०२ साउन २०८३, शनिबार

मोहम्मद रिजवानलाई हटाएर साहिन शाह अफरिदीलाई पाकिस्तानी टोलीको कप्तान बनाइयो

कात्तिक ४, २०८२
काठमाडौं
मोहम्मद रिजवानलाई हटाएर साहिन शाह अफरिदीलाई पाकिस्तानी टोलीको कप्तान बनाइयो

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एकदिवसीय टोलीको कप्तान परिवर्तन गरेको छ । 

पीसीबीले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई हटाएर तीब्रगतिका बलर साहिन शाह अफरिदीलाई एकदिवसीय टोलीको कप्तान बनाएको हो ।​

रावलपिण्डीमा पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट जारी रहँदा पीसीबीले यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । पीसीबीले यस्तो निर्णय लिनुको कुनै स्पष्ट कारण भने सार्वजनिक गरेको छैन ।

यो निर्णय इस्लामावादमा चयन समिति र प्रशिक्षक माइक हेसनसँगको छलफलपछि लिएको पीसीबीले जनाएको छ । पछिल्लो केही समययता एकदिवसीय टोलीका कप्तान मोहम्मद रिजवानमाथि निरन्तर प्रश्न उठाइँदै आएको थियो ।

रिजवानलाई गत वर्ष एकदिवसीय टोलीको कप्तान बनाइएको थियो । उनकै कप्तानीमा पाकिस्तानले सन् २०२४ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । तर, सन् २०२५ मा भने टोलीले गतिलो प्रदर्शन गर्न सकेन ।

खासगरी, घरेलु मैदानमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोली पहिलो चरणबाटै बाहिरिएको थियो । त्यसपछि रिजवानको कप्तानीको व्यापक आलोचना भएको थियो ।

कप्तानको भूमिकामा रहँदा रिजवानले करिब ४२ को औसतले रन बनाएका छन् । यो सकारात्मक पक्ष हो । तर, उनको कप्तानी र निर्णय लिने क्षमताको विषयमा भने प्रश्न उठाइएको थियो ।

साहिन शाह अफरिदी दोस्रो पटक सीमित ढाँचाको प्रतियोगितामा पाकिस्तानी टोलीका कप्तान बनेका हुन् । यसअघि, उनी सन् २०२४ को जनवरीमा खेलिएको न्युजिल्यान्डविरुद्धको टी–२० शृंखलामा टोलीको कप्तान थिए । उक्त शृंखलामा पाकिस्तानी टोली ४–१ ले पराजित भएको थियो ।

त्यसपछि उनको स्थानमा बाबर आजमलाई कप्तान बनाइएको थियो । पछिल्लो समय साहिन शाह अफरिदी लयमा छन् । उनी पछिल्लो एक वर्षयता पाकिस्तानका लागि सबैभन्दा बढी विकेट लिने बलर पनि बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्