०३ साउन २०८३, आइतबार

न्युजिल्यान्डले इङ्ल्यान्डलाई हरायो, काम लागेन ह्यारी ब्रुकको उत्कृष्ट शतक

कात्तिक ९, २०८२
काठमाडौं
न्युजिल्यान्डले इङ्ल्यान्डलाई हरायो, काम लागेन ह्यारी ब्रुकको उत्कृष्ट शतक

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डले भ्रमणकारी टोली इङ्ल्यान्डलाई चार विकेटले पराजित गरेको छ । जीतसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ३५.२ ओभरमै अलआउट हुनुअघि दुई सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले ३६.४ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

न्युजिल्यान्डको जीतमा ड्यारल मिचेलले अविजित ७८ रनको योगदान गरे । उनले ९१ बलमा दुई छक्का र सात चौका पनि हिर्काए । माइकल ब्रासवेलले पनि ५१ रनको योगदान गरे ।

कप्तान मिचेल सान्टनरले २७ र विकेटकिपर ब्याट्सम्यान टम लाथमले २४ रन बटुले । इङ्ल्यान्डका बलर ब्राइडन कार्सले तीन विकेट लिए ।

त्यसअघि, इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले एक सय ३५ रनको योगदान गरेका थिए । तर, उनको शतक टोलीको जीतका लागि पर्याप्त हुन सकेन । उनले केवल एक सय एक बलको सामना गरी ११ छक्का र नौ चौका हिर्काएका थिए ।

इङ्ल्यान्डका लागि जामी ओभरटनले पनि ४६ रन बनाएका थिए । इङ्ल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका बलर जाकरी फाउल्क्सले चार विकेट लिए ।

ज्याक डफीले पनि तीन विकेट हात पारे । म्याट हेनरीले दुई विकेट कुम्ल्याए । मिचेल सान्टनरले पनि एक विकेट लिए । टोली पराजित भए पनि ह्यारी ब्रुक प्लेयर अफ दि म्याच घोषित भए ।

दोस्रो एकदिवसीय बुधबार ह्यामिल्टनमा खेलिने छ ।

salt training

कमेन्ट गर्नुहोस्