
गत सातामात्र कतारमाथि इजरायली आक्रमण भएपछि मध्यपूर्वमा अबको सम्भावित टकरावबारे फेरि बहस थालिएको छ । अमेरिकाद्वारा प्रमुख गैर-नाटो सहयोगी घोषित कतारमाथि बमबारी भएको केही घण्टामै इजरायली टिप्पणीकारहरूले आफ्नो ध्यान टर्कीतर्फ मोडे ।
वाशिङ्टनस्थित अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो माइकल रुबिनले टर्की नै इजरायलको अर्को निशाना बन्न सक्ने चेतावनी दिँदै नाटो सदस्यताले टर्कीलाई जोगाउनेमा भर पर्न नहुने टिप्पणी गरे ।
सोसल मिडियामा इजरायली शैक्षिक तथा राजनीतिक व्यक्ति मेइर मास्रीले ‘आज कतार, भोलि टर्की’ भनी लेख्दा अंकाराले तीव्र प्रतिक्रिया जनायो ।
राष्ट्रपति रिसेप तैयप एर्दोगानका वरिष्ठ सल्लाहकारले कठोर भाषामा जवाफ फर्काउँदै भने, ‘सायोनिष्ट इजरायलको कुकुरलाई… छिट्टै संसारले तिम्रो नक्साबाटै मेटिँदा शान्ति पाउनेछ ।’
पछिल्ला केही महिनादेखि इजरायली टिप्पणीकारहरूले टर्कीलाई ‘इजरायलको सबैभन्दा खतरनाक शत्रू’का रूपमा चित्रण गर्दै आएका छन् । पूर्वी भूमध्यसागरमा टर्कीको उपस्थिति ‘खतरा’को रूपमा व्याख्या गरिएको छ भने युद्धपश्चात सिरिया पुनर्निर्माणमा टर्कीको भूमिकालाई ‘नयाँ उदाउँदो जोखिम’ भनिएको छ ।
यस्तै पृष्ठभूमिमा गाजामाथि भइरहेको निरन्तर आक्रमणलाई लिएर टर्कीका विदेशमन्त्री हाकान फिदानले गत अगस्टमा इजरायलसँगका आर्थिक र व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेका थिए ।
‘अंकारामा यो विरोधी-टर्की बयानलाई गम्भीरतापूर्वक लिइन्छ, किनभने इजरायल क्षेत्रीय आधिपत्य खोज्दैछ भन्ने बुझाइ बढ्दो छ’, अटलान्टिक काउन्सिलका नन-रेजिडेन्ट फेलो ओमर ओज्किजिलसिकले अलजजिरालाई बताए ।
उनका अनुसार, टर्कीलाई लाग्न थालेको छ– इजरायली आक्रामकतामा कुनै सीमा छैन र यसलाई अमेरिकी समर्थन प्राप्त छ ।’
कतारमाथिको आक्रमणले टर्कीलाई अमेरिकासँगको सुरक्षात्मक भरोसाबारे थप शंका बढाएको देखिन्छ । कतार अमेरिकाको विशेष सहयोगी भए पनि वाशिङ्टनले इजरायललाई रोक्न कुनै कदम नचालेपछि नाटो संहिताअनुसार टर्कीमाथिको आक्रमणलाई पनि अमेरिका आफ्नै विरुद्ध ठान्छ कि ठान्दैन भन्ने प्रश्न उठेको छ ।
ओज्किजिलसिक भन्छन्, ‘अरू धेरै अरब मुलुकभन्दा फरक टर्कीले लामै अघिदेखि बुझिसकेको छ- आफ्ना राष्ट्रिय सुरक्षा हितका लागि न अमेरिकामा भर पर्न मिल्छ, न त नाटोमा ।’
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आफैंले समेत देशको क्षेत्रीय विस्तारवादी लक्ष्य गर्वपूर्वक घोषणा गर्न थालेका छन् । अगस्टमा ‘ग्रेटर इजरायल’को अवधारणामा विश्वास राख्ने हो त भन्ने प्रश्नमा उनले प्रस्ट जवाफ दिए- ‘पूर्णरूपमा ।’
अंकाराका लागि यो केवल प्रतीकात्मक भनाइ होइन, बरु सम्पूर्ण मध्यपूर्वमा इजरायलको वर्चस्व कायम गर्ने दृष्टिकोणको सङ्केत हो, जुन प्रत्यक्ष टर्कीको क्षेत्रीय दृष्टिसँग ठोक्किन्छ ।
विदेशमन्त्री फिदानले अलजजिरासँगको अन्तर्वार्तामा भनेका थिए, ‘ग्रेटर इजरायलको दृष्टि सिरिया, लेबनान, इजिप्ट र जोर्डनसम्म फैलिएको मानिन्छ । यसको लक्ष्य नै क्षेत्रका मुलुकहरूलाई कमजोर, अप्रभावकारी बनाउने र छिमेकी मुलुकहरूलाई टुक्र्याएर राख्ने हो ।’
