
स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल र तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूले विद्यालयका लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार पारेर विद्यालय कोषको रकम हिनामिना गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा विद्यालयमा सूचना–प्रविधि आईसीटी कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको खुलेको थियो ।
उनीहरूले २०७९ असार २३ गते ६ लाख ७४ हजार रुपैयाँमा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर र प्रिन्टर खरिद गरेको देखाए पनि तीमध्ये २ कम्प्युटर, १ प्रोजेक्टर र १ प्रिन्टर विद्यालयमा नल्याएको पाइएको आयोगको दाबी छ ।
साथै, प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार रुपैयाँ ‘सापटी’का नाममा चेक काटी विद्यालय कोषबाट निकाली फिर्ता नगरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले ४ लाख ७१ हजार ६६७ रुपैयाँ बिगो कायम गरी प्रतिवादीबाट असुलउपर र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।
यस्तो छ आरोपपत्र