२२ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन

नेपाली आलुको परिकार पुग्न थाल्यो अमेरिका, पहिलो लटमा ४२ टन निर्यात

कात्तिक १९, २०८२
बुटवल
नेपाली आलुको परिकार पुग्न थाल्यो अमेरिका, पहिलो लटमा ४२ टन निर्यात

रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक अमेरिका निर्यात शुरू भएको छ ।

जिल्लाको सुद्धोधन गाउँपालिकामा फस्ट च्वाइस फूड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा पहिलोपटक तेस्रो मुलुकतर्फ निर्यात थालेको हो ।

जिल्लाको सुद्धोधन गाउँपालिकामा सञ्चालित उद्योगले मंगलबार भैरहवा भन्सार कार्यालयबाट पहिलोपटक २१/२१ टनका दुईवटा कन्टेन्टर कोलकत्ता बन्दरगाह लागि छुटाएको हो ।

४२ मेट्रिकटन फ्रेन्च फ्राइज मूल्य ५८ लाख रुपैयाँ (अमेरिकी ३८ हजार ४८० डलर)मा अमेरिकी आयातकर्ता एलएलसीलाई पठाइएको हो ।   

उद्योगका सञ्चालनका कृष्ण पौडेलले आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपालमै उद्योग सञ्चालन गरेका हुन् । ती सामान रेफ्रिजेरेटरसहित वातानुकूलित अवस्थामा कोलकत्ता बन्दरगाहसम्म लगिने छ ।

कोलकत्ताबाट पानी जहाजमा फ्रेन्च फ्राइज अमेरिका पुग्नेछ । हिमाल क्रिप्ट र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज निर्यात भएको पौडेलले जानकारी दिए ।

null

पौडेलका अनुसार कोलकत्ताबाट कन्टेनरमा ५० दिनमा फ्रेन्च फ्राइज अमेरिका पुग्नेछ । अमेरिका निर्यात हुनुअघि त्यहाँको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरी निर्यातको अनुमति दिएको पौडेलको भनाइ छ । अबदेखि हरेक हप्ता अमेरिकाका लागि भैरहवा भन्सार कार्यालयबाट फ्रेन्च फ्राइज निर्यात हुनेछ ।

‘अमेरिकासँगै बेलायत लगायतका मुलुकबाट पनि अर्डर आएको छ । भारत र नेपाली बजारमा समेत खपत भइरहेकाले मागअनुसार उत्पादन पुर्‍याउन सकेका छैनौं,’ पौडेलले भने, ‘नेपालमा खपत हुने फ्रेन्च फ्राइज विदेशबाट आयात हुने गरेको थियो । अहिले ७५ प्रतिशत आयत विस्थापित भइसकेको छ । अबको एक वर्षभित्र आयत पूर्णरूपमा विस्थापित गर्ने लक्ष्य छ ।’

आफ्नो उत्पादन अमेरिकाजस्तो मुलुकमा पठाउन पाउँदा निकै खुशी लागेको पौडेलले बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादन सक्षम छ भन्ने प्रेरणा र सन्देश देशभरका उद्योगीलाई दिएको पौडेलको भनाइ छ । पौडेलसँग देशभरका ३५ हजार किसान जोडिएका छन् ।

उनीहरूलाई मल, बिउ, सिँचाइको व्यवस्था, विषादी कृषि अनुदानको योजना तथा प्राविधिक सहयोग पनि उद्योगले दिँदै आएको छ ।

दुई अर्ब लगानीमा स्थापित उद्योगले नेपालका २६ जिल्लाका किसानबाट आलु खरिद गरी प्रशोधन गरेर फ्रेन्च फ्राइज उत्पादन गरिरहेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पहिलोपटक नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात शुरू भएको र यसबाट ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त भएको बताए ।

null

देशले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा स्वदेशी कच्चा पदार्थबाट उत्पादित खाद्य वस्तु निर्यातले थोरै भए पनि व्यापार घाटा कम गराउन योगदान पुग्ने न्यौपानेको भनाइ छ ।

अमेरिकी प्रतिस्पर्धी बजारमा नयाँ नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलताका हिसाबले महत्त्वपूर्ण रहेको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले बताए ।

युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै केही महिनाभित्रै आलु टिक्की, बर्गर, प्याटी, स्माइली ह्यास बाउन लगायत परिकार उत्पादन गर्ने उद्योगको तयारी छ ।

‘हिमालय र हाम्रो फ्राइज ब्रान्डमार्फत नेपालको स्वादलाई विश्वमा पुर्‍याउन सफल भएका छौं’, पौडेलले भने, ‘अमेरिकाको एफडीएमा दर्ता भएर छोटो समयमा भारतसँगै अमेरिका निर्यात गरिरहेका छौं । अब यूएई, मलेसिया, साउदी अरब जस्ता मुलुकमा पनि निर्यात गर्ने तयारीमा छौं ।’

५ बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो र फ्राइज उत्पादन गरेर संसारकै जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पौडेलको भनाइ छ । कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोक लगायतका २६ जिल्लामा सफल परीक्षण गरी ३५ हजार किसानमार्फत आलु उत्पादन भएको छ ।

काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरि, दाङ, नेपालगञ्जजस्ता प्रमुख शहरहरूमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्तामाझ पुगेको छ ।

किसानलाई आत्मनिर्भर बनाउँदै नेपालमा नै उत्पादन भएको प्रशोधनयोग्य आलु प्राथमिकताका आधारमा खरिद गर्ने उद्योगले लक्ष्य लिएको छ ।

उद्योगले किसानबाट ४० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरेर विभिन्न परिकार बनाउने लक्ष्य लिएको छ । फस्ट च्वाइस फूड्सले फ्रेन्च फ्राइजका लागि नेदरल्यान्डबाट उन्नत जातको आलुको बिउ ल्याएर किसानलाई वितरण गरेको थियो ।

उद्योगलाई आवश्यक पर्ने आलु नेपालमै उत्पादन भएको र पूर्णरूपमा सञ्चालन गर्न नेपालमै उत्पादित आलुले पुग्ने उनले बताए । आलु उत्पादनका लागि डा. श्यामप्रसाद ढकाल पनि जोडिएका छन् । उद्योगले जर्मनी, टर्की र जापानबाट विभिन्न प्रविधि भित्र्याएको छ ।

उद्योगले वार्षिक ५ अर्बको फ्रेन्च फ्राइज उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपालमा हाल भारत, बेल्जियम र अन्य केही मुलुकबाट आलुको परिकार मात्रै वार्षिक १५ अर्बको आयात हुने गरेको तथ्यांक छ ।

फ्रेन्च फ्राइज माइनस १८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिन्छ । नेपाली बजारमा पनि माग उच्च रहेकाले खपतमा कुनै समस्या छैन । उद्योग दैनिक १० घण्टा सञ्चालन हुँदा वार्षिक ४० हजार टन आलु आवश्यक पर्छ ।

यो आवश्यकता पूरा गर्न उद्योगले आलु उत्पादनमा पनि लगानी गरेको छ । गुल्मीबाट बुटवल झरेका पौडेल बुटवलको क्वालिटी मिट शपबाट व्यवसाय शुरू गरेका थिए । डेढ दशकअघि मासु पसललाई विस्तार गर्दै मासु प्रशोधन उद्योग सञ्चालनमा ल्याए । आफ्नै उद्योगको मासुको परिकारको व्यापार गर्दा पौडेलले भारतको एक फ्रेन्च फ्राइज कम्पनीको आधिकारिक बिक्रेताको पनि अनुभव लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्