२४ जेठ २०८३, आइतबार
खस्किँदै नेपाली पासपोर्ट

जेनजी आन्दोलनपछि घट्यो अन्तर्राष्ट्रिय विश्वसनीयता, धेरै नेपाली जाने गन्तव्यमा भिसा निषेध !

असोज ७, २०८२
काठमाडौं
जेनजी आन्दोलनपछि घट्यो अन्तर्राष्ट्रिय विश्वसनीयता, धेरै नेपाली जाने गन्तव्यमा भिसा निषेध !

जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (यूएई)सँगै मलेसिया, साउदी अरब, कतार, कोरियालगायत देशले नेपालीलाई दिने भिसामा कडाइ गर्न थालेका छन् ।

गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा सरकारले दमन गरेपछि २४ गते देशभर विध्वंश मच्चिएको थियो । देशभर करिब ३० हजार कैदीबन्दी रहेकोमा २७ वटा जेलबाट करिब १६ हजार कैदी बन्दी फरार भएका थिए ।

फरार भएकामध्ये केही फिर्ता भइसकेका छन् भने करिब ७ हजार पक्राउ परिसकेका छन् । करिब ९ हजार अझै जेलबाहिर रहेको गृह मन्त्रालय स्रोतको दाबी छ । 

जेलमा रहेका कैदीहरू आफैं अध्यागमनको कालोसूचीमा हुने व्यवस्था नभएपछि उनीहरू भागेर अर्को देश जानसक्ने र त्यहाँ अपराध गर्न सक्ने आंकलनसहित धेरै नेपाली जाने देशहरूले भिसामा कडाइ गरेका हुन् ।

यतिबेला अध्यागमनमा करिब १८ सय मात्र फरार कैदीहरूको सूची गएको छ । उनीहरू सबैलाई कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएकाहरू नेपालको विमानस्थल प्रयोग गरेर स्वतः विदेश जान पाउँदैनन् ।

१८ सयमध्ये ८० प्रतिशत भन्दा धेरै भारतीय कैदीहरू रहेको अध्यागमन स्रोतले बतायो ।

‘तीमध्ये १४/१५ सय जति कैदीहरू भारतीय छन् । कतिपय अमेरिका र अन्य दर्जन जति देशका कैदीहरू रहेका छन् । उनीहरू कालोसूचीमा रहेका कारण विदेश भाग्न पाउन्नन्,’ स्रोतको भनाइ छ ।

तर, जेलबाट भागेका अन्य कैदीहरूलाई भने विदेश जान रोकतोक छैन । अध्यागमनसँग उनीहरूको सूची छैन । सोही कारण रोक्न सक्ने अवस्था नभएको स्रोतको भनाइ छ ।

त्यस्तै, देशभरि रहेका १४ वटा बोर्डर अफिसमा पनि फरार कैदीहरूको सूची पुर्‍याउने प्रयास भइरहेको अध्यागमन स्रोतले जनायो । ‘हामीले हिजो मात्र सबै बोर्डर अफिसहरूलाई पत्राचार गरेर फरार कैदीहरू भारत जान सक्ने सम्भावनालाई ध्यानमा राख्न भनेका छौं,’ स्रोतले भन्यो ।

तर, अहिलेसम्म भिसामा कडाइ गरेका भनिएका देशहरूले औपचारिक पत्र भने पठाएका छैनन् । अध्यागमन विभागका सूचना अधिकारी टीकाराम ढकालले भिसामा कडाइ गरेका भनिएका देशहरूले औपचारिक जानकारी नपठाएको बताए ।

‘भिसामा कडाइ गरेको कुरा हामीले पनि सुन्दै आएका छौं, तर हामीलाई औपचारिक पत्र पठाइएको छैन,’ उनले लोकान्तरसँग भने ।

यूएईले एक साताअघि नै नेपालीलाई भिसामा कडाइ गरिसकेको थियो । त्यसलगत्तै मलेसिया, कोरिया र साउदी अरबले पनि अप्रत्यक्ष रूपमा भिसामा कडाइ गर्न थालेको वैदेशिक रोजगारदाताहरूको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले भने, ‘मलेसियासहित अन्य खाडी देशले भिसा दिन कडाइ गर्न थालेका छन् । केही दिनयता भिसाका लागि अनावश्यक कागजातहरू मागेका छन् भने धेरैको भिसा रिजेक्ट भएको छ ।’

यसबारे सरकार भने बेखबर देखिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भिसामा कडाइ गरेको समाचारहरू आएको र मन्त्रालयले त्यसबारे बुझ्ने प्रयास गरिरहेको बताए ।

‘हामी बुझ्ने प्रयास गरिरहेका छौं । औपचारिक रूपमा कुनै पनि देशबाट भिसामा कडाइ गरेको भन्ने जानकारी आएको छैन,’ क्षेत्रीले लोकान्तरसँग भने ।

परराष्ट्र मन्त्रालयले यसबारे छलफल गर्न मंगलबार सम्बन्धित देशका राजदूतहरूसँग छलफल आह्वान गरेको छ ।

खेलाडीलाई पनि भिसामा कडाइ

यही कारण देखाएर यूएईले वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न जाने खेलाडीको समेत भिसा रोकेको थियो ।

खेलाडी खेल खेल्न पनि जान नपाएपछि सरकारले नै कूटनीतिक पहल गर्नुपरेको थियो । पहलपछि आइतबार यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।

नेपालले टी–२० मा पहिलो पटक वेस्ट इन्डिजसँग खेल्न लागेको हो । पूर्ण राष्ट्रविरुद्ध नेपालले पहिलोपटक टी–२० शृंखला खेल्दै छ । वेस्टइन्डिज दुईपटकको टी– २० विश्वकप विजेता टोली हो ।

खस्क्यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता

नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रम विश्वभरका सञ्चारमाध्यममा हेडलाइन बनेका थिए । यहाँ विकसित घटनाक्रम उजागर भएपछि विश्वभर नेपालीहरूको विश्वसनीयता कमजोर बन्दै गएको कतिपय विश्लेषकहरूको भनाइ छ ।

नेपालमा अपराधीहरू जेलबाहिर घुमिरहेको अवस्थालाई विदेशमा त्यति राम्रो नमानिने विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् ।

‘पछिल्लो समय विभिन्न देशले नेपालीलाई भिसामा कडाइ गर्न थालेको कुरा आएको छ । यदि त्यसो हो भने यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता खस्केको प्रमाण हो ।’

उनले नेपालको अहिलेको अवस्था चुनौतीपूर्ण रहेको र तत्काल ल एन्ड अर्डर कायम नगरे नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता थप खस्केर जाने टिप्पणी गरे ।

वाग्लेले भने, ‘तत्काल स्टेकहोल्डरहरूसँग छलफल गरेर अघि बढ्नुपर्छ । अनि देशमा तत्काल ल एन्ड अर्डर कायम गर्नुपर्छ । यसो गरिएन भने नेपालको अवस्था थप खस्किँदै जानेमा हामी सजग हुनुपर्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्