१० साउन २०८३, आइतबार
आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट

ओमानमाथि नेपालको सानदार जित, उपाधिमाथि बलियो दाबेदारी

असोज ३०, २०८२
काठमाडौं
ओमानमाथि नेपालको सानदार जित, उपाधिमाथि बलियो दाबेदारी

आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले लगातार पाँचौँ जित हात पारेको छ । नेपालले बुधबार राति खेलिएको ‘सुपर–६’ चरणको खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हरायो ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १३ रनमात्र बनाउन सक्यो ।

जारी छनोट प्रतियोगितामा हालसम्म आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली हो । जितसँगै नेपाली टोली आठ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपाली टोलीले छनोट प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना पनि निकै बलियो बनाएको छ ।

नेपाल र ओमान यसअघि नै आगामी टी–२० विश्वकपमा छनोट भइसकेका छन् । नेपाली टोली समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो । नेपाली टोलीले यसअघि सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो ।

विश्वकपमा छनोट हुने तेस्रो टोलीको भने टुङ्गो लाग्न बाँकी छ । बुधबार रातिको खेलमा आयोजक ओमानलाई जितसम्म पुग्नबाट रोक्ने क्रममा नेपाली बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली बलरले सुरुदेखि नै ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए ।

गुलसन झाले तीन विकेट लिए । उनले १४औँ ओभरको चौथो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । सोमपाल कामीले दुई विकेट हात पारे । नन्दन यादवले पनि दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट कुम्ल्याए ।

ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । उनले केवल १९ बलमा तीन छक्का र एक चौका पनि हिर्काए । मोहम्मद नदिमले २५ रन जोडे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले १४ रन बटुले । आर्यन बिष्टले टोलीको खातामा ११ रन थपे ।

त्यसअघि, नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६९ रन बनाए । उनले ५१ बलमा एक छक्का र सात चौका प्रहार गरे ।

२८ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १३औँ अर्धशतक हो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ६१ रनको साझेदारी गरे ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेख २४ रन बनाउँदै आउट भए । उनले २० बलमा एक छक्का र दुई चौका पनि हिर्काए । आसिफ आउट भएपछि नेपालको रन बनाउने गति सुस्त भएको थियो ।

नेपाली टोलीका अन्य ब्याट्सम्यानको प्रदर्शन निकै निराशाजनक रह्यो । कप्तान रोहित पौडेल दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आफूले सामना गरेको पाँचौँ बलमै आउट भएका थिए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल पनि नौ बलमा केवल सात रन बनाउँदै मैदानबाट बाहिरिएका थिए । कुशल मल्लको ठाउँ लिन आएका आदिल आलमले टोलीको खातामा १६ रन थपे ।

null

छैटौँ नम्बरमा क्रिज समाल्न आएका आदिल आलमले १५ बलमा तीन चौका पनि हिर्काए । गुलसन कुमार झाले पनि केवल १० बलमा दुई छक्काको मद्दतले १८ रन बनाए ।

तीन बलको सामना गरेका लोकेश बलमे खाता खोल्न सकेनन् । सोमपाल कामी एक रनमा अविजित रहे । नन्दन यादवले चार बलमा एक छक्काको मद्दतले नौ रन बटुले ।

ओमानका बलर नदिम खानले चार विकेट लिए । जितेन कुमार रामानन्दीले पनि दुई विकेट हात पारे । सुफयान मेहमुदले पनि दुई विकेट लिए । नेपालले अतिरिक्त रुपमा चार रन पायो ।

आगामी टी–२० विश्वकपका लागि यो एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता हो । यो छनोट प्रतियोगिताबाट तीनवटा टोली सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा पुग्नेछन् ।

‘सुपर–६’ चरणको तालिकामा नेपाल आठ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । ओमान ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अब नेपाल र ओमानले एक–एक खेल खेल्न बाँकी छ ।

नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । सोही दिन ओमानले पनि आफ्नो अन्तिम खेल जापानसँग खेल्नेछ ।

यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । यूएईले पनि अब एक खेलमात्र खेल्न बाँकी छ । यूएईले आफ्नो अन्तिम खेल बिहीबार जापानसँग खेल्नेछ ।

जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ । जापानले बिहीबार यूएईसँग र शुक्रबार ओमानसँग खेल्नेछ ।

यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । कतारले आफ्नो अन्तिम खेल बिहीबार सामोआसँग खेल्नेछ ।

हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौँ स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ । सामोआले बिहीबार कतारसँग र शुक्रबार नेपालसँग भिडन्त गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्