०२ साउन २०८३, शनिबार
शान्तितर्फ मध्यपूर्व

ट्रम्पको अनौठो शैली, जसले सम्भव बनायो इजरायल-हमास सम्झौता

असोज २४, २०८२
काठमाडौं
ट्रम्पको अनौठो शैली, जसले सम्भव बनायो इजरायल-हमास सम्झौता

कतारमा हमास वार्ताकारमाथि इजरायलले गरेको हवाई आक्रमण शान्तिको सम्भावना झन् टाढा बनाउने उग्र कदमजस्तो देखिएको थियो ।

सेप्टेम्बर ९ को आक्रमणले अमेरिकाको सहयोगी मुलुकको सार्वभौमिकता उल्लङ्घन मात्र गरेन, क्षेत्रीय युद्ध फैलिने जोखिम पनि बढायो ।

कूटनीति धराशायी भएको अनुभूति भइरहेकै बेला अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको बाँकी सबै बन्धकहरूको मुक्तिसम्बन्धी सम्झौतासम्म पुग्ने निर्णायक मोड बन्यो ।

यो लक्ष्य हासिल गर्न उनी र उनका पूर्ववर्ती जो बाइडेन दुवै करिब दुई वर्षदेखि प्रयासरत थिए । सम्झौता दीर्घकालीन शान्तिको पहिलो चरण मात्र हो । हमासको निशस्त्रीकरण, गाजाको शासन र इजरायलको फिर्तीसँग सम्बन्धित कुरा अझै वार्तामा छन् ।

तर, यो सम्झौतामा टिके भने यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य उपलब्धि बन्न सक्छ– त्यस्तो एउटा उपलब्धि, जुन बाइडेनले हासिल गर्न सकेनन् ।

ट्रम्पको असामान्य शैली र इजरायल तथा अरब मुलुकहरूसँगको सम्बन्धले यस सफलतामा भूमिका खेलेको देखिन्छ । तर, जस्तै अन्य कूटनीतिक उपलब्धिहरूमा हुन्छ, यहाँ पनि धेरै कुरा उनीहरूको नियन्त्रणबाहिर थिए ।

बाइडेनले कहिल्यै नपाएको सम्बन्ध

ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको आत्मीयता खुलेरै झल्किन्छ ।

ट्रम्पले बारम्बार भनेका छन्, 'अमेरिकाको इजरायलभन्दा राम्रो मित्र छैन ।' नेतान्याहुले पनि उनलाई 'इजरायलको सबैभन्दा ठूला सहयोगी' भनेर सम्बोधन गरेका छन् ।

ट्रम्पले पहिलो कार्यकालमै अमेरिकी दूतावास तेल अवीभबाट जेरुसेलम सार्ने निर्णय गरे । उनले वेस्ट बैंकका इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानूनअनुसार अवैध हुने अमेरिकी नीति पनि परिवर्तन गरे ।

सन् २०२४ को अन्त्यतिर नेतान्याहुलाई केही बन्धक फिर्ता गर्ने शर्तमा अस्थायी युद्धविराम स्वीकृत गर्न ट्रम्पका प्रतिनिधि स्टिभ विटकोफले दबाब दिएको बताइन्छ । यसअघि इरानमाथि इजरायलका आक्रमणहरूमा ट्रम्पले अमेरिकी बमवर्षक पठाएर समर्थन गरेका थिए ।

तर, आवश्यक पर्दा उनले नेतान्याहुमाथि कडा दबाब पनि दिए । 'अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्रीलाई ‘पालना गर्नुपर्छ, होइन भने परिणाम भोग्नुपर्छ’ भन्ने कुरा इतिहासमै पहिलोपटक भनेका हुन्,' कार्नेगी संस्थानका आरोन डाभिड मिलर भन्छन् ।

