०४ साउन २०८३, सोमबार
नेपाल प्रिमियर लिग

चितवनको सुखद शुरूआत, बोपराको अर्धशतकसँगै कर्णालीलाई हरायो

मंसिर २, २०८२
काठमाडौं
चितवनको सुखद शुरूआत, बोपराको अर्धशतकसँगै कर्णालीलाई हरायो

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सुखद शुरूआत गरेको छ । चितवन राइनोजले मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको हो ।​

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । चितवन राइनोजले १९.१ ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।​

चितवन राइनोजको जितमा रवी बोपराले अर्धशतकीय योगदान गरे । उनले ५२ रन बनाए । यसक्रममा उनले ३६ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । एनपीएलको दोस्रो संस्करणमा अर्धशतक बनाउने उनी तेस्रो खेलाडी हुन् ।

टोलीको कुल स्कोर ३० रन पुग्नुअघि नै चितवनले दुई विकेट गुमाएको थियो । ओपनर दीपक बोहराले पनि टोलीका लागि ४२ रनको योगदान गरे । उनले ३६ बलमा एक छक्का र ६ चौका पनि हिर्काए ।

अर्का ओपनर डेविड मलान ६ र तेस्रो नम्बरमा क्रिज समाल्न आएका देव खनाल दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान कुशल मल्लले पनि टोलीको खातामा २० रन थपे । उनले १५ बलमा दुई छक्का पनि प्रहार गरे ।

छैटौं नम्बरमा क्रिज सम्हाल्न आएका सेफ जेबले पनि टोलीका लागि ३८ रनको योगदान गरे । उनले केवल १६ बलको सामना गरी चार छक्का र दुई चौका हिर्काए । अर्जुन साउद आठ र सोहेल तनविर शून्य रनमा अविजित रहे ।

चितवनले अतिरिक्त रूपमा तीन रन पायो । कर्णाली याक्सका बलर सोमपाल कामीले दुई विकेट लिए । उनले चार ओभरमा ३३ रन खर्चिए । युनिस सिंह, युवराज खत्री र मार्क वाटले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, कर्णाली याक्सका लागि ओपनर ब्याट्सम्यान प्रियांक पन्चालले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनी केवल १० रनका कारण शतक पूरा गर्नबाट चुके ।

भारतीय खेलाडी प्रियांकले टोलीका लागि ९० रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४८ बलको सामना गरी ६ छक्का र सात चौका हिर्काए ।

प्रियांकले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । उनी दोस्रो संस्करणमा अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् ।

दोस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी भने जनकपुर बोल्ट्सका आसिफ शेख हुन् । उनले सोमबार खेलिएको काठमान्डु गोर्खाजविरुद्धको उद्घाटन खेलमा अर्धशतक बनाएका थिए ।

चितवनविरुद्धको खेलमा कर्णालीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डड भने २० रन बनाउँदै आउट भएका थिए । उनले ३० बलमा एक चौका पनि प्रहार गरे ।

कर्णाली याक्सका लागि दुवै ओपनर ब्याट्सम्यानले ६१ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क वाट २१ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै आउट भए ।

पवन सर्राफ २७ र नजिबुल्लाह जदरान चार रनमा अविजित रहे । पवनले केवल १६ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए ।

कर्णालीले अतिरिक्त रूपमा नौ रन पायो । चितवन राइनोजका बलर सोहेल तनविर, सेन जेब र रवी बोपराले एक–एक विकेट लिए ।

मंगलबारको दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच खेलिने छ । विराटनगर र पोखराबीचको खेल दिउँसो ४ बजे शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्