३० असार २०८३, मंगलबार
भदौ २४ को विध्वंश

आन्दोलनको निशानामा दल: खरानी बने कार्यालय र निवास, जले ऐतिहासिक दस्ताबेज

असोज १४, २०८२
काठमाडौं
आन्दोलनको निशानामा दल: खरानी बने कार्यालय र निवास, जले ऐतिहासिक दस्ताबेज

घर चार कुनाभित्र ठिंग उभिएको भौतिक संरचना मात्रै होइन । जो कसैको लागि घर सबै खालका संवेग निर्धक्क बिसाउने चौतारी हो । जहाँ सुख, दु:ख, कष्ट, हर्ष, बिस्मात, माया प्रेम जस्ता थुप्रै मानवीय संवेग निर्धक्क अभिव्यक्त गरिन्छ, बिसाइन्छ । समाजमा जतिसुकै प्रतिष्ठा, वैभव र ख्याति कमाउने वा नकमाउनेका निम्ति पनि घर साँच्चै आडम्बररहित थलो हो । जहाँ भौतिक संरचनाभन्दा मानवीय अनुभूति र आत्मपहिचान जोडिन्छ ।

बाल्यकालीन स्मृति जगाउने र वर्तमानलाई भुलाउने कुनै ठाउँ छ भने त्यो घर नै हो । बाँसले बेरेर गोबर र माटोले पोतिएको होस् कि ढुंगा माटोले ठड्याइएको नै किन नहोस्, घर भनेको घर नै हो, जहाँ इतिहासलाई सँगाल्दै, वर्तमानमा बाँच्दै भविष्यलाई तिनै सँगालेका चिज हस्तान्तरण गर्ने सोच आममानिसको हुन्छ । झुप्रो नै सही, आँगनबाट छिर्नेबित्तिकै हरेक मान्छेका निम्ति घर संसारको सबैभन्दा सुरक्षित ठाउँ हो ।

भ्रष्टाचार र सुशासनको पक्षमा जेनजीले भदौ २३ गते शुरू गरेको आन्दोलनको दोस्रो दिनको स्वरूप बेग्लै देखियो । भदौ २३ गतेको मानवीय क्षति दागी चित्र एउटा छ । भदौ २४ गते भएको सम्पदा, सम्पत्तिमाथिको आक्रमण, लुटपाट र आगजनीको चित्र पनि त्यो भन्दा कम छैन ।

देशले सुरक्षित ठानेका सिंहदरबार, सर्वोच्च अदालत जले । नेतादेखि व्यापारी, सेलिब्रिटीसम्मले पौरख र पसिनाले आर्जेका सम्पत्ति, इतिहास र दस्तावेज खरानी बनाइए ।​

विध्वंशको अराजकतामा हाम्रो इतिहास सिंहदरबार जल्यो । अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने देशमा ऐतिहासिक सम्पत्ति जले । राणा, शाह, पञ्चातयकालीन, प्रजातन्त्रदेखि गणतन्त्रकालीन थुप्रै दस्तावेज खरानी बनाइए ।

null

देशमा एउटा गतिलो सभाहल नभएपछि पूर्व राजा वीरेन्द्र शाहले चीनसँग आग्रह गरेपछि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर क्षेत्रको चमक थियो । जहाँ देशको कानून बनाउन नेताहरूले बहस पैरवी गर्थे । त्यो पनि बचेन ।

सर्वोच्च अदालत, जुन न्यायको मन्दिर हो । यसको नियति उस्तै बनाइयो । छानी–छानी विवादास्पद मुद्दाका फाँट, महत्त्वपूर्ण फैसलाका प्रतिदेखि मिसिल सबै खरानी बनाइयो । संवेदनशील तथ्यांक रहेका हार्डडिस्कहरू सर्वोच्च र महान्यायाधिवक्ताको कार्यालयबाट चोरिए ।

यी सबैबाट आजित भएपछि मिडियामा कहिल्यै अन्तर्वार्ता नदिने सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले खण्डहर बनेको अदालतको आँगनबाट अन्तर्वार्ता दिए । सर्वोच्च अदालत, जिल्ला अदालतमा रहेका राणाकालदेखिका पाँच लाख मिसिलको तथ्यांक आफैंमा महत्त्वपूर्ण इतिहास थिए । सय वर्षयताका सबै अभिलेखहरूलाई खरानी बनाइएको फेहरिस्त प्रधानन्यायाधीशले प्रस्तुत गरे । न्यायप्रणालीलाई रिभ्यु गर्ने कुरामा आफूहरूले पनि समीक्षा गर्ने उनले बताए । अझै छानीछानी मुद्दाका अभिलेख जलाउन खोजेको उनको भनाइले स्थिति कति भयावह थियो भने दर्शाउँछ ।

संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जल्दा राज्यका तीनवटै अंगका काम र इतिहासका थुप्रै तथ्य, तथ्यांक नामेट भएका छन् । पहिलो दिन २३ गते १९ युवाको ज्यान गयो । यसकै आक्रोशमा भोलिपल्टै उर्लिएको भीडको निशानामा सिंहदरबार, संसद् भवन, शीतलनिवासदेखि सर्वोच्च अदालतसम्म नास हुन समय लागेन ।

ध्वंश, आगजनी र यो तोडफोडमा देश परिवर्तनको पवित्र उद्देश्य बोकेका वास्तविक जेनजीको हात भएको कसैले पनि स्वीकारेका छैनन् । धमिलो पानीमा माछा मार्नेले मौकाको फाइदा उठाउँदा देशलाई खरानी टक्टक्याएर उठ्न अझै केही वर्ष लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले ९ वर्षीया छोरीको मनपर्ने कोठा, खेलौना, गिफ्ट  फोटोलाई आन्दोलनकारीले निर्ममतापूर्वक नष्ट गर्दै दनदनी बालेको लेखेका छन् । आफ्नो जीवनभरिको कमाइले आर्जन गरेका किताब, पेन्टिङदेखि मूर्ति जल्दाको उनको अनुभूतिले जो कोहीलाई विचलित बनाउँछ ।

तर, निशाना र केन्द्र सरकारी सम्पत्ति मात्रै परेनन् । दलका नेता, कार्यकर्ता, अर्बौँ लगानी गरेका व्यावसायिक प्रतिष्ठान र व्यापारिक केन्द्रसमेत परे । श्रम, सीप, पसिना र यौवन सिञ्चित गरेर ठड्याइएका प्रतिष्ठान र व्यापारिक केन्द्रलाई तहसनहस गराउन र लुटपाट गर्न समय लागेन । आफ्ना ऊर्जाशील समय लगानी गरेर सिर्जना गरिएका सम्पत्ति मात्रै जलेनन्, मान्छेका खुशी, इतिहास, ज्ञानको भण्डार लाखौं किताबहरू जलेर खरानी बने ।

विध्वंशपूर्ण अराजकतामा केही नेताका घर जले । लुटपाट गरिसकेपछि भेटिएका पैसा जलाइएका फोटो र भिडियो आएका छन् । सबै नेताको घर यस्तै नियतिको सिकार भएको भाष्य बनाइयो । यसैलाई तथ्य मान्दै आज समाज रमिता मानिरहेको छ ।

कसका घरमा कति सम्पत्ति थियो, त्यसका स्रोत के थियो, त्यो राज्यको अध्ययन–अनुसन्धानको पाटो हो । गहन अध्ययन र पैरवीले त्यसको निर्क्यौल गर्छ । नेताले गरेको सत्कर्मको लाभ र दुष्कर्म सिर्जित हानीको भागीदार उनीहरू नै बन्नेछन् ।