यहीबीच, गाजामाथि निरन्तर नरसंहारपूर्ण आक्रमण र पश्चिमी तटमा दैनिक छापा मात्र होइन, इजरायलले यमन र सिरियामाथि पनि हमला गरिसकेको छ, साथै ट्युनिसियामा गाजासम्बन्धी सहायता बेडाभन्दा आक्रमण गरेको आरोप पनि लागेको छ ।
यस परिप्रेक्ष्यमा टर्की र इजरायलबीचको सम्बन्धलाई विश्लेषकहरूले ‘भू-राजनीतिक प्रतिस्पर्धा’को रूपमा चित्रण गरेका छन् । ओज्किजिलसिकका अनुसार, टर्कीले बलियो केन्द्रीय राष्ट्र चाहन्छ भने इजरायलले विभाजित र कमजोर राज्यलाई प्राथमिकता दिन्छ ।
क्षेत्रीय प्रभुत्वको होड
इजरायल एकल क्षेत्रीय प्रभुत्व स्थापित गर्न खोजिरहेको धारणा गत जुलाईमा टर्कीस्थित अमेरिकी राजदूत तथा सिरियासम्बन्धी विशेष दूत टम बाराकको अभिव्यक्तिबाट झनै स्पष्ट भएको थियो । उनले खुलेर भनेका थिए, ‘इजरायललाई विभाजित र टुक्रिएको सिरिया नै उपयुक्त लाग्छ ।’
अंकाराका लागि सन्देश प्रस्ट थियो– इजरायललाई सुरक्षित महसुस गर्न क्षेत्रकै हावी शक्ति बन्नुपर्छ भन्ने विश्वास छ ।
सिरियामाथि इजरायलले गत डिसेम्बर ८ यता दर्जनौं पटक बमबारी गरिसकेको छ । त्यतिबेला पूर्वराष्ट्रपति बशर अल-असद मास्को पुगेका थिए र तत्कालीन अराजकतालाई फाइदा उठाउँदै इजरायलले सिरियाली भूभाग कब्जा गर्यो ।
२०२४ मा हिजबुल्लाहको नेतृत्व तहलाई प्रायः समाप्त पारिसकेको इजरायल अहिले पनि लेबनानका केही भागमा कब्जा जमाइरहेको छ ।
यसै वर्ष जुनमा इजरायलले इरानमाथि आक्रमण गर्दा १२ दिन लामो युद्ध भयो, जसमा उच्च कमाण्डरहरू र आणविक वैज्ञानिकहरू मारिए । यस कदमले इरानी सुरक्षा तथा आणविक क्षमतालाई कमजोर बनाउनु मात्र नभई अमेरिकालाई शासन परिवर्तनतर्फ धकेल्ने प्रयास पनि गरियो ।
विश्लेषकहरू भन्छन्, अब इजरायलले आफ्नो क्षेत्रीय वर्चस्वमा चुनौती दिने अर्को सम्भावित शक्ति टर्कीलाई देख्न थालेको छ । यही कारण नेतन्याहुले बारम्बार भनेका छन्– सिरियामा टर्कीले नयाँ आधार स्थापना गर्न पाउने छैन, किनकि यसले इजरायललाई खतरा पुर्याउँछ ।
टर्कीका पूर्व एडमिरल र ‘ब्लु होमल्यान्ड’ रणनीतिका शिल्पी सेम गुर्देनिज चेतावनी दिन्छन्, ‘टर्की-इजरायलबीचको पहिलो प्रत्यक्ष टकराव सिरियाको भूमि वा आकाशमै देखा पर्न सक्छ ।’
उनका अनुसार, इजरायलले अमेरिकाको सहयोगमा ग्रीस र ग्रीक प्रशासित साइप्रससँग मिलेर साइप्रसमा बढाएको सैनिक उपस्थिति अंकाराले टर्कीको समुद्री स्वतन्त्रता र उत्तर साइप्रसका टर्किश साइप्रियटहरूको सुरक्षामाथि आक्रमणकारी घेराबन्दीको रणनीति ठानेको छ ।
यसैबीच, साइप्रसले हालै इजरायली वायु–रक्षा प्रणाली पाएको समाचारले अंकारामा थप चिन्ता बढाएको छ ।
सिरियामा फरक दृष्टिकोण
सिरियामा इजरायली विदेशमन्त्री गिडोन साअरले ‘स्थिर सिरिया केवल संघीय मोडलमा सम्भव’ भन्दै विभिन्न स्वायत्तता क्षेत्र आवश्यक पर्ने टिप्पणी गरेका थिए । तर अंकारा भने नयाँ सिरियाली प्रशासनलाई केन्द्रीय र एकात्मक संरचनासहितको राष्ट्रका रूपमा समर्थन गर्दै आएको छ ।
