
यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका भौतिक संरचना तथा सवारी साधनमा ठूलो क्षति भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार, आन्दोलनकारीहरूको तोडफोड र आगजनीबाट १८ वटा सरकारी भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ वटामा आंशिक क्षति पुगेको छ ।
यसैगरी, ६४ वटा चारपाङ्ग्रे र १४४ वटा दुईपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन् भने १२ वटा चारपाङ्ग्रे र १७ वटा दुईपाङ्ग्रे सवारीमा आंशिक क्षति पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र प्रदेशसभा सचिवालय लगायतका संरचना आन्दोलनको निसानामा परेका छन् ।
प्राप्त विवरणअनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४ वटा भवन पूर्ण र २ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कार्यालय प्रयोजनमा रहेका ९ वटा चारपाङ्ग्रे र १० वटा दुईपाङ्ग्रे सवारी साधन पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
मुख्यमन्त्री कार्यालयले तयार गरेको विवरणमा सबैभन्दा बढी क्षति उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको देखिन्छ ।
उद्योग मन्त्रालयका ११ वटा चारपाङ्ग्रे र २७ वटा दुईपाङ्ग्रे सवारी साधन पूर्ण नष्ट भएका छन् भने ५ वटा भवनमा आंशिक क्षति पुगेको छ । पर्यटन मन्त्रालयका ५ भवन पूर्ण र ६ वटा आंशिक क्षति भएका छन् भने १० वटा चारपाङ्ग्रे र १९ वटा दुईपाङ्ग्रे सवारी साधन खरानी भएका छन् ।

प्रदेशसभा सचिवालय पनि आन्दोलनकारीको निसानाबाट बच्न सकेन । सचिवालयका ४ वटा भवन पूर्ण र २ वटामा आंशिक क्षति पुगेको छ । साथै, ८ वटा चारपाङ्ग्रे र १३ वटा दुईपाङ्ग्रे सवारी साधन काम नलाग्ने अवस्थामा पुगेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका २ वटा भवन पूर्ण रूपमा क्षति भएका छन् भने २ वटामा आंशिक क्षति भएको छ । ८ वटा चारपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन् भने २० वटा मोटरसाइकल जलेका छन् ।
सामाजिक विकास मन्त्रालयमा भने तुलनात्मक रूपमा कम क्षति भएको छ । मन्त्रालय जलाउन पुगेका आन्दोलनकारीलाई केही कर्मचारीले मन्त्रालयको पछाडि गाउँ रहेको र ठूलो क्षति हुने भनेपछि उनीहरूले तोडफोड मात्र गरेका थिए ।
तोडफोडबाट दुई वटा भवनमा पूर्ण र दुई वटामा आंशिक क्षति भएको छ । २ वटा चारपाङ्ग्रे र ४ वटा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा एउटा भवनमा आंशिक क्षति भएको छ भने ७ वटा चारपाङ्ग्रे र २४ वटा मोटरसाइकल जलेका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा दुईवटा भवनमा आंशिक क्षति भएको छ भने ४ वटा चारपाङ्ग्रे र १० वटा दुईपाङ्ग्रे सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य मन्त्रालय, प्रदेश लगानी प्राधिकरण र प्रदेश योजना आयोगका सवारी साधनमा पनि क्षति पुगेको विवरणमा उल्लेख छ ।
प्रदेश सरकारले यो क्षतिको प्रारम्भिक विवरण मात्र भएको र क्षतिको यथार्थ मूल्यांकन गर्ने काम भइरहेको जनाएको छ । प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षतिका कारण सात वर्षदेखिका महत्त्वपूर्ण कागजात र फाइल जलेर नष्ट भएको बताइन् ।
सरकारले क्षतिको विवरण संकलन गरी पुनर्निर्माण र सेवा प्रवाहलाई सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेको जनाएको छ ।