१० साउन २०८३, आइतबार
नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

मंसिर ५, २०८२
काठमाडौं
सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई​​ १८ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै १७५ रन बनायो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । 

यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोस ब्राउनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । यस क्रममा उनले केवल ३५ बलको सामना गरी पाँच छक्का र ६ चौका पनि हिर्काए ।

जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि, काठमाण्डू गोर्खाजविरुद्ध सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।

पोखराविरुद्ध अर्का ओपनर विनोद भण्डारीले पनि ४३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ४२ बलमा ६ चौका हिर्काए ।

दुवै ओपनरले टोलीलाई उत्कृष्ट शुरूआत दिँदै १ सय आठ रनको साझेदारी गरेका थिए । ११औं ओभरको चौथो बलमा ब्राउन आउट भएपछि यी दुईबीचको साझेदारी तोडिएको थियो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिनले पनि टोलीका लागि ३१ रनको योगदान गरे । अनुभवी ब्याट्सम्यान लिनले आक्रामक ब्याटिङ गर्दै केवल १३ बलमा दुई छक्का र चार चौका हिर्काए ।

कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले १० बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

हरमित सिंहले ६ बलमा चार रन बटुले । स्कट कुग्गेलेइजनले ६ बलमा आठ रन जोडे । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रुपमा १४ रन पायो ।

पोखरा एभेन्जर्सका बलर जेम्स निसमले तीन विकेट लिए । डान डाउथवेटले दुई/दुई विकेट हात पारे । आकाश चन्दले पनि दुई विकेट कुम्ल्याए ।

दोस्रो सिजनको एनपीएलमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको थियो भने पोखरा पराजित ।

सुदूरपश्चिम साबिक उप–विजेता पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्