नेचमेतिन एरबकान विश्वविद्यालयको ग्लोबल एण्ड रिजनल स्टडीज सेन्टरका निर्देशक गोकान चिनकाराका अनुसार, अहिले इजरायल–टर्कीबीचको तनावलाई ‘नियन्त्रित’ भन्न सकिन्छ ।
उनले भने, ‘सिरियामा कुनै पनि समूहबीचको अनियन्त्रित टकराव टर्कीका लागि सबैभन्दा ठूलो जोखिम हो । त्यसैले अंकाराले नयाँ प्रशासनलाई व्यवहारिकतासहित अघि बढ्न सल्लाह दिइरहेको छ ।’
नेतन्याहुले भने सिरियालाई ‘बाल्कनाइज्ड’ अर्थात जातीय र धार्मिक आधारमा विभाजित देख्ने दृष्टिकोण अगाडि सारेका छन् । उनले दक्षिणी सिरियाको डेमिलिटराइजेशन माग गरेका छन्, जहाँ मुख्यतया द्रुज समुदाय बसोबास गर्छ ।
यदि यो योजना कार्यान्वयन भयो भने सिरियाका अन्य समुदाय– कुर्द र अलावाइट–ले पनि आफ्नै स्वायत्तताको माग गर्ने सम्भावना छ ।
सेटा थिंक ट्यांकका विदेशनीति निर्देशक मुरात येसिल्तास भन्छन्, ‘सिरियामा टर्कीका प्रस्ट रातो रेखा छन् । अमेरिका र इजरायलले क्षेत्रीय व्यवस्था पुनःआकार दिन खोज्दा विभिन्न खतरा र जोखिम बढिरहेका छन् ।’
मार्चमा इजरायलको सबैभन्दा प्रभावशाली सुरक्षा थिंक ट्यांक ‘इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिज’ (आईएनएसएस)ले प्रकाशित विश्लेषणमा टर्की–पीकेकेबीच सम्भावित शान्ति प्रक्रियाबारे चिन्ता व्यक्त गरिएको थियो ।
आईएनएसएसका अनुसार, यस्तो प्रक्रिया अघि बढे टर्कीले दक्षिणी सिरियामा आफ्नो प्रभाव विस्तार गर्न सक्छ, जसले इजरायलको स्वतन्त्र कार्यक्षमता खुम्च्याउन सक्छ ।
यसैबीच, इजरायली रक्षा मन्त्री इजरायल काट्जले दक्षिणी सिरियामा कब्जा गरिएका भूभाग अनिश्चितकालसम्म राखिने प्रस्ट पारेका छन् ।
सम्भावित टकराव
टर्कीले सिरियाको होम्स प्रान्तमा नयाँ सैनिक आधार र हामा प्रान्तको मुख्य विमानस्थल प्रयोग गर्ने सम्भावना खोजिरहेको अवस्थामा इजरायलले ती स्थानमाथि आक्रमण गरेको छ ।
यसै प्रसङ्गमा येसिल्तास भन्छन्, ‘यदि तेल अविभ यो बाटोमा अडिग रह्यो भने टर्की–इजरायलबीचको प्रत्यक्ष टकराव अपरिहार्य हुन्छ । टर्कीले आफ्नो दक्षिणी सिमानामा अस्थिरता कायम राख्ने नीतिलाई कदापि स्वीकार गर्न सक्दैन ।’
तर, लन्डनस्थित किंग्स कलेजका सुरक्षा अध्ययनका सहयोगी प्राध्यापक आन्द्रियास क्रिग भन्छन्, ‘पूर्ण प्रतिद्वन्द्विता अपरिहार्य भने होइन । दुवैले टकरावको मूल्य चुकाउनु पर्नेछ भन्ने बुझ्छन्, विशेषगरी आपसी आर्थिक निर्भरता भएकाले ।’
उनका अनुसार, ‘इजरायलको टर्कीमाथिको खतरा प्रत्यक्ष सैन्य आक्रमणभन्दा बढी अप्रत्यक्ष बाटोबाट टर्कीका चासोमाथि प्रहार गर्नु हो ।’
क्रिगले जोड्दै भने, ‘भविष्यका टकरावहरू प्रत्यक्ष युद्ध घोषणामा होइन, बरु छायाँ क्षेत्रमा– गुप्त कारबाही, हवाई आक्रमण र प्रोक्सी भिडन्तमार्फत देखिन सक्छन् । त्यसैले अंकाराले रणनीतिक निवारण बढाउन, विशेष गरी हवाई–रक्षा, मिसाइल प्रणाली र खुफिया क्षमतामा विस्तार गर्नुपर्नेछ । साथै कतार, जोर्डन र इराकसँग क्षेत्रीय गठबन्धन मजबुत गर्दै वाशिङ्टनसँग पनि संवाद खुला राख्नुपर्नेछ ।’ -अलजजिराबाट