरेको उनले बताए ।

‘हामीले गेटबाटै आन्दोलनकारीहरूलाई त्यो पनि रेडियो नेपालकै हो साथीहरू नगर्नुस् भन्यौं । उनीहरूले सामान्य तोडफोड गरेर हच्किए । रुक्मणि दिदीले पनि गेटमा रहेकालाई सम्झाउँदै त्यहाँ रहेका रेडियोका गाडीहरू हुन् नजलाउनुस् भनेपछि केहीले उद्योग मन्त्रालयलाई यो पनि रेडियो नेपाल रहेछ नगरौं है साथीहरू भनेर फिर्ता लिएर गए’, शाहीले भने ।

साँझको समयमा समाचार वाचन गर्ने दायित्व भएपनि त्यसदिन उत्पन्न परिस्थितिले आफू ११ बजे नै कार्यालय पुगेको शाहीले बताए । आफूहरू रेडियो नेपालको प्राङ्गणमा हुँदा दिउँसो ३ बजेतिर आन्दोलनकारीहरूको हुल भित्र छिरिसकेको शाही बताउँछन् ।

‘उनीहरू शुरूमा प्रधानमन्त्री कार्यालय तोडफोडमा उत्रिएका थिए । त्यसपछि पार्किङमा राखेमा गाडीमा आगो सल्काए । अश्रुग्यासको सेल सिंहदरबार पर्खालभित्रै पुग्नेगरी मिल्काउँदा हामी भित्र रहेकालाई पनि आँखा पोलेर हेर्न कठिन भयो । त्यसैबीचमा महान्यायधिवक्ताको कार्यालयतिर धुवाँको मुस्लो निस्कियो । केही भीआईपीहरू सुरक्षासहित दौडिदै सिंहदरबार छिरे । उनीहरू नेपाली सेनाको गणतिर लागे । त्यसपछि आन्दोलनकारीहरू भित्र छिर्न प्रयास गरिरहेका थिए’, शाहीले भने, ‘हामीलाई पनि डर लाग्यो अब भित्रै आउने भए भनेर रेडियो नेपालमा कार्यरत विद्या प्रसाद उपाध्याय, मुकुन्द भण्डारी, सरिता खनाल, तुलसी सापकोटा, रुक्मणि पोखरेल, विद्या चौधरी लगायत हाम्रो कार्यालय परिसरतिर दौडियौं ।’

कार्यालय सहयोगी श्रेष्ठ त्यो दिन र रात आफ्नालागि जीवनकै कहालीलाग्दो रहेको बताउँछन् । आगो लगाउन भनेर आएका प्रदर्शनकारीहरूलाई सम्झाउँदै बुझाउँदै गरेर ज्यान र कार्यालय जोगाएको उनको भनाइ छ । 

‘पटक पटक आउने आन्दोलनकारीको हुललाई सम्झाउँदै पठाउँदै गर्‍यौं । हाम्रो अफिस जोगाउन सफल भयौं, म यसैमा खुशी छु । राति आन्दोलनकारीहरू सबै निस्किएपछि राजेन्द्र सर पनि निस्किनुभयो’, श्रेष्ठ भन्छन्, ‘अब रातिमा को नै आउला भनेर म एक्लै रेडियोमै बसेँ । मनमा डर त थियो नै । त्यो रात म निदाउँदै सकिनँ । आँखामा दिनभरिका घटनाहरू नाचिरहेका थिए । आँखा झिमिक्क नगरेर त्यो रात काटेँ । मेरो जीवनको सबैभन्दा कहालीलाग्दो रात त्यही हो जस्तो लाग्छ ।’

भदौ २४ गतेको भोगाइबारे शाहीको भनाइ 

जेनजी समूहको नाममा २४ गते भएको आन्दोलनका दिन म लगायत रेडियो नेपालमा कार्यरत अरु सहकर्मीहरू कार्यालय परिसरमा नै थियौ । म खासगरी साँझको समयमा समाचार वाचन गर्ने भएपनि त्यसदिन देशमा उत्पन्न परिस्थितिको बारेमा बढी जानकारी हुने भएकाले बिहान ११ बजे नै रेडियो नेपाल पुगिसकेको थिएँ । सिंहदरबार बाहिर आन्दोलन भइरहेको थियो ।

नाराबाजी भित्रसम्मै चर्को चर्को सुनिएको थियो । त्यसैक्रममा संसीय संसद् भवन लगायतका सरकारी कार्यालय र प्रहरी कार्यालयमा आगजनी भइरहेको सामाजिक सञ्जालमा लाइभ भइरहेको थियो । दिउँसो १ बजेतिर आकाशमा हेलिकोप्टर पनि उडिरहेको देखिन्थ्यो । समाचारहरूमा मन्त्रीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी आइरहेको थियो ।

