०३ साउन २०८३, आइतबार

जलवायु परिवर्तनको असर म्याराथनको विश्व कीर्तिमानमा !

कात्तिक ११, २०८२
काठमाडौं
जलवायु परिवर्तनको असर म्याराथनको विश्व कीर्तिमानमा !

जलवायु परिवर्तनका कारण धावकहरूका लागि म्याराथनको विश्व कीर्तिमान तोड्ने सम्भावना कम हुँदै गएको एक अनुसन्धानले देखाएको छ ।

अमेरिकी गैर–नाफामुखी संस्था क्लाइमेट सेन्ट्रलले गरेको एक अध्ययनका अनुसार बढ्दो तापक्रमले गर्दा केही दौडमा नयाँ कीर्तिमान बन्ने सम्भावना निकै कम भएको छ ।

अध्ययनले म्याराथनमा पुरुष धावकका लागि चार डिग्री सेल्सियस र महिला धावकका लागि १० डिग्री सेल्सियसलाई उत्कृष्ट दौडने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

अध्ययनका अनुसार सन् २०४५ सम्ममा विश्वभर आयोजना हुने दुई सय २१ म्याराथनमध्ये आठ सय ६५ म्याराथनमा यस्तो उत्तम अवस्था प्राप्त हुने सम्भावना निकै कम बन्नेछ ।

हालै सम्पन्न भएका केही प्रमुख म्याराथनमा पनि उच्च तापक्रमको प्रभाव देखिएको थियो । गत सेप्टेम्बरमा बर्लिन म्याराथनमा धावकले २४ डिग्री सेल्सियस तापक्रममा दौडनु परेको थियो ।

यसैगरी, विश्वकै उत्कृष्ट दौडको सूचीमा पर्ने टोकियो म्याराथन र लन्डन म्याराथनमा पनि धावकहरूले यस्तै प्रतिकूल स्थितिको सामना गर्नु परेको थियो ।

गत मार्चमा सम्पन्न टोकियो म्याराथन र अप्रिलमा सम्पन्न लन्डन म्याराथनमा धावकहरूले २० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा दौडनु परेको थियो ।

विश्व एथलेटिक्स महासंघका अध्यक्ष सेबास्टियन कोएले धावकहरूलाई असुरक्षित अवस्थाबाट जोगाउन म्याराथनजस्ता लामो दूरीका दौडहरूलाई छुट्टै र उपयुक्त समयमा आयोजना गर्नुपर्ने अवस्था आउने सक्ने बताएका थिए ।

उनले विश्व एथलेटिक्स च्यम्पियनसिपजस्ता ठूला प्रतियोगिताको म्याराथन स्पर्धालाई पनि छुट्टै र उपयुक्त समयमा आयोजना गरिनु उचित हुने धारणा राखेका थिए ।

सन् २०२४ को लन्डन म्याराथनकी सबैभन्दा तीव्रगतिकी बेलायती महिला धावक महिरी म्याक्लेननले भनेकी थिइन्, ‘कुनै पनि धावकको प्रदर्शनलाई मौसमले प्रत्यक्ष रूपमा असर गर्छ । पछिल्लो समय उत्कृष्ट तापक्रम दुर्लभ बन्दै गएको छ । यसरी नै तापक्रम बढ्दै जाने हो भने धावकहरूका लागि कीर्तिमान भन्ने कुरा एकादेशको कथा बन्न सक्छ ।’

अर्की चर्चित धावक क्याथरिन नेदेरबा पनि म्याक्लेननको धारणामा सहमत देखिन्छिन् । उनी भन्छिन्, ‘जलवायु परिवर्तनले म्याराथनलाई नराम्ररी प्रभावित गरेको छ । धावकको शरीरमा पानीको कमी हुनु पनि यसको एउटा असर हो । अब पनि हामीले जलवायु परिवर्तनलाई संवेदनशील रुपमा लिएनौं भने निकै विलम्ब हुनेछ ।’

न्युयोर्क र बोस्टन म्याराथनका विजेता ईब्राहिम हुसेन पनि यसमा सहमत छन् । उनी भन्छन्, ‘जलवायु परिवर्तनको विषय र यसबाट खेलाडीलाई पर्न सक्ने असरको विषयलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । यदि हामीले यसलाई गम्भीर रुपमा लिएनौं भने भविष्यमा कीर्तिमानहरू बन्ने छैनन् र यसले म्याराथनको रोमाञ्चलाई कम गर्दै लैजाने छ ।’

पुरुष म्याराथनको विश्व कीर्तिमान सन् २०२३ मा शिकागोमा केल्भिन किप्टुमले राखेका थिए । महिलातर्फ भने रुथ चेपनगेतिचले सन् २०२४ मा शिकागोमा विश्व कीर्तिमान बनाएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्