माधवकुमार नेपाल तथा झलनाथ खनालहरूको बहिर्गमनपछि गुटविहीन बनेको नेकपा एमालेमा फेरि एकपटक गुटको अभ्यास शुरू भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको 'ब्याकअप'मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरू पार्टीको आसन्न ११औं महाधिवेशनमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
१९ असार २०७१ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एमालेको ९ औं महाधिवेशन भएको थियो । सो महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भए । माधव नेपालले उक्त महाधिवेशनमा पराजय भोग्नुपर्यो ।
ओली अध्यक्षमा निर्वाचित भएपश्चात पार्टीमा उनको बलियो पकड स्थापित हुन पुग्यो । पार्टी विभाजन अघिसम्म गुटगत प्रतिस्पर्धा कायम रहे पनि त्यसपछि भने ओली थप बलियो बने ।
२०७८ मंसिर १० देखि १३ सम्म चितवनमा सम्पन्न १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावल अहिले नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन् । नेतृत्वको चहानाविपरीत उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल पनि एमालेमा छैनन् ।
सोही उदाहरण दिँदै इतर खेमाका नेताहरू पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको गुनासो गर्छन् । सोही कारण पनि उनीहरू प्यानलसहित चुनाव लडेर नेतृत्वमाथि दबाब बढाउने रणनीतिमा देखिन्छन् ।
उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा आन्तरिक लोकतन्त्र नभएको, आलोचनाको संस्कार समाप्त भइसकेको भन्दै एमालेको दस्तावेजमा सामूहिक नेतृत्वको कुरा उल्लेख भए पनि व्यवहारमा लागू नभएको गुनासो गरे ।
‘नीतिप्रधान दस्तावेजमा मात्र भयो, पार्टीमा भएन, त्यसैले नेता फेर्न चाहेका हौं’, ज्ञवालीले भने, ‘हामी आलोचना र आत्मालोचनासहित अघि बढ्ने पार्टी बनाउन चाहन्छौं र त्यसैले नयाँ नेतृत्वमा जान चाहन्छौं ।’
विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, केन्द्रीय समिति र सचिवालय बैठक राख्ने तथा आफ्ना कुरा मात्र लादेर पठाउने गरेको आरोप असन्तुष्ट नेताहरूको छ । '१० औं महाधिवेशनपश्चात २ पटक स्थायी कमिटी बैठक बस्यो । एकपटक परिचय कार्यक्रम भयो सकियो,’ स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘दोस्रोपटक बैठक बस्दा अध्यक्षले बोलेपश्चात् खाजा खान जाऊँ भनियो । मैले बोल्न र छलफल गर्न पाउनुपर्छ भनेर कुरा राखेपश्चात् तीन मिनेट दिइयो।’
पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा सबैभन्दा बढी युवा पुस्तामा त्यसको असर परेको र एमालेप्रति युवा आकर्षण घटेको गुनासो पार्टीका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरे । ‘पार्टीलाई व्यक्तिवादी बनाउँदै लगेपश्चात् जनतामाझ एमाले खुम्चिन थालेको छ । युवा पुस्तामा पनि निराशा छाएको छ,’ पाण्डेले भने ।
कस्तो बन्दैछ ईश्वर पोखरेलको टीम?
