
वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले जितका लागि एक सय २१ रनको लक्ष्य दिएको छ । भारतले दोस्रो पारीमा जितका लागि एक सय २१ रन बनाउनु पर्नेछ ।
दोस्रो टेस्टको चौथो दिन सोमबार क्यारेबियन टोली आफ्नो दोस्रो पारीमा तीन सय ९० रन बनाउँदै अलआउट भयो । दोस्रो पारीमा वेस्ट इन्डिजका दुई ब्याट्सम्यानले शतक बनाए ।
क्यारेबियन ब्याट्सम्यान जोन क्याम्पबेलले त शतक प्रहार गरेसँगै इतिहास नै बनाए । उनी २१ औं शताब्दीमा भारतीय भूमिमा खेलिएको टेस्टमा शतक प्रहार गर्ने वेस्ट इन्डिजका दोस्रो ओपनर ब्याट्सम्यान बन्न पुगे ।
यसअघि, सन् २००२ मा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान वेवेल हिन्ड्सले भारतमा खेलिएको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका थिए । उक्त टेस्ट कोलकाताको इडन गार्डन्समा खेलिएको थियो र भारतीय टोलीका कप्तान सौरभ गांगुली थिए ।
दोस्रो टेस्टको चौथो दिन आफ्नो शतक पूरा गर्ने क्रममा क्याम्पबेलले एक सय ९९ बलको सामना गरी तीन छक्का र १२ चौकाको मद्दतले एक सय १५ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका साई होपले पनि शतक बनाए ।
अनुभवी ब्याट्सम्यान साई होपले दुई सय १४ बलको सामना गरी दुई छक्का र १२ चौकाको मद्दतले एक सय तीन रन बनाए । कप्तान रोस्टन चेजले पनि टोलीको खातामा ४० रन थपे । सातौं नम्बरका ब्याट्सम्यान जस्टिन ग्रेभ्सले पनि अर्धशतक बनाए । जेडन सिल्सले टोलीको खातामा ३२ रन जोडे ।
भारतीय टोलीका बलर कुलदीप यादव र जसप्रित बुमराहले तीन–तीन विकेट लिए । मोहम्मद सिराजले दुई विकेट हात पारे । त्यसअघि, वेस्ट इन्डिजले आफ्नो पहिलो पारीमा दुई सय ४८ रनमात्र बनाउन सकेको थियो । सोही कारणले क्यारेबियन टोली फलो–अनमा परेको थियो ।
भारतले भने पाँच विकेटको नोक्सानीमा पाँच सय १८ रन बनाउँदै पहिलो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय ७५ रनको योगदान गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान शुभमन गिलले पनि शतकीय पारी खेलेका थिए । उनले अविजित एक सय २९ रन बनाएका थिए । साई सुदर्शनले पनि टोलीको खातामा ८७ रन थपेका थिए ।
दुई टेस्टको शृंखलामा भारत १-० ले अगाडि छ । पहिलो टेस्टमा भारतले वेस्ट इन्डिजलाई एक पारी र एक सय ४० रनको फराकिलो अन्तरले हराएको थियो ।