जीवनभरको श्रम, पसिना र कमाइ क्षणभरमै आँखै अगाडि जलाइए । सन्तानका लागि खुशीका यौवनका सबै ऊर्जा खर्चिएकाको घर खरानी बनाउन समय लागेन ।

मान्छेको ज्ञानका संग्रह लाखौं–लाख पुस्तक जलाइए । विचार निर्माण गर्नेका सम्पत्ति र सम्पदा आगो झोसिन र लुटिनबाट जोगिएन ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले ९ वर्षीया छोरीको मनपर्ने कोठा, खेलौना, गिफ्ट  फोटोलाई आन्दोलनकारीले निर्ममतापूर्वक नष्ट गर्दै दनदनी बालेको लेखेका छन् । आफ्नो जीवनभरिको कमाइले आर्जन गरेका किताब, पेन्टिङदेखि मूर्ति जल्दाको उनको अनुभूतिले जो कोहीलाई विचलित बनाउँछ ।

‘भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबै–किताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए । देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्ति थिए,’ दनदनी जलिरहेको आफ्नै घरको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै पौडेलले लेखेका छन्, ‘जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहीँ थियो । छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहीँ थियो ।’

घर जल्नुभन्दा अगाडि नै जलेको समाचार आएपछि मात्रै घटना भएको उनको भनाइले हाम्रो समाजको चित्र दर्शाउँछ ।

‘अस्ति यो घर जल्नुभन्दा दुई घन्टाअघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो । मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घर भित्र मानिस गए । बाआमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए,’ पौडेलले लेखेका छन्, ‘छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ । त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।’

पुष्टि नगरी एक प्रतिष्ठित पत्रकारले गरेको टिप्पणीकै आधारमा अर्बौँ लगानी भएको हिल्टन होटल खरानी बन्न समय लागेन । सञ्चालनमा आएको एक वर्षमै अर्बौं रुपैयाँ लगानी भएको हिल्टन जल्यो, जसको समाचार आज विश्वभर भाइरल भएको छ ।

दशौं हजारलाई रोजगारी दिएका मीनबहादुर गुरुङका दर्जनौं भाटभटेनी सुपरमार्केट खरानी बनाइए । दानवीर व्यवसायीका रूपमा कहलिएका गुरुङले एमालेलाई सहयोग गरेकै आधारमा उनका दर्जनौं सुपरस्टोर लुटपाट र आगजनीको सिकार भए ।

null

घरसँगै संगालेका सबैथोक जलेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यको अनुभूति पनि उत्तिकै विरहलाग्दो छ ।

‘६८ सालको अन्तिममा ३३ वर्षमा राष्ट्र बैंकबाट रिटायर्ड भएपछि आएको पैसालाई सदुपयोग गर्दै यो घर बनाएको हो । बस्नेभन्दा पनि यसलाई संग्रहालय बनाउने भनेर भए भरका राष्ट्रिय अन्तर्राष्ट्रिय गिफ्टलाई मिलाएर राखेको थिएँ । भित्री कोठा पनि त्यस्तै थिए । ठूला पुस्तकालय जुन ज्ञानका भण्डार थिए,’ खरानी कोट्याउँदै उनले भनेकी छिन्, ‘हार्मोनियम, गितार, तबला, मादल, गाना बजानाका सामान थिए । सभ्यताका फोटोहरूले भित्ता रंगिएका थिए । समग्रमा यो मेरो घरभन्दा जीवित संग्राहालय थियो । यसलाई राम्ररी बनाएर नयाँ पुस्ताले केही सिकोस् भनेर छाडेर जाने मेरा इच्छा थियो । तर, खरानी छाडेर जानुपर्‍यो ।’

कांग्रेस महामन्त्री गगन थापाले बुवाआमाले बनाइदिएको घर आन्दोलनकारीले जलाउँदा मुस्किलले परिवारका सदस्य बाँचेको बताएका छन् ।

‘घरमा आगो लाग्न शुरू भयो । केही निस्किए । पछाडिको बाटोबाट बुवाआमा, हिँड्न नसक्ने कान्छो बुवा, मेरा साना छोरीलाई बल्ल–तल्ल निकालियो । घर तहसनहस भयो । यसलाई दुर्भाग्यपूर्ण घटनाको रूपमा लिनुपर्छ,’ थापाले भनेका छन्, ‘साँझ सुरक्षित स्थानमा गइसकेपछि आमाले रुँदै भन्नुभयो । त्यसपछि मलाई दु:ख लाग्यो । त्यसपछि म पनि रोएँ । किनकि त्यो मेरो घर थिएन । मेरो बाआमाले २०४० सालतिर सानो घरमा अलि–अलि गरेर तल्ला थप्दै बनाउनुभएको थियो । जुन घरमा हाम्रो बाल्यकाल बित्यो । मेरा छोरीहरू त्यहीँ जन्मिए । जुन एक–एक कोठा थपेर बनाएको मेरा बाआमाको सिर्जना थियो । त्यो ध्वस्त भयो,’ थापाले भदौ २४ गतेको भिडियोमा भनेका थिए ।’

२३ गते युवाको ज्यान लिनु अपराध भएको पनि उनले बताए ।​

पुरानो दल कांग्रेसका कोइराला निवास, चाक्सीबारी, बाँडेगाउँ र पुष्पलाल मच्छेगाउँको सालिक ढलेपछि राजनीतिक विश्लेषक झलक सुवेदीले एउटा अर्थपूर्ण टिप्पणी गरेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको संकटपछि गरेको अन्तरक्रिया कार्यक्रममा उनले विचार दिएकै आधारमा पार्टीका इतिहास जलाउनु सामान्य नभएको टिप्पणी गरेका हुन् ।

अहिलेसम्मका राजनीतिक विकृतिप्रति समीक्षा गर्न र माफी माग्न परम्परागत दल हच्किरहेका बेला थापा फरक देखिएका छन् । जेनजीलाई सम्बोधन गर्दै आफूले चाहेर पनि गर्न नसकेकोमा उनले क्षमा माग्दै परम्परागत पार्टीलाई बदल्ने संकल्प गरेका छन् । ‘मेरो कुरा सुन्दिनुहोला’ भन्दै गगनले गरेको अपिल ७७ लाखले हेरिसकेका छन् ।

छाडिएन ऐतिहासिक महत्त्वका निसानी

विराटनगरस्थित कोइराला निवास, ठमेल चाक्सीबारीस्थित गणेशमान सिंहको ऐतिहासिक निवास र ललितपुरको बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको नाममा खोलिएको आश्रममा समेत आन्दोलनकारीले आगो झोसे । बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई धेरै कांग्रेस र अरूले पनि श्रद्धाले सम्झिन्छन् । आन्दोलनकारीको आगोको लपेटाबाट यी ऐतिहासिक महत्त्वका स्थल जोगिएनन् ।

पुरानो दल कांग्रेसका कोइराला निवास, चाक्सीबारी, बाँडेगाउँ र पुष्पलाल मच्छेगाउँको सालिक ढलेपछि राजनीतिक विश्लेषक झलक सुवेदीले एउटा अर्थपूर्ण टिप्पणी गरेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको संकटपछि गरेको अन्तरक्रिया कार्यक्रममा उनले विचार दिएकै आधारमा पार्टीका इतिहास जलाउनु सामान्य नभएको टिप्पणी गरेका हुन् ।

‘विराटनगरमा बीपीको कोइरालाको निवासमा आगजनी भयो । काठमाडौंको चाक्सीबारीमा गणेशमान सिंह र बाँडेगाउँमा किसुनजीको आश्रममा आगजनी भयो । मच्छेगाउँमा पुष्पलालको सालिक ढालियो,’ सुवेदीले भनेका छन्, ‘४ सालमा कांग्रेस, ६ सालमा नेकपा बनेका थिए । बीपी र पुष्पलालले केही गरेका थिएनन्, विचार मात्रै दिएका थिए । तर, आज विचार दिने र राष्ट्रिय विम्बका धरोहर अलावा सर्वोच्च, सिंहदरबार र संसद्मा आगजनी र आक्रमण गरियो । यो सामान्य छैन ।’ कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुभेच्छुकको सहयोगमा बनाइएको किसुनजीको आश्रम जलेपछि दु:ख व्यक्त गरेका थिए ।

राष्ट्रपति पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको निवासमा पनि आगजनी

भदौ २४ गतेको आगजनीमा परेर राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटार र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको बूढानीलकण्ठ भंगालमा रहेको निवास पनि क्षतिग्रस्त बनाइएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क र बुटवलको घरमा तोडफोड र आगजनी भएको छ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाँउमा रहेको घर पनि आन्दोलनकारीहरूले आगजनी गरेका छन् ।

आफ्नै क्षमतामा उठेकी २०१८ की मिस नेपाल शृंखला खतिवडाको ख्याति र उनको आत्मनिर्भरताको खिल्ली उडाएपछि समाज नै दुई खेमामा बाँडियो । उनले वर्ल्डको स्टेजमा नेपालको प्रतिनिधित्व गर्दा गौरव बोध गर्नेले जेनजी आन्दोलनमा उनलाई गाली गरे ।

अनावश्यक आरोप लागेपछि उनले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश जारी गर्दै ‘लाइक र फलोअर्स लागि मानवता गुमाएको’ टिप्पणी गरिन् ।

बढी निशानामा कांग्रेसका नेताका घर

भदौ २४ गते भएको आगजनीमा नेपाली कांग्रेस सबैभन्दा बढी निशानामा पर्‍यो । ललितपुरको सानेपामा रहेको पाँच तल्ले केन्द्रीय कार्यालयमा आगजनीको चपेटामा पर्दा १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भदौ २४ गते भएको आगजनीमा केन्द्रीय कार्यालयमा मात्रै १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । ३६ केन्द्रीय नेताको घरमा आगजनी र तोडफोड भएको जानकारी दिए ।

‘जेनजीको आन्दोलनको दोस्रो दिन हाम्रो केन्द्रीय कार्यालय पनि विभिन्न समूहले तोडफोड  आगजनी गरेका छन् । हामीले प्रारम्भिक अनुमान निकाल्दा १० करोड रुपैयाँको क्षति भएको छ । इन्जिनियरहरूले थप अध्ययन अनुसन्धान गरेपछि क्षतिको अंक थप बढ्न सक्छ,’ विश्वकर्माले भने, ‘सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको निवासमा क्षति भएको छ ।’ देशभरका ४८ वटा पार्टी कार्यालय भवन र १३२ जना नेताको आगजनीमा परेको उनले बताए ।

केन्द्रीय कार्यालयमा केही समयअघि मात्रै खुलेको पुस्तकालय समेत पूरै जलेको छ । ७० लाख रुपैयाँ खर्च गरेर बनाइएको पुस्तकालयमा कांग्रेसका ऐतिहासिक दस्तावेज, बीपी कोइरालासहितका नेताहरूका जीवनी, राजनीति, दर्शनशास्त्रसहितका हजारौं पुस्तक जलेका छन् । सर्वसाधारणहरूका लागि समेत खुला गरिएको व्यवस्थित पुस्तकालय एक वर्षमै खरानी बन्यो ।  

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवास र सँगै तीन चारवटा महंगा गाडी क्षतिग्रस्त भएको छ । उपसभापति पूर्णबहादुर खड्काको सुर्खेतस्थित निवास, महामन्त्री गगन थापाको काठमाडौंका रातोपुल निवास, विश्वप्रकाश शर्माको झापास्थित निवास र ललितपुरको डेरामा आगजनी भएको छ । कोषाध्यक्ष उमेश श्रेष्ठको चितवनस्थित घरमा आगजनी गरिएको छ । सहमहामन्त्री महेन्द्र यादवको धनुषाको घरमा पनि आगजनी गरिएको छ ।

