
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले दोस्रो जित हात पारेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डूले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।
जितसँगै काठमाण्डू ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डू सुदूरपश्चिम रोयल्स र विराटनगर किंङ्ससँग लगातार पराजित भएको थियो ।
लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
काठमाण्डूले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा १३५ रन बनाउँदै अलआउट भयो ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए । काठमाण्डूका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई/दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो ।
काठमाण्डूका लागि कप्तान करण केसीले कमालको प्रदर्शन गरे । नवौं नम्बरमा क्रिज सम्हाल्न आएका करणले आक्रामक पाली खेल्दै अविजित ३४ रनको योगदान गरे ।
करणले केवल ११ बलमा चार छक्का र एक चौका प्रहार गरे । करणले रुवेन ट्रम्पलम्यानको एउटै ओभरमा ३१ रन लिएका थिए । १९ औं ओभरमा उनले चारवटा छक्का प्रहार गरे ।
ओपनर ब्याट्सम्यान आकाश त्रिपाठीले पनि टोलीका लागि ३२ रनको योगदान गरे । उनले ३६ बलमा तीन चौका पनि प्रहार गरे ।
सन्तोष यादवले टोलीको खातामा २६ रन थपे । उनले केवल १६ बलमा दुई छक्का प्रहार गरे । जेरहार्ड एरास्मसले १५ बलमा दुई चौकाको मद्दतले १७ रन जोडे ।
मिलिन्द कुमारले पनि २० बलमा एक चौकाको मद्दतले १७ रन बनाए । रासिद खान १० बलमा दुई चौकाको मद्दतले १४ रन बनाउँदै पेभेलियन फर्किए ।
लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुलबदिन नाइबले दुई–दुई विकेट लिए ।