
संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली पराजित भएको छ । आफ्नो अन्तिम खेलमा बुधबार नेपाली टोली आयोजक यूएईसँग चार विकेटले पराजित भएको हो ।
यो खेलसँगै लिग–२ प्रतियोगिताको १५औं शृंखला पनि सकिएको छ । लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका लागि भने यो पाँचौं शृंखला हो । नेपालका लागि पछिल्लो शृंखला बिर्सनलायक रह्यो । नेपाली टोली आफूले खेलेको चारवटै खेलमा पराजित भयो ।
लिग–२ तालिकामा कमजोर स्थितिमा रहेको नेपालले यो शृंखलाबाट एक अंक पनि बटुल्न सकेन । नेपाली टोली शृंखलाको पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले, दोस्रो खेलमा यूएईसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
यो शृंखलाबाट अमेरिकाले सबैभन्दा बढी आठ अंक जोड्यो । यही शृंखलापछि अमेरिकी टोली फेरि तालिकाको पहिलो स्थानमा उक्लन सफल भयो । आयोजक यूएईले पनि चार अंक जोड्यो । नेपाली टोली भने अंक तालिकामा थप दबाबमा पर्यो ।
बुधबार दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३९ रनमात्र बनाउन सकेको थियो । यूएईले भने ४९.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ४३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
यो खेलमा पनि नेपाली टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष कमजोर देखियो । यूएईको जीतमा मुहम्मद सहादतले ९६ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले लामो समय क्रिजमा टिकेर एक सय २३ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए ।
मुहम्मद वसिमले पनि टोलीको जीतमा ७६ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ७३ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । यूएईले ६८ रनको कुल स्कोरमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि मुहम्मद सहादत र मुहम्मद वसिमले नै टोलीलाई जीतनजित पुर्याएका थिए । ध्रुव परासर दुई रन र जाहिद अली पाँच रनमा अविजित रहे ।
नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे । नेपाली टोलीका बलरहरुले यूएईलाई अतिरिक्त रूपमा केवल चार रन दिएका थिए ।
त्यसअघि, नेपाली टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेका थिएनन् । भीम सार्कीले टोलीका लागि सर्वाधिक ४८ रनको योगदान गरे । उनले ओपनर ब्याट्सम्यान आसिफ शेखसँग ७४ रनको साझेदारी गरे । आसिफ शेख भने ३४ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
नेपालको ओपनर जोडी फेरि पनि चल्न सकेन । ओपनर कुशल भुर्तेल दुई रनमै आउट भए । कप्तान रोहित पौडेल दुई रनमै आउट भए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३० रन थपे ।
दीपेन्द्रसिंह ऐरी ३७ रन बनाउँदै आउट भए । सातौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले टोलीलाई राहत दिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा कुशल मल्लले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ४६ रन बनाए । यसक्रममा उनले ५१ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए ।
सन्दीप लामिछाने भने १५ रनमा अविजित रहे । उनले १० बलमा दुई चौका पनि हिर्काए । ललित राजवंशीले पनि एक बलमा एक चौकाको मद्दतले चार रन बनाए । ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो चौका हिर्काएका हुन् ।
आयोजक यूएईका बलर जुनैद सिद्दकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले दुई–दुई विकेट लिए । जाहिद अलीले पनि एक/एक विकेट हात पारे । यूएईका बलरहरुले नेपाली टोलीलाई अतिरिक्त रूपमा २१ रन दिएका थिए ।
नेपाली टोलीका लागि यूएईमा सम्पन्न शृंखला बिर्सनलायक रह्यो । समग्रमा लिग–२ को दोस्रो संस्करणमै नेपाली टोलीले हालसम्म गतिलो प्रदर्शन गर्न सकेको छैन । त्यसैले आठ टोली सहभागी लिग–२ तालिकामा नेपाली टोली सातौं स्थानमा छ ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा २० खेल खेलेको नेपालले पाँच खेलमात्र जित्न सकेको छ । १३ खेलमा पराजित भएको नेपाली टोलीको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ । नेपालले हालसम्म १२ अंकमात्र बटुल्न सकेको छ ।
यूएई भने २० खेलबाट १० अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ । यूएईले पाँच जीत र १५ हारको नतिजा निकालेको छ । यूएई भ्रमणमा चारवटै खेल जित्दै आठ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ ।
अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ । अमेरिकाले हालसमम १८ जित र ६ हारको नतिजा निकालेको छ । २४ खेलबाट ३० अंक बटुलेको स्कटल्यान्ड दोस्रो र समान खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।
यसैगरी, २० खेलबाट २४ अंक हात पारेको ओमान चौथो, २४ खेलबाट २१ अंक बटुलेको क्यानडा पाँचौँ र २४ खेलबाट १९ अंक कमाएको नामिबिया छैटौँ स्थानमा आसिन छन् ।
सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् । नेपालले अर्को शृंखला सन् २०२६ को मार्चमा खेल्नेछ । उक्त शृंखलामा नेपालका अतिरिक्त ओमान र यूएईको सहभागिता रहनेछ ।
यूएईको पहिलो विकेट करण केसीले लिएका थिए । उनले यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई खाता खोल्नुअघि नै पेभेलियन फर्काए । करणले विकेटकिपर ब्याट्सम्यान आर्यान्शलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । आर्यान्श पहिलो बलमै आउट भए । पहिलो ओभरको अन्तिम बलमा उनी आउट हुँदा यूएईले केवल पाँच रन बनाएको थियो ।