देउवा निवास

त्यस्तै, पूर्व पदाधिकारीको डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहितका नेताको घरमा आगजनी भएको विश्वकर्माले जानकारी दिए । बूढानीलकण्ठमा रहेको कांग्रेस नेता दीपक खड्काको घर पनि आगजनी भयो । ठूलो एरियामा बनेको घर, महंगा गाडी आगजनी र तोडफोड गरिएको छ । केपी ओली नेतृत्वको सरकारका गृहमन्त्री रमेश लेखकको काठमाडौं र कञ्चनपुरमा रहेको घरमा पनि आगजनी गरिएको छ ।

एमालेका नेतामा क–कसको क्षति ?

एमाले युवा नेता माधव ढुंगेल एमालेको कार्यालय, नेताको घरसम्म पार्टीका इतिहास र दस्तावेज जलेको बताउँछन् । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा ४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ ।

‘पदाधिकारी केन्द्रीय, जिल्ला र स्थानीय स्तरका गरी १७० नेता कार्यकर्ताको घर जलेका छन् । केन्द्र र जिल्ला कार्यालय गरी ६४ वटा जलेका छन् ।

मनमोहन अधिकारी, सहाना प्रधान र पुष्पलालको पालादेखिका माइन्युट, इतिहास जले । जुन हाम्रा ऐतिहासिक सम्पत्ति र दस्तावेज थिए,’ ढुंगेल भन्छन्, ‘अरू भौतिक सम्पत्तिको त के कुरा, हाम्रा इतिहास जसको मूल्य नै छैन । ती सबैलाई नाश गरे । कोही नेता विशेषसम्म बाँकी छ भने अब सम्झना, स्मृतिका फेहरिस्त बटुल्नुपर्ने ठाउँमा पुग्यौं ।’

सातवटै प्रदेश कार्यालय जलाइएको छ । एमाले अध्यक्ष केपी ओलीको भक्तपुर बालकोट, झापा र तेह्रथुममा रहेका तीनवटै घर जले । एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको टोखा, विष्णुप्रसाद पौडेलको भैँसेपाटी, सुरेन्द्र पौडेलको स्वयम्भू, शंकर पोखरेलको काठमाडौं र दाङको घर आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

ओलीको बालकोटस्थित निवासमा गरिएको आगजनी

त्यस्तै, पृथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, पदम गिरी, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, सूर्य थापादेखि कोमल वलीसम्मको घर आन्दोलनकारीको निशानामा परे । आगजनी, तोडफोड र लुटपाटबाट यी कसैको घर सग्लो रहेनन् । 

माओवादीमा कसको कति क्षति ?

माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय आगजनीमा पर्‍यो । जहाँ अधिकांश कार्यकक्ष जले । आन्दोलन हुँदा माओवादी सत्तामा थिएन । तर, जेनजी आन्दोलन भड्किएपछि माओवादी नेताका निवास पनि आगजनी र तोडबाट बचेनन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित दुई दर्जन बढी नेताको घर खरानी बन्न पुगे । प्रचण्ड  भाडामा बस्दै आएको ललितपुर खुमलटारस्थित निवासमा आगजनी भयो । यस्तै, चितवनस्थित शिवनगरमा रहेको घर पनि आगजनीमा पर्‍यो ।

प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर एवं केन्द्रीय सदस्य रेनु दाहाल, अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको घरमा तोडफोड र आगजनी भयो ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासलाई पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरे ।

अन्य चारजना उपाध्यक्षको निवास पनि आगजनी,  तोडफोड र लुटपाटमा पर्‍यो । उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन, कृष्णबहादुर महरा (दाङ)को घर तोडफोड र आगजनी भयो ।

