
दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा नेपालको एपीएफ क्लब उप–विजेतामै समेटिएको छ ।
शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब भारतीय क्लब इस्ट बंगालसँग ०–३ गोलले पराजित भयो ।
इस्ट बंगालले प्रतियोगितामा अपराजित रहँदै उपाधि चुमेको हो । एपीएफ क्लब पनि समूह चरणमा अपराजित रहँदै फाइनलसम्म पुगेको थियो ।
साफ महिला क्लब च्याम्पियनसिपको यो पहिलो संस्करण हो । यी दुवै टोली समूह चरणको खेलमा अब्बल प्रदर्शन गर्दै फाइनलमा पुगेका थिए ।
पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा इस्ट बंगाल तालिकाको पहिलो स्थानमा रहेर फाइनलमा पुगेको थियो । इस्ट बंगालले तीन खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो ।
एपीएफ क्लबले भने चारमध्ये दुई खेलमा जित र दुई खेलमा बराबरीको नतिजाबाट आठ अंक जोड्दै तालिकामा दोस्रो भएर फाइनलमा पुगेको थियो ।
भुटानको ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (तेस्रो), पाकिस्तानको कराँची सिटी फूटबल क्लब (चौथो) र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमी (पाँचौं) भने समूहगत चरणबाटै बाहिरिएका थिए ।
एपीएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नासरिनलाई ४–० गोलले हराएको थियो । उक्त खेलमा एपीएफ क्लबका लागि रश्मी कुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोलको योगदान गरेका थिए ।
आफ्नो दोस्रो खेलमा एपीएफ क्लब भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । एपीएफ क्लबले तेस्रो खेलमा पाकिस्तानको कराँची सिटीलाई १–० गोलले हराएको थियो ।
कराँची सिटीविरुद्धको खेलमा एपीएफका लागि एकमात्र गोल रश्मीकुमारी घिसिङले गरेकी थिइन् ।
चौथो खेलमा भने एपीएफ क्लब भारतको इस्ट बंगालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।