
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले समस्यामा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्ने भएको छ ।
अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा खान र बस्न नपाएर अलपत्र परेका नेपालीहरूका लागि आफ्नै व्यक्तिगत लगानीमा 'सेल्टर' (आश्रयस्थल) को व्यवस्था सुरु गरिएको बताए ।
यूएईमा रोजगारी गुमाएर वा विभिन्न कारणले समस्यामा परी खान र बस्न नपाएर सडकमा सुत्नुपर्ने बाध्यतामा रहेका पीडित नेपालीहरूको पीडालाई मध्यनजर गर्दै आफूले यो कार्यको थालनी गरेको उनले बताए । उनले आफ्नो कार्यकालभरि नै स्वयमको व्यक्तिगत खर्चमा पीडितहरूलाई खाना र बस्नका लागि सेल्टर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष मल्लले आफ्नो नेतृत्वको पहिलो काम नै आपतमा परेका नेपालीहरूको उद्धार र सहयोगबाट सुरु गरेको बताए ।
यसअघि एनआरएनए यूएईको उपाध्यक्ष रहेका मल्ललाई हालै सम्पन्न बैठकले अध्यक्षमा चयन गरेको थियो ।