
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा खराब नतिजा हात पारेको नेपाल आज आफ्नो अन्तिम खेल खेल्दै छ । जारी लिगअन्तर्गत पछिल्ला तीन खेल हारेको नेपाल अन्तिम खेलमा यूएईसँग खेल्न लागेको हो ।
दुई देशबीचको खेल सदा झै बिहान सवा ११ बजेदेखि शुरू हुनेछ । गत शनिबार खेलिएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको थियो । यो शृंखलामा अमेरिकासँग नेपाली टोलीको दोस्रा पराजय थियो । यसअघि, पहिलो खेलमा पनि नेपाली टोली अमेरिकासँग एक सय ६ रनको फराकिलो अन्तरले हारेको थियो । नेपाल दोस्रो खेलमा यूएईसँग हारेको थियो ।
अमेरिकाको भने जारी शृंखलामा लगातार चार जीत हात पारिसकेको छ । अमेरिकाले सोमबार घरेलु टोली यूएईविरुद्ध २४३ रनको सानदार जीत दर्ता गरेको थियो । जीतसँगै २४ खेलमा ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित यूएई १९ खेलबाट आठ अंकका साथ पुछारमा छ ।
जारी सिजनको लिग–२ तालिकामा नेपालको अवस्था भने सन्तोषजनक छैन । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा छ । नेपालले केवल पाँच जीत र १२ हारको नतिजा निकालेको छ । नेपालको दुई खेल अनिर्णित रूपमा सकिएको छ ।
सहभागी टोलीका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।