राजेन्द्र विक्रम शाही ।

दिउँसो १ बजेपछि आन्दोलनकारीहरू भद्रकाली, माइतीघर, अनामनगर, पुतलीसडकतिर चर्को आवाजमा नारा लगाउँदै सिंहदरबारतिर आइरहेका थिए । त्यसैक्रममा म लगायत रेडियो नेपालमा कार्यरत साथी विद्या प्रसाद उपाध्याय सिंहदरबार अगाडि पुग्दा आन्दोलनकारीहरू पश्चिम गेटमा पुगिसकेका थिए । प्रहरीले अश्रुग्यास प्रहार गर्दा त्यही अश्रुग्यासको सेल सिंहदरबार पर्खालभित्रै पुग्नेगरी मिल्काउँदा हामी भित्र रहेकाहरू पनि आँखा पोलेर हेर्नै नसक्ने भयौं ।

एकछिनपछि महान्यायधिवक्ताको कार्यालयतिर धुवाँको मुस्लो निस्कियो र केही भीआईपीहरू सुरक्षासहित दौडिँदै सिंहदरबार अगाडि आए । उनीहरू नेपाली सेनाको गणतिर लागे । त्यसपछि आन्दोलनकारीहरू भित्र छिर्न प्रयास गरिरहेका थिए । हामीलाई पनि डर लाग्यो अब भित्रै आउने भए भनेर । साथी विद्या, मुकुन्द भण्डारी, सरिता खनाल, तुलसी सापकोटा, रुक्मणी पोखरेल, विद्या चौधरी लगायत हामी रेडियो नेपालको परिसरतिर दौडियौं । कार्यालय सहयोगी दाइ नारायण श्रेष्ठले रेडियो नेपालको गेट बन्द गर्नुभयो र मैले गेट अगाडि पार्किङमा राखिएका मोटरसाइकल लगेर क्यान्टिनको छेउमा राखेँ, किनकी त्यहाँ नजिकै सेनाको ब्यारेक थियो ।

हामी रेडियो नेपालको प्राङ्गगणमा हुँदा दिउँसो ३ बजेतिर आन्दोलनकारीहरूको हुल भित्र छिरिसकेको थियो । उनीहरू शुरूमा प्रधानमन्त्री कार्यालय तोडफेडमा उत्रिए । त्यसपछि पार्किङमा राखेमा गाडीमा आगो लगाउन थाले । मलाई निकै डर लागेको थियो, किनकी आज केही बाँकी राख्दैनन् भन्ने डर पैदा भयो । 

त्यसपछि सिंहदरबारमा आगो नै दन्किरहेको दृष्य रेडियो नेपालको गेटबाट प्रस्ट देखियो । एकछिनपछि आन्दोलनकारीको एक हुल रेडियो नेपालको गेटतर्फ अगाडि बढ्यो । हामी भने भित्रबाट हेरिमात्र रहने अवस्थामा थियौं । हामी सबै डराएका थियौं, किनभने त्यसबेला सिंहदरबारभित्र रहेको अन्य मन्त्रालय र पार्किङमा राखिएका गाडीमा आगो दन्किन थालिसकेको थियो । 

रेडियोको गेट बन्द भएका कारण गेटमा उनीहरू रोकिए । मनमा डर भएपनि उनीहरूलाई केही कुरा भनेर रोक्न सक्छु कि भन्ने आँटले म गेटतिर अगाडि बढेँ । गेटमा उनीहरूलाई यो रेडियो नेपाल हो है सरहरू, युवाहरूकै आवाज बोल्ने, दु:ख र विपद्का बेला सधैँ चाहिने, भोलिका दिनमा हामी सबैलाई चाहिने संस्था हो भनेर सम्झाएँ । समूहमा रहेका केही केटाहरू जलाइदेऊ, भत्काइदेऊ भन्दै उफ्रिरहेका  थिए । तर, राष्ट्रिय झण्डासहित आएका केटीहरूले विगतमा आफूहरू पनि रेडियो नेपालमा फोन गर्ने, सुन्ने गरेको, भूकम्प  र कोरोनाको बेला रेडियोले निकै ठूला गुण लगाएको छ भन्दै केटाहरूलाई सम्झाए । त्यसपछि त्यो समूह फेरि प्रधानमन्त्री कार्यालयतिर गयो । यति भएपछि मेरो मनमा केही साहस पलायो । सम्झाएपछि मान्नेहरू पनि रैछन, सबै अराजकता मच्चाउने रैनछन् भन्ने लाग्यो ।

