०५ साउन २०८३, मंगलबार

सिमरा शान्त बन्न नसकिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक

मंसिर ४, २०८२
काठमाडौं
सिमरा शान्त बन्न नसकिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक

बाराको सिमरा २ दिनदेखि तनावग्रस्त बनेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो करिब सावा ३ बजेदेखि बैठक बसिरहेको हो ।

बैठकमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक सिग्देल लगायत सहभागी छन् ।

बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाने कार्यक्रमका कारण तनाव उत्पन्न भएको थियो ।

जेनजीको नाममा एक समूहले पोखरेल र बस्नेतविरुद्ध विमानस्थलबाहिर नाराबाजी गरेको थियो ।

त्यसक्रममा एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएको थियो । त्यसका कारण स्थानीय प्रशासनले कर्फ्यु समेत लगाउनुपरेको थियो ।

तनाव बिहीबार पनि जारी छ । जेनजी समूहले विरोध प्रदर्शन जारी राखेपछि प्रहरीसँग झडपको स्थिति समेत उत्पन्न भएको छ ।

प्रशासनले बिहीबार पनि सिमरामा कर्फ्यु लगाएको छ ।

सोही कारण पनि प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएकी हुन् । बैठकमा सिमरा घटना, शान्ति सुरक्षाको अवस्था लगायत विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य हुन्छन् । रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।


 

salt training

कमेन्ट गर्नुहोस्