
वेस्ट इन्डिजका कप्तान साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा महान खेलाडी ब्रायन लाराको एउटा कीर्तिमान तोडेका छन् । होपले नापियरमा बुधबार जारी घरेलु टोली न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा लाराको कीर्तिमान तोडेका हुन् ।
साई होप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी बनेका हुन् । न्युजिल्यान्डविरुद्धको दोस्रो एकदिवसीयमा उनले अविजित एक सय नौ रन बनाए ।
यो उपलब्धिसँगै उनले लाराको कीर्तिमानलाई पछि पारेका हुन् । एकदिवसीय क्रिकेटमा कप्तानको भूमिकामा साई होपले प्रहार गरेको यो छैटौं शतक हो । लाराले भने कप्तानको भूमिकामा वेस्ट इन्डिजका लागि पाँचवटा शतक प्रहार गरेका थिए ।
यसका अतिरिक्त, ३२ वर्षीय साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ हजार रनको कोशेढुङ्गा पनि पार गरेका छन् ।
उनले एक सय ४२ पाली खेल्दै ६ हजार रन पूरा गरेका हुन् । महान क्रिकेटर सर भीभ रिचर्डसले पनि एक सय ४१ पालीमा ६ हजार रन पूरा गरेका थिए ।
बुधबार जारी खेलमा साई होपले केवल ६९ बलमा चार छक्का र १३ चौका प्रहार गरे । समग्रमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेको यो १९औं शतक हो । होपको नाममा अर्को एउटा कीर्तिमान पनि छ ।
उनी आईसीसीबाट टेस्ट मान्यता पाएका सबै राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन् ।