बाइडेन र नेतान्याहुबीचको सम्बन्ध भने सधैं कमजोर रह्यो । उनले 'बियर हग' रणनीति अपनाए– सार्वजनिक रूपमा समर्थन, तर व्यक्तिगतरूपमा संयमको आग्रह । आफ्नै दलभित्र गाजा युद्धबारे मतभेद भएका कारण बाइडेनले हरेक कदम निकै सावधानीपूर्वक चाल्नुपर्थ्यो । ट्रम्प भने रिपब्लिकन समर्थनका कारण बढी स्वतन्त्र थिए ।

अन्ततः बाइडेनको समयमा इजरायल शान्तिका लागि तयार थिएन भन्ने तथ्यले नै निर्णायक भूमिका खेल्यो । ट्रम्पको दोस्रो कार्यकालको आठ महिनाभित्र इरान कमजोर, हिज्बुल्लाह सीमित र गाजा ध्वस्त भइसकेको अवस्थामा इजरायलका मुख्य लक्ष्यहरू पूरा भइसकेका थिए ।

गल्फ देशहरूको समर्थन

कतारको दोहामा भएको मिसाइल आक्रमणपछि (जहाँ एक कतारी नागरिक मारिए, तर कुनै हमास अधिकारी परेनन्) ट्रम्पले नेतान्याहुलाई स्पष्ट सन्देश दिए– युद्ध रोक्नैपर्छ ।

ट्रम्पले गाजामा शुरूमा इजरायललाई लगभग स्वतन्त्र रूपमा अघि बढ्न दिए । तर, कतारमा भएको आक्रमणपछि उनी अरब दृष्टिकोणप्रति संवेदनशील बने ।

उनको कतार, यूएई र साउदी अरबसँग व्यापारिक तथा व्यक्तिगत सम्बन्ध छ । उनले दुवै कार्यकाल साउदी भ्रमणबाट शुरू गरेका थिए र यस वर्ष दोहा तथा अबुधाबी पनि पुगे ।

पहिलो कार्यकालको अब्राहम सम्झौता जसले इजरायल र मुस्लिम देशबीच सम्बन्ध सामान्यीकरण गर्‍यो, जुन उनको प्रमुख कूटनीतिक सफलता थियो ।

यस वर्ष अरब राजधानीहरूमा गरेका भेटघाटले उनको सोचमा परिवर्तन ल्याएको काउन्सिल अन फरेन रिलेसन्सका एड हुसेन बताउँछन् ।

ट्रम्पले यसपटक इजरायल भ्रमण गरेनन्, तर यूएई, साउदी र कतारका नेताहरूले युद्ध अन्त्यको आवश्यकता दोहोर्‍याए ।

दोहामाथि आक्रमण भएको एक महिनामै ट्रम्प नेतान्याहुसँग बसेर उनले कतारसँग व्यक्तिगत रूपमा माफी मागेको दृश्य देखा पर्‍यो ।

त्यसै दिन नेतान्याहुले ट्रम्पको २० बुँदे शान्ति योजना अनुमोदन गरे, जसलाई प्रमुख मुस्लिम राष्ट्रहरूले पनि समर्थन गरे ।

ट्रम्पको नेतान्याहुसँगको सम्बन्धले इजरायलमाथि दबाब बढायो, जबकि मुस्लिम नेताहरूसँगको उनको व्यापारिक इतिहासले हमासलाई सम्झौतामा ल्याउन सहयोग गर्‍यो ।

'ट्रम्पले इजरायल र अप्रत्यक्ष रूपमा हमासमाथि पनि प्रभाव जमाए,' सीएसआईएसका जोन अल्टरम्यान भन्छन्, 'उनले यो आफ्नो समयतालिकाअनुसार गरे, जुन विगतका धेरै अमेरिकी राष्ट्रपतिका लागि असम्भव साबित भएको थियो ।'

अब इजरायलले एक हजारभन्दा बढी प्यालेस्टिनी बन्दी रिहा गर्ने र गाजाबाट आंशिक फिर्ती गर्ने योजना बनाएको छ । हमासले ७ अक्टोबरको आक्रमणमा अपहरण गरिएका सबै बन्धकहरू(बाँचेका र शवहरू) फिर्ता गर्नेछ ।

