
हाप्सा नेपालले दरबार हाईस्कूल काठमाडौंमा शिक्षक तथा विद्यार्थीलाई प्रशिक्षण स्वरूप पहिलोपटक सीपीआर र चोकिङ प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ ।
हाप्सा नेपालद्वारा दरबार हाईस्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको मोबाइल एपको औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा हातले मात्र दिइने सीपीआर र चोकिङ तालिम सम्पन्न गरिएको छ ।
यसले नेपालका विद्यालय र समुदायमा आपतकालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण माइलस्टोन स्थापित गर्ने लक्ष्य लिएको छ ।
हाप्सा नेपालद्वारा, ‘सडक साथी’ नामको संस्थाको प्राविधिक सहयोगमा विकसित यस CERT एपले नेपाली भाषामा आपतकालीन र चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरू प्रदान गर्नेछ ।
यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिँदाको प्राथमिक उपचार (चोकिङ), रक्तश्राव नियन्त्रण, जलन, फ्र्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट ) तथा अन्य आपतकालीन अवस्थामा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ ।
साथै, यी सबै भिडियोहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले मूलरूपमा निर्माण गरेका हुन् । सामग्री विशेषज्ञता हाप्सा नेपालका संस्थापक डा. रामु खरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूले उपलब्ध गराएका हुन् ।
हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी अनुवाद र अनुकूलन गरेको हो । हाप्सा नेपाल ग्रामिण नेपालमा समान पहुँचयुक्त आपतकालीन हेरचाह सुदृढ गर्ने उद्देश्यले कार्यरत एक गैरनाफामूलक संस्था हो ।
हाप्साले समुदायमा कार्यरत पहिलो प्रतिक्रियादाताहरूलाई जीवनरक्षक सीप प्रदान गर्ने, प्रि–हस्पिटल प्रणाली सुधार गर्ने तथा समुदाय–केन्द्रित विपद् तयारी र राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आपतकालीन अवस्थामा समुदायका मानिसले छिटो र आत्मविश्वासपूर्वक कार्य गर्न सक्ने क्षमता विकास गर्नु नेपालका लागि सुरक्षा सञ्जाल निर्माण गर्ने महत्त्वपूर्ण आधार हो । हाप्साले २०१३ सालदेखि समुदायकेन्द्रित स्वास्थ्य कार्यक्रम अगाडि बढाइरहेको छ ।
‘हाम्रो दीर्घकालीन लक्ष्य भनेको जीवनरक्षक सीपहरू राष्ट्रिय पाठ्यक्रममै समावेश गरी प्रत्येक नेपाली विद्यार्थीलाई आपतकालीन अवस्थामा प्रतिक्रिया दिन सक्षम बनाउने हो’, हाप्सा नेपालका संस्थापक तथा अमेरिकाको ब्राउन विश्वविद्यालयका आपतकालीन चिकित्सा विभागका सहायक प्राध्यापक डा. रामु खरेल भन्छन् ।
एप उद्घाटन कार्यक्रमपछि ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सीपीआर र चोकिङ प्राथमिक उपचार सत्रमा सहभागिता जनाए ।