
अखिल नेपाल फुटबल संघ (एन्फा) मा आज जेनजी का प्रतिनिधिहरू उपस्थित भएर एन्फाका पदाधिकारीहरूसँग भेटघाट गरेका छन्।
प्रतिनिधि टोलीले एन्फाका महासचिव किरण राईसहित अन्य पदाधिकारीहरूसँग फुटबल विकासका विषयमा विस्तृत कुराकानी गरेको एन्फाले जनाएको छ।
जेनजीका प्रतिनिधिहरूमध्ये अनिष कार्की नेतृत्वको टोलीले एन्फासँगको अन्तरक्रियामा नेपाली फुटबलको आधारभूत संरचना सुदृढ पार्ने, उमेर समूहका खेलाडीहरूको विकासमा जोड दिने र प्रविधिमैत्री फुटबल व्यवस्थापनका सुझावहरू प्रस्तुत गरेको थियो।
अन्तरक्रियाका क्रममा दुवै पक्षबीच फुटबलको वर्तमान अवस्था, युवापुस्ताको सहभागिता र खेलकुदमा नवीन दृष्टिकोणका विषयमा सकारात्मक संवाद भएको बताइएको छ।
एन्फाका महासचिव किरण राईले युवापुस्ताबाट आएका यस्ता सुझावहरू फुटबलको सुधार र भविष्यका योजनामा उपयोगी हुने विश्वास व्यक्त गरे ।