०९ साउन २०८३, शनिबार

आयोजक फरार भएपछि चर्चित क्रिकेटर क्रिस गेलदेखि सकिब अल हसनसम्मको बिचल्ली !

कात्तिक १८, २०८२
काठमाडौं
आयोजक फरार भएपछि चर्चित क्रिकेटर क्रिस गेलदेखि सकिब अल हसनसम्मको बिचल्ली !

विश्व क्रिकेटमा समय-समयमा रमाइला घटना हुने गरेका छन् । यस्तै एउटा घटना भारतमा भएको छ । एउटा महत्त्वपूर्ण प्रतियोगिताको आयोजक नै हराएपछि विश्व क्रिकेटका चर्चित खेलाडीहरूको बिचल्ली भएको छ ।

खासमा, भारतमा इन्डियन हेवन प्रिमियर लिग क्रिकेट आयोजना गरिएको थियो । यो प्रतियोगिता भारतका श्रीनगरमा आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी हुन विश्व क्रिकेटका ३२ जना चर्चित क्रिकेटर श्रीनगर पुगेका थिए ।

प्रतियोगितामा वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेल पनि सहभागी थिए । उनका साथै सकिब अल हसन, थिसरा परेराजस्ता चर्चित खेलाडी पनि यो प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगिता अक्टोबर २५ तारिखदेखि शुरू भएको थियो । सहभागी खेलाडीलाई श्रीनगरको एक भव्य होटलमा राखिएको थियो । तर, प्रतियोगिता जारी रहँदा नोभेम्बर २ तारिखका दिन अचानक आयोजक श्रीनगर छाडेर फरार भएपछि खेलाडीहरू बिचल्लीमा परेका हुन् ।

होटलको पैसासमेत नतिरी आयोजक फरार भएपछि ३२ जना चर्चित खेलाडीहरूलाई होटलले बाहिर निस्कन नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रतियोगिताका आयोजकहरू कसैलाई केही खबर नगरी सुटुक्क फरार भएको समाचारमा जनाइएको छ ।

होटलमात्र होइन, आयोजकले प्रतियोगिताका क्रममा खर्च भएको कुनै पनि शीर्षकको रकम नतिरेको समाचारमा जनाइएको छ । आयोजक फरार भएपछि होटल व्यवस्थापनले कुनै पनि खेलाडीलाई बाहिर निस्कन नदिएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार प्रतियोगितामा विदेशी र घरेलु गरी ७० जना खेलाडी सहभागी छन् । प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्ने मेलिसा जुनिपरका अनुसार आयोजकहरू कसैलाई केही नभनी एकाएक फरार भएका थिए ।

होटलका एक अधिकारीका अनुसार आयोजकले १० दिन अघिदेखि होटलको एक सय ५० वटा कोठा बुक गरेका थिए । आयोजक फरार भएपछि खेलाडी र अम्पायरहरूले होटलसँग पछि आफूहरूले नै पैसा तिर्ने प्रस्ताव राखेको बताइएको छ ।

जम्नु कश्मीरको तर्फबाट घरेलु क्रिकेट खेल्ने एक खेलाडीका अनुसार प्रायोजकहरूबाट पर्याप्त रकम नउठने अवस्था देखेपछि प्रतियोगिताका आयोजकहरू फरार भएको हुन सक्छ ।

जम्मू कश्मीर खेलकुद परिषद्का एक उच्च अधिकारीका अनुसार, प्रतियोगिताका लागि आयोजकले आवश्यक सहयोग र स्थानीय प्रहरी अधिकारीहरूसँग सुरक्षाको माग पनि गरेका थिए । ‘खेलाडी र अम्पायरलाई बिचल्लीमा पारेर आयोजक फरार भएको समाचारले हामी आफै पनि आश्चर्यमा छौं,’ ती अधिकारीले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्