०५ साउन २०८३, मंगलबार
प्रविधिमैत्री सेवा

अटोमेसनमा कम्पनी रजिष्ट्रार कार्यालय, हट्यो कार्यालय पुग्नुपर्ने बाध्यता

कात्तिक ४, २०८२
काठमाडौं
अटोमेसनमा कम्पनी रजिष्ट्रार कार्यालय, हट्यो कार्यालय पुग्नुपर्ने बाध्यता

कम्पनी रजिष्ट्रारको कार्यालयले दिने सेवालाई अटोमेसन अर्थात् स्वचालित प्रणालीमा लगिएको छ ।

यसअघि नै पूर्ण रूपमा अनलाइन प्रणालीमा गए पनि सेवाग्राहीले कार्यालयमै धाउनुपर्ने बाध्यता थियो । अब भने उक्त बाध्यता कम्पनी रजिष्ट्रारको कार्यालयले हटाइसकेको जनाएको छ ।

तिहार र छठपछि सेवाग्राहीले कार्यालयमै नआउनुपर्ने गरी स्वचालित प्रणालीबाट सेवा दिन थालिएको कार्यालयका उपरजिष्ट्रार तथा सूचना अधिकारी सूर्य प्रसाद चापागाईंले जानकारी दिए । 

पहिलेदेखि अनलाइनबाट सेवा दिइरहेको भए पनि कार्यालयमा सेवाग्राही आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जुन अहिले करिब करिब समाप्त भइसकेको छ ।

‘कार्यालयमा देखिरहने भिडभाड तिहार र छठपछि देखिने छैन । कार्यालयले दिने सेवालाई अटोमेसनमा लगिसकेका छौं’, उनले भने, ‘अनलाइनबाट दिने सेवाको पनि ६० प्रतिशत अटोमेसनमा गइसकेको छ । त्यसबाहेकको काम त अनलाइनबाट भइरहेकै छ । अहिले तिहारअघि मात्रै केही सेवाग्राही आइरहेको देखिन्छ । जुन छठपछि देखिन्छ । सेवाग्राहीले यहाँ आउनै पर्दैन ।’

कार्यालयले दिने सेवालाई ६० प्रतिशत अटोमेसन अर्थात् स्वचालित प्रणालीमा लगिएको छ । यसअघि नै कार्यालयले अनलाइनमार्फत् सेवा दिँदै आइरहेको थियो । अनलाइन सेवा दिँदै आइरहेको भए पनि सीमित कामका लागि कार्यालय आउनुपर्ने बाध्यता रहेको कार्यालयको दाबी छ । 

कम्पनीले हरेक वर्ष गर्ने कम्पनी अद्यावधिक अर्थात् कम्पनीको दर्ता प्रमाण पत्रको काम पूर्ण रूपमा अटोमेसनबाटै हुने बनाइएको छ । कार्यालयका अनुसार अब अनलाइनबाटै आवेदन दिएर अनलाइनबाटै प्रमाणपत्र पाउने सकिनेछ । 

कार्यालयमा करिब ५० प्रतिशतभन्दा बढी सेवाग्राही कम्पनी अद्यावधिकका लागि आउने गरेका थिए । जुन अब पूर्ण रूपमा स्वचालित प्रणालीबाटै हुने भएपछि मानिसहरूको चाप यत्तिकै कम हुने जनाइएको छ । 

पूँजी वृद्धिका लागि पनि सेवाग्राहीले अनलाइनबाटै आवेदन दिएर अनलाइनमार्फत् नै राजस्व बुझाएर पूँजी वृद्धिको पत्र प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ । पूँजी वृद्धिका लागि कम्पनीको वार्षिक साधारणसभाले पारित गरेअनुसार अनलाइनमार्फत् आवश्यक कागजात पेस गरेर स्वचालित प्रणालीमार्फत पूँजी वृद्धिको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।

कम्पनीहरूले गर्नुपर्ने इनिसियल अपडेट पनि अटोमेसनबाटै हुने कार्यालयले बनाइसकेको छ । कम्पनी स्थापना भइसकेपछि रजिस्ट्रारको कार्यालयलाई दिनुपर्ने जानकारी जस्तै; ठेगाना तथा ठेगाना परिवर्तन, सञ्चालकहरूले दिनुपर्ने जानकारी, लेखा परीक्षकको नियुक्ति लगायतका इनिसियल अपडेट अनलाइन प्रणालीबाटै गर्न मिल्ने बनाइएको छ । 

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (क्यामिसमा डिजिटल हस्ताक्षरसहित) स्वचालित रूपमा नै कार्यालयले सेवा दिने व्यवस्था मिलाइएको छ । जसले गर्दा सेवाग्राहीले कार्यालयमा आएर गर्नुपर्ने काम यसै प्रणालीबाटै हुन्छ ।

यसअघि कम्पनी संस्थापन र कम्पनी प्रशासन सम्बन्धी कामको अभिलेख ३ देखि ६ तहसम्मका हुने गर्दथ्यो । जुन अहिले बढीमा २ तहबाट कार्य टुङ्गो लाग्ने प्रबन्ध मिलाइएको छ । यसका साथै कम्पनी दर्ता गर्दा सहायक रजिस्ट्रार तहबाट हुने काम र कम्पनी दर्तापछि सहायक रजिस्ट्रारकै तहबाट टुङ्गो लगाउने वा बढीमा उपरजिष्ट्रारसम्मबाट टुंगो लाग्ने व्यवस्था गरिएको छ । यसले माथिल्लो तहसम्म पुग्नुपर्ने र समय लाग्ने समस्यालाई करिब करिब टुङ्ग्याइदिएको छ । 

२०७६ सालदेखि कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनबाट सेवा दिन शुरू गरेको थियो । २०७६ सालमा कार्यालयले विद्युतीय कार्य प्रणाली प्रारम्भ गर्दै आफ्ना प्रमुख सेवा अनलाइनबाटै हुने बनाएको थियो ।

तर, अनलाइनबाट सम्पूर्ण काम भने गर्न सकिएको थिएन । जुन पछिल्लो २/३ महिनामा गरिएको छ । अहिले करिब ६० प्रतिशत स्वचालित प्रणालीबाट भइरहेको कामले आर्थिक अनियमितता नहुने तथा पारदर्शिता रहने कार्यालयको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्