यूएईको दोस्रो विकेट नन्दन यादवले लिएका थिए । उनले यूएईको कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एलिसन सराफुलाई पेभेलियन फर्काए । नन्दनले सराफुलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । आउट हुनुअघि सराफुले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाए । सातौँ ओभरको पाँचौँ बलमा सराफु आउट हुँदा यूएईले ३२ रन बनाएको थियो ।
यूएईको तेस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले चौथो नम्बरमा क्रिज समाल्न आएका यूएईका ब्याट्सम्यान सोएब खानलाई एलबीडब्लूको धरापमा पारे । सोएब खानले आउट हुनुअघि ५२ बलमा तीन चौकाको मद्दतले २९ रन बनाए । २१औं ओभरको दोस्रो बलमा सोएब खान आउट हुँदा यूएईले ६८ रन बनाएको थियो ।
यूएईको चौथो विकेट सन्दीप लामिछानेले लिए । उनले क्रिजमा जमिसकेका ब्याट्सम्यान मुहम्मद वसिमलाई बोल्ड गरे । पेभेलियन फर्किनुअघि मुहम्मद वसिमले ७६ रन बनाए । उनले ७३ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । ४४औँ ओभरको चौथो बलमा उनी आउट हुँदा यूईले दुई सय १५ रन बनाउँदै जितको अत्यन्तै नजिक पुगिसकेको थियो ।
यूएईको पाँचौँ विकेट करण केसीले लिए । उनले यूएईका प्रभावशाली ब्याट्सम्यान मुहम्मद सहादतलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । मुहम्मद सहादत केवल चार रनका कारण शतक पूरा गर्नबाट चुके ।
उनी खेलको अन्त्यतिर ९६ रन बनाउँदै आउट भए । यसक्रममा उनले एक सय २३ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । ४७औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा यूएईले दुई सय ३३ रन बनाइसकेको थियो ।
यूएईको छैटौँ विकेट पनि करण केसीले नै लिएका थिए । उनले हर्षित कौसिकलाई १३ रनका व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । हर्षितले १७ बलको सामना गरी एक छक्का पनि हिर्काए । ४९औँ ओभरको पाँचौँ बलमा उनी आउट हुँदा यूएईले दुई सय ३८ रन बनाएको थियो ।
त्यसअघि, नेपालले आफ्नो पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी दोस्रो ओभरको पाँचौँ बलमै केवल दुई रन बनाउँदै आउट भएका थिए । उनले केवल नौ बलको सामना गरे । यूएईका बलर जाहिद अलीले उनलाई विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराए । पहिलो विकेट गुमाउँदा नेपालले केवल चार रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान आसिफ शेख दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आउट हुनुअघि ३४ रन बनाए ।
उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । १८औँ ओभरको चौथो बलमा आसिफ शेख आउट हुँदा नेपालले ७८ रन बनाएको थियो । पहिलो विकेटका रूपमा कुशल भुर्तेल आउट भएपछि आसिफ शेख र भीम सार्कीले ७४ रनको साझेदारी गरेका थिए ।
नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित कुमार पौडेललाई गुमाएको थियो । उनी सात बलमा केवल दुई रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ध्रुव परासरको बलमा कप्तान एलिसन सराफुद्वारा समातिएका थिए ।
२१औँ ओभरको अन्तिम बलमा कप्तान रोहित आउट हुँदा नेपालले केवल ८७ रन बनाएको थियो । दुई रन बनाएसँगै २३ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रनको कोशेढुङ्गा भने पूरा गरे । रोहितले ७६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै यस्तो उपलब्धि हासिल गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने उनी पहिलो नेपाली ब्याट्सम्यान हुन् ।
नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो । उनी केवल दुई रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीमले भेलियन फर्किनुअघि ६८ बलमा सात चौकाको मद्दतले ४८ रन बनाए । उनलाई ध्रुव परासरले कप्तान एलिसन सराफुद्वारा नै क्याच गराएका थिए । २३औँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले ९४ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनी ३७ रन बनाउँदै आउट भए । रन आउट भई मैदानबाट बाहिरिनुअघि उनले ४३ बलमा एक छक्का र तीन चौका हिर्काए ।
३३औँ ओभरको पाँचौँ बलमा उपकप्तान दीपेन्द्र आउट हुँदा नेपालले एक सय ४३ रन बनाएको थियो । यूएईविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानहरुबीच गतिलो तालमेल देखिएको छैन । यसअघि, ओपनर आसिफ शेख पनि रन आउट नै भएका थिए । दीपेन्द्र रनआउट हुनुअघि पनि आरिफ शेख र उनीबीच गतिलो तालमेल देखिएको थिएन ।
नेपालले छैटौँ विकेटका रूपमा आरिफ शेखलाई गुमाएको थियो । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख ३० रन बनाउँदै आउट भए । उनले ५४ बलको सामना गरी दुई चौका हिर्काए । आरिफ शेखलाई जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । ४२.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८७ रन बनाएको थियो ।
नेपालले सातौँ विकेटका रूपमा करण केसीलाई गुमाएको थियो । आरिफ आउट भएलगत्तै करण केसी पनि पेभेलियन फर्किएका थिए । उनी आरिफकै ठाउँमा क्रिज समाल्न आएका थिए । उनी पहिलो बलमै पेभेलियन फर्किए । उनलाई पनि जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए ।
नेपालले आठौँ विकेटका रूपमा नन्दन यादवलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै आउट भए । उनलाई मुहम्मद जवादुल्लाहले बोल्ड गरे । ४६औँ ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले एक सय ९३ रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रूपमा कुशल मल्ललाई गुमायो । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनी ४६ रन बनाउँदै आउट भए । उनले ५१ बलमा तीन छक्का र एक चौका पनि हिर्काए । उनलाई जवादुल्लाहले बोल्ड गरे । अन्तिम ओभरको पाँचौँ बलमा उनी आउट हुँदा नेपालले दुई सय ३५ रन बनाएको थियो ।