
ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल र जापान एक खेलअगावै ‘सुपर–६’ चरणमा पुगेका छन् ।
समूह ‘बी’ अन्तर्गतको बिहीबार खेलिएको खेलमा जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल र जापान ‘सुपर-६’ चरणमा पुगेका हुन् ।
उक्त नतिजापछि कुवेत भने उपाधि होडबाट बाहिरिएको छ । जारी छनोट प्रतियोगितामा कुवेतको यो लगातार दोस्रो हार हो । यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा कुवेतको टोली नेपालसँग ५८ रनले पराजित भएको थियो ।
समूह ‘बी’बाट विजेताको रूपमा ‘सुपर-६’ चरणमा पुग्ने टोलीको टुंगो भने शुक्रबारको खेलपछि मात्र लाग्नेछ । उक्त समूहको अन्तिम खेल शुक्रबार नेपाल र जापानबीच खेलिने छ । त्यो खेलमा विजयी हुने टोली समूह विजेताका रूपमा र पराजित हुने टोली उपविजेताका रुपमा ‘सुपर-६’ चरणमा पुग्नेछन् ।
बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने १९.३ ओभरमा केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।
जापानको जितमा एमस रहमानले उत्कृष्ट अर्धशतकीय योगदान गरे । उनले केवल ३९ बलमा ६४ रन बनाए । यस क्रममा उनले दुई छक्का र नौ चौका पनि हिर्काए । साबाओरिस रविचन्द्रनले पनि टोलीको खातामा ३९ रन थपे ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान केन्दल कादोवाकी फ्लेमिङले २८ रन जोडे । इब्राहिम ताकाहासीले २६ रन बटुले । त्यसअघि कुवेतका लागि अली जहिरले ४१ र यासिन पटेलले ४० रन बनाएका थिए ।
सन् २०२६ मा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि एसिया–प्रशान्त क्षेत्रको यो अन्तिम चरणको छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट तीनवटा टोलीले आगामी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।