त्यसपछि रेडियो अन्य सहकर्मी र नारायण दाइ आउनुभयो । आन्दोलनकारीहरू हातमा लाठी, भाला, खुकुरी, पेट्रोल, लाइटर जस्ता सामग्री बोकेका देखिन्थे । त्यही क्रममा आन्दोलनकारीहरूको एक हुल उद्योग मन्त्रालयको पछाडितिर लाग्यो, रेडियो नेपाल र उद्योग मन्त्रालय नजिकै भएकाले उद्योगतिर आगो लाग्दा रेडियोको भवनमा सलिकीने खतरा भएकाले हामीले गेटबाटै आन्दोलनकारीहरूलाई यो सबै रेडियो नेपालको हो साथीहरू नगर्नुस् भन्दा उनीहरुले सामान्य तोडफोड गरेर हच्किए । रुक्मणि  दिदीले पनि गेटमा रहेकालाई सम्झाउँदै यी रेडियोका गाडीहरू हुन् नजलाउनुस् भन्नुभयो । केहीले उद्योग मन्त्रालयलाई यो पनि रेडियो नेपाल रहेछ नगरौ है साथीहरू भन्दै फिर्ता भए ।

त्यसपछि जति समूह आएपनि हामीले सम्झाएपछि उनीहरू रेडियो नेपालको गेटसम्म आउँदै फर्किदै गरे । त्यसबखत सिंहदरबारमा ठूलो आगो दन्किरहेको थियो । सबैतिर धुवाँ नै धुवाँ  थियो । हामीलाई सास फेर्न समेत सकस भइरहेको थियो । पाँच–छ जनाको एक समूह पर्खाल नाघेर प्रशासनिक भवनतिर आयो । उनीहरूका हातमा फलामको रड र साङ्गलो थिए । उनीहरू  भित्र पसेर हाजिर मेसिन, टेलिकमले राखेको चार्जर पोर्ट तोडफोड गरेर पेट्रोल खन्याउँदै आगो लगाउन लागेका थिए । 

कार्यालय सहयोगी नारायण दाइ दौडिँदै जानुभयो र बिन्ती गरेपछि उनीहरूले आगो लगाएनन् । त्यसैक्रममा उनीहरुकै एक समूहले पछाडिबाट छिरेर अध्यक्षको कार्यकक्षमा तोडफोड गर्दै कम्प्युटर चोर्नसम्म भ्याएको कुरा भोलिपल्ट मात्र नारायण दाइबाट थाहा पाएँ । 

सिंहदरबारमा आगो लाग्दा धुवाँले सासै फेर्न गाह्रो भएपछि रेडियोमा रहनु भएका सबै सर म्याडमहरू निस्कनु भयो । त्यो कहालीलाग्दो अवस्थाले गर्दा मलाई पनि लागेको थियो-आज अन्तिम दिन रहेछ । भीम घिमिरे दाइलाई एकछिन देखेको थिएँ । उहाँ पनि निस्कनु भएछ । प्रसारण समेत त्यसबेला सिंहदरबारबाट बन्द गरी खुमलटारबाट भइरहेको थियो । अध्याँरो हुनै लाग्दा सिंगो रेडियो नेपालमा नारायण दाइ र म मात्र बाँकी रह्यौं । मैले भनेँ- दाइ अब हामी पनि भागौं, नत्र मरिने भइयो । तर, दाइले ‘होइन सर तपाईं हुनुभयो भने कसैले केही गर्न सक्दैन, प्लिज सर बसिदिनुस्’ भनेपछि म बसेँ । मारेछन् भनेपनि दाइभाइ सँगै मरौँल भनेँ ।

त्यसबेला मोटरसाइकल, स्कुटरमा हात हतियारसहित मुकुण्डो लगाएको ठूलो भिड रेडियो नेपालको गेटमा आयो । हामी निकै डरायौं । मैले सम्झाउँदै सम्झाउँदै एक जनाले गेटमा आगो सल्काए तर अर्का एक जनाले हत्तपत्त यो रेडियो नेपाल हो यहाँ नगरौं भन्दै आगो निभाए । त्यति यर्दा पनि भिड रोकिएन । उनीहरू भित्र प्रवेश गरे । मैले गेटमा सम्झाउँदै गर्दा अर्को समूह उद्योग मन्त्रालयमा रहेका गाडीमा आगजनी गर्न पुग्यो । जसबाट पाँवटा जति गाडी जले । मैले रेडियोको गेटबाटै ठूलो आवाजमा ‘साथीहरू यो रेडियो नेपाल हो, यो सेनाको इलाका हो, यहाँ बम मात्र छ, विष्फोट भयो भने हामी कोही पनि बाँच्दैनौं, नगरिदिनुस्’ भनेपछि उनीहरूमध्ये केहीले आगो लगाउनेलाई समेत रेडियो नेपाल र सैनिक इलाका रैछ बम छ रे भनेपछि सबै जना मरिन्छ भन्दै त्यहाँबाट भागे ।

