
भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइटक्लबमा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
विस्फोटपछि भीषण आगलागी भएको र त्यसमा परेर उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गोवा प्रहरी प्रमुख आलोककुमारका अनुसार हालसम्म २३ वटा शव फेला परेका छन् । मृतक सबै नाइटक्लबका कर्मचारी रहेको आलोककुमारले बताए ।
घटनाबारे जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय सांसद माइकल लोबो घटनास्थलमा पुगेका थिए ।
घटनामा पर्यटक समेत परेको आशंका गरिएको छ । यद्यपि, विस्तृत विवरण आउन बाँकी छ ।
प्रारम्भिक अनुसन्धान अनुसार नाइटक्लबले अग्नि सुरक्षा नियमहरूको पालना नगरेको पाइएको छ । मुख्यमन्त्री सावन्तले सुरक्षाका नियम बेवास्ता गर्ने क्लब प्रशासन तथा सम्बन्धित अधिकारीमाथि कारबाही हुने चेतावनी दिएका छन् ।
प्रहरीका अनुसार यो क्लब राजधानी पानाजीबाट करिब २५ किलोमिटर टाढा रहेको छ र गत वर्षमात्र सञ्चालनमा आएको हो । घटनास्थलमा दमकल र प्रहरी टोलीले रातभर उद्धार र नियन्त्रणको काम गरेका थिए ।