त्यस्तै, उपमहासचिव वर्षमान पुन र गिरिराजमणि पोखरेलको निवास पनि आगजनी र तोडफोड भयो । सचिव चक्रपाणि खनालसहितका अन्य केन्द्रीय नेताका निवास पनि निशानामा परे ।

राजन दाहाल, माधव सापकोटा, युवराज चौलागाईं, विशाल खड्का, रामनारायण बिँडारी, उमेश यादव, कमल बुढाथोकीसहितका नेताका घर पनि आक्रमणबाट जोगिएनन् । केही नेताका गाडी जलाइँदा केही नेताहरू लुटपाटको सिकार भए ।

नेकपा माओवादीका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै १ करोड २९ लाख ३० हजार ८५९ र जनवर्गीय मोर्चाको ८३ लाख १२ हजार गरी २ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

समाजवादी पनि तारोमा

नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयमा आगजनी गरियो ।

अध्यक्ष माधव कुमार नेपालको कोटेश्वरको निवास र उनका दुई दाजुभाइको घरमा पनि आगजनी गरियो । नेता झलनाथ खनालले डल्लु निवास, वामदेव गौतमको भैँसेपाटी निवास तथा जीवनराम श्रेष्ठको दुईवटा घर पनि जलाइयो । रामकुमारी झाँक्रीसहितका नेताको घरमा तोडफोड गरिएको छ । प्रेम आलेको काठमाडौंको, किसान श्रेष्ठको सिमरा, धनराज आचार्य पोखरा, मीना लामाको हेटौंडा, प्रकाश रावल (सुदूरपश्चिमका प्रदेशसभा सदस्य) र उर्वादत्त पन्तको घर पनि आगजनीमा परेको छ ।

‘घर जल्नु भनेको नेताहरूका निम्ति सबैथोक जले बराबर हो । चाहिने, सूचना, अध्ययन सामग्री समाप्त हुनु भनेको ज्ञानमाथिको आक्रमण भयो । समाजवादीका नेताहरूको जीवनशैली सामान्य छ,’ खतिवडा भन्छन्, ‘व्यावसायिक नेताको अलि राम्रो होला । दु:ख जिलो गरेर राजनीतिमा लागेकालाई लाखौं लाखको ऋण बोक्नुपर्ने परिस्थिति भयो । निर्वाहमुखी जीवन बोक्नेका लागि आर्थिक रूपले सडकमा ल्याइदिएको छ ।’

‘दुर्गा प्रसाईंको आन्दोलनमा हाम्रो केन्द्रीय केन्द्रीय कार्यालयमा ८४ लाख क्षतिको आकलन थियो । हामीले लेखेर सरकारलाई पठाएका थियौं । झ्यालढोका मर्मत गर्दै थियौं । यसपटक २३ गते नै हाम्रो कार्यालयमा तोडफोड भयो,’ समाजवादीका नेता जगन्नाथ खतिवडाले भने, ‘२४ गते केन्द्रीय कार्यालयमा आगजनी गरियो । करोडौंको क्षति भयो । देशभरका १०/१२ जिल्ला कार्यालयमा क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरेका छौं । अरू क्षतिको रिपोर्ट मागिरहेका छौं ।’

सामान्य जीवनशैली भएका नेतासमेत आगजनी र तोडफोडको सिकार हुनु विडम्बनापूर्ण भएको खतिवडा बताउँछन् ।

‘घर जल्नु भनेको नेताहरूका निम्ति सबैथोक जले बराबर हो । चाहिने, सूचना, अध्ययन सामग्री समाप्त हुनु भनेको ज्ञानमाथिको आक्रमण भयो । समाजवादीका नेताहरूको जीवनशैली सामान्य छ,’ खतिवडा भन्छन्, ‘व्यावसायिक नेताको अलि राम्रो होला । दु:ख जिलो गरेर राजनीतिमा लागेकालाई लाखौं लाखको ऋण बोक्नुपर्ने परिस्थिति भयो । निर्वाहमुखी जीवन बोक्नेका लागि आर्थिक रूपले सडकमा ल्याइदिएको छ ।’

