१० साउन २०८३, आइतबार
नेपाल प्रिमियर लिग

विराटनगरको लगातार दोस्रो जित, काठमाण्डू स्तब्ध

मंसिर ६, २०८२
काठमाडौं
विराटनगरको लगातार दोस्रो जित, काठमाण्डू स्तब्ध

​नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले जित हात पारेको छ ।​

​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डू गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । 

विराटनगरका लागि जर्ज मुन्सेले सर्वाधिक ३६ रन बनाए ।

यस्तै मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, ​बसिर अहमदले १९ र लोकेश बमले १४ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।

काठमाडौंका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए । उनले ३३ बलमा दुई छक्का र एक चौका प्रहार गरे ।

अर्का ओपनर आकाश त्रिपाठी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । टोलीको कुल स्कोर केवल २९ रन रहँदा काठमाण्डूले चार विकेट गुमाइसकेको थियो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका रिकार्डो भास्कोन्सेलोस चार बलमा केवल तीन रन बनाउँदै आउट भए । चौथो नम्बरका ब्याट्सम्यान प्रतीक श्रेष्ठ पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

अनुभवी खेलाडी जेरहार्ड एरास्मस पनि १८ बलमा एक चौकाको मद्दतले केवल १० रन बनाउँदै आउट भए । छैटौं नम्बरमा क्रिज समाल्न आएका सन्तोष यादवले २६ रन बनाए ।

सन्तोषले २४ बलमा एक छक्का पनि हिर्काए । सातौं नम्बरका ब्याट्सम्यान मोहम्मद आदिल आलमले आक्रामक पाली खेले । उनले टोलीका लागि अविजित ४८ रनको महत्वपूर्ण योगदान गरे ।

उनले केवल २५ बलमा दुई छक्का र चार चौका प्रहार गरे । काठमाण्डूले अतिरिक्त ६ रन पायो ।

विराटनगरका बलर मर्चेन्ट डे लाङ्गेले दुई विकेट लिए । शुभम रन्जने, सूर्य तामाङ र सन्दीप लामिछानेले पनि एक/एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्