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएर काठमाडौंको भृकुटीमण्डपमा मंसिर २९ सम्म बन्दशत्र हुने महाधिवेशनमा प्यानलसहित नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने तयारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।
यो समूहमा उपाध्यक्षत्रय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेता छन् । अध्यक्षमा ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तय भए पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा को-को लड्छन् भन्ने तय भएको छैन । पुराना पदाधिकारीबाहेक नेताहरू कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाल लगायत पनि कुन पदका लागि प्रतिस्पर्धा गर्छन् भन्ने तय हुन सकेको छैन ।
‘तत्काल को कुन पदमा लड्ने भन्ने भइसकेको छैन । तर, हामी विवादरहित ढंगले को कुन पदमा लड्ने भनेर मिलाउँछौं,’ उपाध्यक्ष पाण्डेले भने ।
यो समूहले सोमबार राजधानीमा अन्तरसंवाद कार्यक्रम राखेको थियो । ईश्वर पोखरेल अनुपस्थित भए पनि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, कर्ण थापा लगायत नेताहरू उपस्थित भएका थिए ।
सोमबार नै ईश्वर पोखरेलसहितका नेताले पार्टी महासचिव शंकर पोखरेललाई आफ्नो समूहको अवधारणा पत्र बुझाएका छन् । अध्यक्षलाई बुझाउने तयारी भए पनि सम्भव नभएको भन्दै नेताहरूले महासचिवलाई भेटेर अवधारणापत्र बुझाएका थिए ।
के छ पोखरेल समूहको अवधारणा पत्रमा?
- वर्तमान पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको, आठौं र नवौं महाविधेशनमार्फत अभ्यास गरिएको अवधारणालाई केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनुपर्दछ। जसअन्तर्गत पार्टीका पदाधिकारीहरूमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुन:स्थापित गरिनुपर्दछ ।
- व्यक्तिको योग्यताअनुसार जिम्मेवारी, जिम्मेवारीअनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ ।
- संसदीय फाँटका उम्मेद्वारको छनोटमा पार्टी सदस्य र आमनागरिकको अभिमतलाई आधार मान्नुपर्दछ ।
- समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरूमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिवद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट तथा पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनुपर्दछ ।
- पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्दछ ।
- प्रवासी नेपाली मञ्चलाई सम्बन्धित देशमा रहेका नेपालीको प्रभावकारी संगठनको रूपमा स्थापित गरिनुपर्दछ । पूँजी, प्रविधि र सीप हस्तान्तरण तथा अवैतनिक प्रतिनिधिका रूपमा काम गर्नेगरी प्रवासी नेपाली मञ्चको गरिमा अभिवृद्धि गरिनुपर्छ ।
- राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्त जस्तै पार्टीमा जबजको मान्यताअनुरूप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गरिनु पर्छ। त्यसका लागि विधानमा स्पष्ट व्यवस्था गर्नुपर्दछ ।
- पार्टीका केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जवाफदेही हुनेगरी स्वात्तता प्रदान गर्नुपर्दछ । तीनै निकायको संरचना प्रादेशिक तहमा समेत प्रदेश अधिवेशनमार्फत् निर्वाचित गर्नुपर्दछ । ती निकायले गरेका सिफारिसहरू पार्टीका सम्बन्धित कमिटीहरूले कार्यान्वयन गर्नुपर्दछ ।
- आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाटमुक्त गरिनुपर्दछ। प्रतिस्पर्धाको परिणामलाई सबैले स्वीकार गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनुपर्दछ। कमरेडेली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनुपर्दछ ।
- निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्दछ ।
- पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्दछ ।
- 'नीतिमा आबद्धता: संगठनमा स्वायत्तता' को नीतिअनुरूप जनसंगठनलाई परिचालित गरिनुपर्दछ । जनसंगठनलाई वर्गीय, सामुदायिक तथा पेशागत क्षेत्रको नेतृत्वदायी संगठनको रूपमा स्थापित गर्नुपर्दछ । स्वच्छ र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व निर्वाचनको प्रक्रिया अवलम्बन गरिनुपर्दछ । पार्टी नेताहरूको स्वार्थ र गुटबन्दीबाट जनसंगठनहरूलाई मुक्त गर्दै सम्बन्धित क्षेत्रमा योग्य पार्टी कार्यकर्ताको निर्माण तथा जनसम्बन्ध विस्तारमा परिचालित गर्नुपर्दछ ।
- निर्वाचनमा अन्तरघात गर्ने, पार्टी अनुशासन उल्लघंन गर्ने, राज्यका कानूनबाट दण्डित हुने प्रकृतिका घटनामा संग्लन नेता-कार्यकर्तामाथि कारबाही गरिनुपर्दछ। निर्णयउपर पुनरावेदन गर्ने व्यवस्था मिलाइनुपर्दछ।
- पार्टीको लेखा प्रणालीलाई पारदर्शी बनाइनुपर्दछ। आर्थिक अनुशासनलाई उच्च महत्त्व दिइनुपर्दछ। लेखापरीक्षण प्रतिवेदन वार्षिक रूपमा सार्वजनिक गरिनुपर्दछ।
- सल्लाहकार समितिबाट नियमितरूपमा सुझाव सल्लाह लिने व्यवस्था गरिनुपर्दछ ।
- 'थिङ्क ट्याङ्क'मार्फत नियमित रूपमा विचार तथा सुझावहरू प्राप्त गर्ने संयन्त्र स्थापना गरिनुपर्दछ ।
- सम्पर्क कमिटी तथा मञ्चहरूलाई पार्टी निर्माण, जिल्लाको पार्टी काम तथा जनसम्बन्ध विस्तारका काममा प्रभावकारी रुपमा परिचालित गरिनुपर्दछ ।
- पार्टी र राज्य सञ्चालन सम्बन्धी नीति निर्माणमा पार्टीका विभागहरूलाई' थिङ्क ट्याङ्क' का रूपमा क्रियाशील गरिनुपर्दछ ।
- नेता, कार्यकर्ता, सदस्य र नागरिकबीचको सम्बन्धलाई आश र त्रासको छाँयाबाट मुक्त गरी आपसी विश्वास र आत्मीय सम्बन्धमा रुपान्तरण गरिनुपर्दछ ।
- हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम, सामाजिक तथा जनकार्यमा पूर्ण जवाफदेही बनाइनुपर्दछ । सारमा नेकपा (एमाले) लाई आम जनसमुदाय र पार्टी सदस्यहरूले गौरव गर्नलायक राजनीतिक संस्थाको रूपमा विकास गरिनुपर्दछ। पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनक सहभागिता गराउनुपर्दछ ।
- पार्टी कार्यक्रम तथा नेताहरूमा देखिने तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिइनुपर्दछ ।
- प्राकृतिक विपत्ति तथा विभिन्न रोगबाट पीडित कार्यकर्ताहरूको राहत र सहयोगका लागि एक कार्यकर्ता संरक्षण कोष स्थापना गर्नुपर्दछ र त्यसको सञ्चालन निर्देशिका निर्माण गरी न्यायोचित र पारदर्शी ढंगले उपयोग गर्ने प्रबन्ध गरिनुपर्दछ ।
- कार्यकर्ता उत्पादन, निर्माण तथा नेतृत्वको विकास सम्बन्धमा उपयुक्त नीति बनाई कार्यान्वयन गर्नुपर्दछ ।
- पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरू उत्पादनका कार्यमा अनिवार्य रूपले जोडिने, कानूनअनुसार राज्यलाई कर बुझाउने र आर्थिक रूपले आत्मनिर्भर हुने कुरालाई प्रोत्सहन गरिनुपर्दछ।
- पार्टी र जनसंगठनका कार्यकर्ताहरूलाई अनिवार्य रूपमा वर्षको १५ दिन आफू कार्यरत भूगोलभन्दा बाहिर गएर श्रमदान, स्वयंसेवी कार्य तथा जनसेवाका कार्यमार्फत जनतासँग अन्तरघुलन हुने गरी काम गर्न आवश्यक प्रबन्ध गरिनु पर्दछ ।
- पार्टी स्कूल विभागमार्फत् प्रशिक्षणको पाठ्यक्रमलाई वर्तमान समयमा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, वैश्विक तथा सांस्कृतिक विषयमा मार्क्सवादी व्याख्या गर्नसक्ने गरी कार्यकर्तालाई प्रशिक्षित गर्न आवश्यक परिमार्जन गरी लागू गरिनुपर्दछ ।