०४ साउन २०८३, सोमबार

२०८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले जब न्युजिल्यान्डलाई अन्तिम बलसम्म पर्खायो

कात्तिक २०, २०८२
काठमाडौं
२०८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले जब न्युजिल्यान्डलाई अन्तिम बलसम्म पर्खायो

न्युजिल्यान्डले बिहीबार खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजमाथि तीन रनको जीत हासिल गरेको छ । अकल्यान्डमा खेलिएको न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको खेल निकै रोमाञ्चक बन्यो ।

ठूलो विजयी लक्ष्य पछ्याएको क्यारेबियन टोलीले खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम समयसम्म जीतका लागि संघर्ष गरेको थियो । तर, अन्तिम ओभरको अन्तिम बलमा नतिजा घरेलु टोली न्युजिल्यान्डको पोल्टामा पर्‍यो ।

न्युजिल्यान्डको जीतपछि पाँच खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ । यसअघि खेलिएको पहिलो खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई सात रनले हराएको थियो । शृंखलाको तेस्रो खेल आइतबार नेल्सनमा खेलिने छ ।

बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय सात रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्क च्यापम्यानले ७८ रनको योगदान गरे ।

चौथो नम्बरमा क्रिज समाल्न आएर प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका मार्कले केवल २८ बलको सामना गरी सात छक्का र ६ चौका हिर्काएका थिए । उनले क्यारेबियन टोलीका बलरहरूलाई असिन–पसिन पारेका थिए ।

ओपनर ब्याट्सम्यान टिम रोविन्सनले पनि ३९ रन बनाए । उनले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । ड्यारल मिचेलले अविजित २८ रन बनाए । कप्तान मिचेल सान्टनर १८ रनमा अविजित रहे । वेस्ट इन्डिजका बलर रोस्टन चेजले दुई विकेट लिए ।

ठूलो विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले टोलीको कुल स्कोर एक सय रन पुग्नुअघि नै आफ्नो ६ विकेट गुमाइसकेको थियो । सोही कारणले वेस्ट इन्डिज जीतबाट निकै टाढा पुगिसकेको थियो ।

क्यारेबियन टोलीका ओपनर ब्याट्सम्यान ब्रान्डन किङ खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए भने अर्का ओपनर एलिक अथान्ज पनि ३३ रन बनाउँदै आउट भएका थिए । कप्तान साई होप पनि २४ रनभन्दा अगाडि बढ्न सकेनन् ।

१४ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले ६ विकेट गुमाएर केवल एक सय सात रन बनाउन सकेको थियो । त्यतिबेला वेस्ट इन्डिजलाई जीतका लागि ३६ बलमा एक सय एक रन आवश्यक थियो । त्यतिबेला रोभमन पोवेल रोमारियो शेफर्ड क्रिजमा थिए ।

छैटौं नम्बरका ब्याट्सम्यान पोवेल र आठौं नम्बरमा क्रिज समाल्न आएका शेफर्डले उत्कृष्ट ब्याटिङ गरिरहेका थिए । १५ ओभरको खेल सकिँदा वेस्ट इन्डिजको स्कोर एक सय १७ रन पुगेको थियो । त्यतिबेला वेस्ट इन्डिजलाई जीतका लागि ३० बलमा ९१ रन आवश्यक थियो ।

१६औं ओभरको खेलमा पोवेल र शेफर्डले बाउन्ड्रीको वर्षा गर्दै तीन छक्का र एक चौका हिर्काए । त्यो ओभरमा क्यारेबियन ब्याट्सम्यानले २४ रन लिए । त्यसपछि १६ ओभरको खेल सकिँदा वेस्ट इन्डिजको स्कोर ६ विकेटको नोक्सानीमा एक सय ४१ रन पुगेको थियो । त्यसपछि वेस्ट इन्डिजलाई जीतका लागि २४ बलमा ६७ रन आवश्यक थियो ।

१७औं ओभरको खेलमा पनि वेस्ट इन्डिजले दुई छक्काको मद्दतले १५ रन बटुल्यो । तर, यो ओभरमा वेस्ट इन्डिजले शेफर्डलाई गुमायो । उनी केवल १६ बलमा चार छक्का र एक चौकाको मद्दतले ३४ रन बनाउँदै आउट भए । वेस्ट इन्डिजले गुमाएको यो सातौं विकेट थियो ।

त्यसपछि वेस्ट इन्डिजले जीतका लागि १८ बलमा ५२ रन बनाउनुपर्ने भयो । १८औं ओभरमा पनि क्यारेबियन ब्याट्सम्यान पोवेल र म्याथ्यू फोर्डले कमाल गरे । उनीहरूले तीन छक्का प्रहार गर्दै १८औं ओभरमा कुल २२ रन बटुले ।

१८औं ओभरको खेल सकिँदा वेस्ट इन्डिजको स्कोर एक सय ७८ रन पुगिसकेको थियो । त्यसपछि वेस्ट इन्डिजलाई जीतका लागि १२ बलमा ३० रन आवश्यक थियो । वास्तवमै खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो र दर्शकहरू पनि भरपुर मजा लिइरहेका थिए ।

१९औं ओभरमा क्यारेबियन ब्याट्सम्यानले एक छक्का र एक चौकाको मद्दतले थप १४ रन बटुले । त्यसपछि वेस्ट इन्डिजको स्कोर एक सय ९२ रन पुग्यो । अब अन्तिम ६ बलमा वेस्ट इन्डिजलाई जीतका लागि १६ रन आवश्यक थियो ।

अन्तिम ओभरमा न्युजिल्यान्डका कायल जामिसन बलिङ गर्न आएका थिए । अन्तिम ओभरको पहिलो बलमा फोर्डले चौका प्रहार गरे । दोस्रो बलमा फोर्डले रन लिन सकेनन् । जामिसनले फालेको तेस्रो बल ‘नो बल’ घोषित भयो । त्यो बलमा फोर्डले चौका प्रहार गरेपछि पाँच रन आयो ।

त्यसपछि ‘फ्रि हिट’ मा फोर्डले एक रनमात्र लिन सके । यसरी, अन्तिम तीन बल बाँकी रहँदा वेस्ट इन्डिजलाई जीतका लागि केवल ६ रन आवश्यक थियो । दूर्भाग्य, चौथो बलमा वेस्ट इन्डिजले विकेट गुमायो । पोवेल आठौं विकेटका रूपमा पेभेलियन फर्किए ।

आउट हुनुअघि उनले केवल १६ बलमा ६ छक्का र एक चौकाको मद्दतले ४५ रन बनाएका थिए । त्यसपछि अन्तिम दुई बलमा वेस्ट इन्डिजलाई जीतका लागि ६ रन आवश्यक थियो । पाँचौं बलमा अकिल होसैनले एक रन मात्र लिन सके ।

त्यसपछि, अन्तिम बलमा वेस्ट इन्डिजलाई जीतका लागि पाँच रन चाहिएको थियो । चार रनमात्र बनाए पनि खेल बराबरी हुन्थ्यो र ‘सुपर ओभर’मा जान्थ्यो । तर, अन्तिम बलमा फोर्डले एक रन मात्र लिन सके । यसरी अन्तत: खेलमा न्युजिल्यान्ड तीन रनले विजयी भयो । वास्तवमै यो निकै रोमाञ्चक खेल थियो ।

salt training

कमेन्ट गर्नुहोस्