गाजाको विनाश र ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्युको कारण बनेको युद्ध अब अन्त्यतिर पुगेको संकेत देखिन थालेको छ ।

युरोपेली प्रभाव

गाजामा इजरायलका कार्यहरूको विश्वव्यापी निन्दाले पनि ट्रम्पको निर्णयमा प्रभाव पारेको थियो । मानवीय संकट चरममा पुगेपछि नेतान्याहु सरकार अन्तर्राष्ट्रिय रूपमा अलग हुँदै गयो ।

जब इजरायलले खाद्यान्न आपूर्तिमाथि नियन्त्रण लियो र गाजा सिटीमा ठूला आक्रमण गर्ने घोषणा गर्‍यो, तब फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंको नेतृत्वमा युरोपका केही ठूला देशहरूले वाशिंगटनको अन्ध समर्थनमा रहन नसक्ने बताए ।

यसपछि अमेरिका र युरोपेली देशबीच इजरायल–प्यालेस्टिी मुद्दामा ऐतिहासिक फाटो आयो ।

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गर्दा ट्रम्प प्रशासनले त्यसको कडा आलोचना गर्‍यो, तर बेलायत र साउदीले समर्थन गरे ।

माक्रोंले साउदीको समर्थन जुटाएर आफ्नै शान्ति योजना अघि बढाए ।

अन्ततः ट्रम्प एकतिर युरोप–अरब गठबन्धन र अर्कोतिर इजरायली दक्षिणपन्थीबीचको विकल्पमा परे र उनले गल्फका मित्रहरू रोजे ।

फ्रान्स–साउदी योजनाअनुसार अरब देशहरूले पहिलोपटक हमासको ७ अक्टोबर आक्रमणको निन्दा गरे र गाजाको शासन प्यालेस्टिनी प्रशासनलाई फिर्ता गर्न माग गरे ।

ट्रम्पको २० बुँदे योजनाले यही फ्रान्स–साउदी अवधारणाका केही बुँदाहरू समेट्यो, जसमा भविष्यमा प्यालेस्टिनी राज्यको सम्भावनाको उल्लेख थियो ।

ट्रम्पले टर्की, कतार र इजिप्टलाई हमासमाथि दबाब राख्न आग्रह गरे र नेतान्याहुलाई कडा सन्देश दिए । अन्ततः ट्रम्पको आग्रह कसैले अस्वीकार गर्न सकेनन् ।

ट्रम्पको अनौठो शैली

ट्रम्पको असामान्य व्यवहारले बारम्बार चकित पार्छ । ठूला बयान दिएर शुरू गर्ने तर अन्ततः व्यवहारिक नतिजामा पुग्ने उनको शैली पहिले पनि देखिएको हो ।

पहिलो कार्यकालमा उनले उत्तर कोरियाका शासकलाई 'साना रकेटम्यान' भनेर व्यंग्य गरे, तर पछि प्रत्यक्ष वार्ता गरे ।

दोस्रो कार्यकालको शुरूआतमा उनले गाजालाई सागर किनारको रिसोर्ट बनाउने र प्यालेस्टिनहरूलाई त्यहाँबाट सार्ने प्रस्ताव राखे, जसले मुस्लिम मुलुकहरूलाई आक्रोशित बनायो ।

तर, अहिलेको २० बुँदे योजना बाइडेन वा उनका सहयोगीहरूले तयार गर्न सक्ने योजनाबाट खास फरक छैन ।

ट्रम्पले असामान्य बाटोबाट सामान्य नतिजा निकाल्न सके । प्रक्रिया अव्यवस्थित रह्यो, तर यसपटक प्रभावकारी साबित भयो ।

अबको केही घण्टामा नोबेल समितिले शान्ति पुरस्कार घोषणा गर्दैछ । ट्रम्पलाई पुरस्कार दिने सम्भावना कम छ, तर केही हप्ता अघिसम्म असम्भव देखिएको कुरा अब त्यति असम्भव नै भने लाग्दैन ।

– बीबीसीबाट

अपडेट : सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्