
जेनजी आन्दोलन भएको दुई महिना बितिसक्दा पनि कोशी प्रदेश सरकारको अवस्था सामान्य हुन सकेको छैन । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको पुनर्निर्माणको कामले गति लिन सकेको छैन भने प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अझै पनि कडा सुरक्षा घेरामा बसिरहेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आफ्नो सरकारी निवासमा आगजनी भएपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानीको अतिथि गृहलाई अस्थायी आश्रयस्थल बनाएका छन् ।
आन्दोलनमा भएको विध्वंश र आगजनीपछि करिब एक साता सम्पर्कविहीन बनेका मुख्यमन्त्री कार्की त्यसयता निरन्तर सुरक्षाकर्मीको घेराभित्र नै छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले मुख्यमन्त्री कहिलेकाहीँ प्रहरीको अतिथि गृहमा आएर बस्ने गरेको बताए । ‘कहिलेकाहीँ यतै आएर बस्नुहुन्छ,’ उनले भने, ‘नियमित चाहिँ आउनुभएको छैन ।’ यद्यपि, उनी विराटनगरमा हुँदा प्रहरी कार्यालय परिसरभित्रै बस्ने गरेका छन् ।
भदौ २४ गते आन्दोलनकारीले निवासको गेटमै पुगेर तोडफोड गर्न थालेपछि मुख्यमन्त्री कार्की आफ्नो झण्डावाल गाडी छाडेर वैकल्पिक बाटोबाट बाहिरिन बाध्य भएका थिए । मुख्यमन्त्री कार्यालयकै कर्मचारीहरूका अनुसार, उनका पीएसओले उनलाई वैकल्पिक गेटबाट बाहिर निकालेका थिए । सरकारी गाडीमा असुरक्षा हुने भएपछि उनी टेम्पो चढेर रानीस्थित प्रदेश प्रहरी कार्यालय पुगेका थिए ।
घटना भएको लामो समय बितिसक्दा पनि पुनर्निर्माणको काम शुरू भएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले मुख्यमन्त्रीको आवास आंशिक क्षति भएको र मर्मतपछि पुन: सञ्चालन गर्न सकिने प्रतिवेदन तयार पारेको छ । मन्त्रालयका सचिव मिलन आचार्यले मुख्यमन्त्रीकै निर्देशनमा मन्त्रालयको भवन, मुख्यमन्त्रीको कार्यालय र आवास मर्मतको काम शुरू गर्न थालिएको बताए । ‘मुख्यमन्त्रीज्यूकै निर्देशनमा हामीले काम गर्न थालेका छौं, अब अन्य मन्त्रालयको काम पनि अगाडि बढ्छ,’ उनले भने । तर, मुख्यमन्त्री कार्यालयको जिन्सी शाखाका कर्मचारी किरण ढकालले आवासका लागि सामग्री किन्न भनेर सचिवालयले कुनै माग नगरेको बताए ।

मुख्यमन्त्री कार्की प्रहरीको सुरक्षामा रहँदा अन्य मन्त्रीहरू भने सरकारी निवासमै बसिरहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की आफ्नै आवासमा छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारी पहिलेदेखि नै घरबाटै आउजाउ गर्छन् । उनको घर इटहरी हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई भने जेनजी आन्दोलनपछि मन्त्रालय नजिकै रहेको सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा सरेका छन् । विडम्बना, मुख्यमन्त्रीको जलाइएको आवास पनि सोही सिँचाइ आयोजनामै छ ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले मर्मत गरेर आवास बनाएका थिए । राईभन्दा अगाडि मुख्यमन्त्रीहरू भने मुख्यमन्त्रीको सपथलगतै राष्ट्र बैकको गेष्टरूपममा बस्ने गरेका थिए ।
प्रदेशका प्रमुख कार्यकारी नै प्रहरी कार्यालयमा बस्नुपर्ने अवस्था र पुनर्निर्माणको सुस्तताले प्रदेश सरकारको कार्यसम्पादन र शान्ति सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ ।