![त्रिपालमुनि तीन मन्त्रीको शपथ : राष्ट्रियसभा अध्यक्ष उपस्थित, सभामुख गएनन् [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Karki_Cabinet_9_QVpuiHNUSb.jpg)
नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवास प्राङ्गणमा सोमबार मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् ।
शीतल निवासको प्राङ्गणमा पाल टाँगेर शपथग्रहण गराइएको हो । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भागसमेत देखिएको छ ।
यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतल निवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै त्रिपाल टाँगेर मञ्च बनाइएको हो ।
अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
घिसिङलाई ऊर्जासँगै शहरी विकास र भौतिक पूर्वाधार एवं अर्याललाई गृहसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अर्थमन्त्री खनाललाई प्रधानमन्त्रीपछिको वरीयता दिइएको छ । खनालपछिको वरीयतामा ऊर्जामन्त्री घिसिङ र गृह मन्त्री अर्याल छन् ।
खनाल र घिसिङ पूर्वप्रशासक र अर्याल कानूनी पृष्ठभूमिबाट आएका हुन् । उनी काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकारसमेत हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन आइतबार राति कार्कीले तीन मन्त्री नियुक्त गरेकी थिइन् । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए । त्ससपछि जेनजीको माग अनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने शर्तमा कार्की प्रधानमन्त्री बनेकी थिइन् ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अनुपस्थित थिए । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार भएको शपथ समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने उपस्थित भएका छन् ।

प्रतिनिधिसभा विघटन गरिएको दिन भदौ २७ गते सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संसद्भित्रबाटै निकास खोज्न भन्दै विज्ञप्ति जारी गरेका थिए ।

भदौ २७ गते प्रधानमन्त्रीको शपथमा दुवै जना अनुपस्थित थिए । सोमबार अध्यक्ष दाहाल सहभागी भए पनि सभामुख अनुपस्थित थिए । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको पद भने कायम रहन्छ ।