भदौ २३ गते जेनजीको आन्दोलनलाई समर्थन गरे पनि आफूमाथि शत्रुता साँधिएको उनी बताउँछन् । ‘हामीले जेनजीलाई २३ गते नै समर्थन गरेका थियौं तर त्यसै दिन हाम्रो कार्यालयमा आक्रमण भयो, भोलिपल्ट आगजनी,’ खतिवडा भन्छन्, ‘जेनजीको नाममा अरूले नै यस्ता घटना घटाए, मुलुकप्रति शत्रुता साँधे, दललाई निषेध र देशको लोकतान्त्रिक शासन प्रणालीमाथि चुनौती दिएर अराजकता निम्त्याउन खोजे । जेनजीको आन्दोलन, भ्रष्टाचार र कुशासनको विरुद्धमा, सुविधा भोगी प्रवृत्तिका विरुद्धमा थियो, तर सुनियोजित घटना घटाइयो । भ्रष्टाचारविरुद्धको अभियानमा वास्तविक जेनजी लागिरहुन् ।’

मधेशकेन्द्रित दल पनि निशानामा

जेनजीको आन्दोलन भड्किँदाको मार मधेशकेन्द्रित दलका नेताले पनि खेपे । जसपाका अध्यक्ष उपेन्द्र यादव, नेता प्रदीप यादवको घर पनि आगजनीमा पर्‍यो । जसपाको ललितपुर बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरियो । मधेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जको घर र दुईवटा गाडीमा समेत क्षति पुगेको छ । जसपा नेपाल मधेश प्रदेशसभा सदस्य सुरिता साहको घर र गाडीमा आगजनी भएको छ ।

लोसपाका शरदसिंह भण्डारीको भैँसेपाटीस्थित निवास, पार्टी नेता निर्जला राउतको निवासमा पनि आगजनी र तोडफोड भएको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको घर पनि आगजनी र लुटपाटमा पर्‍यो । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको नवलपरासीको घरमा आगजनी भएको छ ।

पुस्तकप्रेमी बाबुराम पनि निशानामा

पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको घर पनि आगजनी र तोडफोडबाट बचेन । सत्तासँग नजिक नरहँदा पनि पुस्तकप्रेमी बाबुरामको घरलाई आन्दोलनकारीले छाडेनन् । हजारौं पुस्तक रहेका उनको घरमा आन्दोलनकारीले आगो झोसे । समकालीन नेतामा सबैभन्दा बढी अध्ययनशील र तार्किक नेता मानिने बाबुरामका हजारौं पुस्तक खरानी बनेका छन् । यही खरानीका बीच केही महत्त्वपूर्ण पुस्तक बचेका छन् कि भनेर ओल्टाइपल्टाइ गरेका उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पढ्नुहोस्, यो पनि :

६५ वर्षमा नेपाली पत्रकारिताले भोगेको संकट– सत्ता, विद्रोही र प्रदर्शनकारीको सधैं निशानामा !

सेनाले उद्धार गर्नुअघि मन्त्री क्वार्टरमा के भएको थियो ? भैरवनाथ गणभित्र मन्त्रीले के भोगे ?

प्रहरीका ४८६ युनिटमा क्षति, ३३३ सवारी जले, १२ सय ४७ हतियार लुटियो

एक दिनको विध्वंशले निजी क्षेत्रमा खर्ब बढीको क्षति, आन्तरिक लगानी समेत जोगाउन मुस्किल

दुई दिनको आन्दोलनमा थला पर्‍यो न्यायिक तथा प्रशासनिक क्षेत्र– न रहे संरचना, न महत्त्वपूर्ण दस्तावेज

salt training

कमेन्ट गर्नुहोस्