
ऐतिहासिक एसेस शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो दिन शुक्रबार दुवै टोलीको गरेर कुल १९ विकेट खसेको छ ।
पहिलो दिनको खेल समाप्त हुँदासम्म जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पनि आफ्नो नौ विकेट गुमाइसकेको छ । पर्थमा जारी खेलमा अस्ट्रेलियाले एक सय २३ रनमात्र बनाउन सकेको छ ।
अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले सर्वाधिक २६ रन बनाए । क्यामरोन ग्रिन २४ रन बनाउँदै आउट भए ।
भ्रमणकारी टोली इङ्ल्यान्डका बलर बेन स्टोक्स एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल २३ रन खर्चिए । जोफ्रा आर्चर र ब्राइडन कार्सले पनि दुई/दुई विकेट हात पारे ।
त्यसअघि, टस जितेर ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली इङ्ल्यान्ड पनि पहिलो पालीमा केवल एक सय ७२ रन बनाउँदै अलआउट भएको थियो ।
इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले अर्धशतक बनाए । उनले ६१ बलमा एक छक्का र पाँच चौका हिर्काए । अन्य ब्याट्सम्याको प्रदर्शन भने निराशाजनक रह्यो ।
टोलीको कुल स्कोर केवल ३९ रन रहँदा इङ्ल्यान्डले तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । ओपनर ज्याक क्रावली खाता खोल्नुअघि नै आउट भएका थिए ।
अर्का ओपनर बेन डकेट पनि २१ रनभन्दा अगाडि बढ्न सकेनन् । ओली पप चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । उनी ५८ बलमा चार चौकाको मद्दतले ४६ रन बनाउँदै आउट भए ।
अनुभवी ब्याट्सम्यान जो रुटले खातासम्म खोल्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले टोलीको खातामा ३३ रन थपे । उनले २२ बलमा ६ चौका प्रहार गरे ।
गस एटकिन्सन एक र ब्रायडन कार्स ६ रन बनाउँदै आउट भए । इङ्ल्यान्डको ब्याट्सम्यानहरुका लागि घरेलु टोलीका बलर मिचेल स्टार्क घातक बने । उनी एक्लैले सात विकेट लिए ।
स्टार्कले १२.५ ओभरमा चार मेडन राख्दै केवल ५८ रन खर्चिए । ब्रेन्डन डोगेटले पनि दुई विकेट हात पारे । क्यामरोन ग्रिनले पनि एक विकेट कुम्ल्याए ।