
यही पुस ४ र ५ गते बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता-२०२५’ हुने भएको छ ।
शक्ति खेलका रूपमा रहेको पावर लिफ्टको विभिन्न ३ विधा मध्येको एक डेडलिफ्टका देशभरका खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
एक्टिभ जिम एन्ड फिटनेश, बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी खेलकुद परिषद्, बुटवल उपमहानगरपालिका तथा नेपाल पावरलिफ्टिङ एशोसिएसन र नेपाल खेलकुद महासंघको सहकार्य रहेको छ ।
प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका १० वटा विधामा प्रतिस्पर्धा गराउन लागिएको प्रतियोगिताका संयोजक एवं एक्टिभ जिम एन्ड फिटनेसका सञ्चालक सञ्जिव क्षेत्रीले जनाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ ६२ केजीमुनि, ६२ देखि ६९ सम्म, ६९ देखि ७७ सम्म, ७७ देखि ८५ सम्म र ८५ केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५८ केजीमुनि, ५८ देखि ६४ सम्म र ६४ देखि माथि तौल समूह गरि ३ विधामा प्रतिस्पर्धा हुने संयोजक क्षेत्रीले जनाएका छन् ।
यसैगरी, स्पेशल विधा अन्तर्गत पुरुष मास्टरर्समा ४५ केजी तौलभन्दा माथि र जुनियरमा अन्डर २३ केजीको प्रतिस्पर्धा गराइने छ ।
प्रतियोगितामा सहभागी पुरुष विधाका विजेताले ८ हजार नगदसहित मेडल, दोस्रो हुनेले ६ हजार नगदसहित मेडल तथा तेस्रो हुनेले हजार नगदसहित मेडल प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडी छनौट गरिने छ । उत्कृष्ट खेलाडी लुम्बिनी क्लासिक पावरलिफ्टिङ च्याम्पियन हुने छ । पुरुष च्याम्पियनले ५१ हजार नगद तथा महिला च्याम्पियनले ३१ हजार नगद प्राप्त गर्ने क्षेत्रीले बताए ।
प्रतियोगितामा देशभरबाट करिब १ सय खेलाडीको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।