अरु केटाहरू कोही रेडियोका गाडी जलाउन तयार त कोही नयाँ बन्दै गरेको भवन भित्र गएर पेट्रोल सल्काएर आगो लगाउने तयारी गर्दैं थिए । मदिरा सेवन गरेका उनीहरूसँग अन्तिममा मलाई खै किन डर लागेन । म पनि भित्रै गएँ । ’साथीहरू यो हामी युवाकै सम्पत्ति हो, नगरौं प्लिज ! म पनि तपाइँजस्तै युवा हो, भनेको मान्नुस्, भोलि यहीँबाट हामीले हाम्रा कुरा बोल्नुपर्छ’ भनेर सम्झाएँ । उनीहरूमध्येका एक जना पश्चिमतिरकै रहेछन् । बोली सुनेर मैले आफू पनि पश्चिमको रहेको बताउँदै आगजनी नगर्नका लागि अनुनय गरेँ । त्यसपछि उसले अरुलाई सम्झायो र बाहिर निस्किए । 

बाहिर आउँदा रेडियोको प्रत्यक्ष प्रसारणमा प्रयोग हुने गाडीमा एक जनाले ब्लक उखेलेर हिर्काइहालेछ । उसलाई नारायण दाइले सम्झाएपछि गेटबाहिर  गयो । गाडी पार्किङ गरिएको ठाउँमा रहेको भिडले सानो रातो गाडीमा आगो लाउनैलाग्दा म संयोगवस त्यहाँ पुगेँ र बिन्ती गरेँ । उनीहरू निस्किए र गाडी बचे, रेडियो नेपाल पनि बच्यो । 

खासगरी सरकारको गुनगान मात्र गाउँछ, जलाउनुपर्छ भन्नेहरू मदिरा सेवन गरेकाहरू थिए । उनीहरूमध्ये केहीले हामीलाई धम्काए । त्यसअगाडि उनीहरूले रेडियोका मित्र गौरव न्यौपानेको बाइक चोरेर लगिसकेका थिए । राति भयो, सिंहदरबारमा धुवाँ नै धुवाँ र सन्नाटा छायो । आन्दोलनकारीहरू सबै फिर्ता भए । राति ९ बजेतिर म पनि निस्किएँ । धुवाँले चिन्नै नसकिने अवस्थामा थिएँ । नारायण दाइ भने रेडियोको सुरक्षा गर्दै त्यस रातभर भित्रै बस्नुभयो ।

नारायण श्रेष्ठ ।

यस्तो छ नारायण श्रेष्ठको भनाइ 

धेरै कुरा राजेन्द्र सरले भनिसक्नुभयो । त्यो दिनको भयावह अवस्था भनिसाध्य छैन । हामी डरैडरले बस्यौं । आन्दोलनकारीहरूलाई सम्झाउँदै रेडियो नेपाल जोगाउन सफल भयौं भन्ने लाग्छ । 

राजेन्द्र सर अगाडि बढेर आन्दोलनकारीहरूलाई सम्झाउने आँट नगरेको भए रेडियो नेपालसँगै र उद्योग मन्त्रालय पनि जलाउने थिए । म त धेरै बोल्नै नसक्ने अवस्थामा थिएँ । तर, राजेन्द्र सरले सम्झाएरै आन्दोलनकारीलाई आगजनी गर्नबाट रोक्नुभयो । त्यसमा साथ दिने अरु सर म्याडमहरू पनि हुनुहुन्छ तर राजेन्द्र सरले गरेको साहस र अगुवाइ गज्जब भयो । 

हामीले गर्दा रेडियो मात्र होइन, उद्योग मन्त्रालय समेत पूरै जोगियो । रुक्मणि म्याडमहरूले दिउँसो साथ दिनुभयो । उहाँहरू गएपछि राजेन्द्र सर र म मात्रै भयौं । पटक पटक आउने आन्दोलनकारीको हुललाई सम्झाउँदै पठाउँदै गर्‍यौं । हाम्रो अफिस जोगाउन सफल भयौं । म यसैमा खुशी छु । राति आन्दोलनकारीहरू सबै निस्किएपछि राजेन्द्र सर पनि निस्किनुभयो । अब रातिमा को नै आउला भनेर म एक्लै रेडियोमै बसेँ । मनमा डर त थियो नै । त्यो रात म निदाउँदै सकिनँ । आँखामा दिनभरिका घटनाहरू नाचिरहेका थिए । आँखा झिमिक्क नगरेर त्यो रात काटेँ । मेरो जीवनको सबैभन्दा कहालीलाग्दो रात त्यही हो जस्तो लाग्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्