
आमासँग विवाद गरेर कोठा छाडेको १६ दिनपछि १७ वर्षीया आयुषा कामी मृत फेला परिन् । त्यो पनि फोहोरको डुंगुरमा तन्नाभित्र पोको पारेको अवस्थामा ।
प्रहरी अनुसन्धानमा जुट्यो । आयुषाको शव फेला परेको स्थाननजिकै होटल तथा गेस्टहाउसहरू सञ्चालित थिए । प्रहरीले सीसीटीभी मनिटरिङ गर्न थाल्यो ।
एकजना शंकास्पद व्यक्ति कपडाको पोको बोकेर बाहिरिँदै गरेको दृश्य सीसीटीभीमा कैद भएको देखेपछि सोधीखोजी गर्दा सुरज मगर भन्ने सूर्य थापा मगरको पहिचान खुल्यो ।
अनि शुरू भयो घटना अनुसन्धानको प्रारम्भिक बिन्दु ।
उदयपुरको कटारी घर भएर काठमाडौंको गोंगबु बस्दै आएका सूर्य गोंगबु बसपार्कमा सञ्चालित होटल रोयल कुन्डलामा कूकको काम गर्दै आएका थिए ।
शुरूमा भारतको नयाँ दिल्लीमा कपडा फ्याक्ट्रीमा काम गरेर नेपाल फर्किई गोंगबुमै सञ्चालित शिवपुरी होटलमा गाइडको रूपमा काम गरेका सूर्य पर्याप्त पैसा नभएपछि रोयल कुन्डलामा विगत ७ महिनादेखि काम गर्दै आएका थिए ।
आयुषासँग सूर्यको दुई महिनादेखि चिनजान भएको थियो । सूर्यले आयुषासँग बेलाबखत शारीरिक सम्पर्क समेत भएको बयान प्रहरीलाई दिएका छन् ।
यसबीचमा एक दिन आयुषाले सूर्यसँग पैसा मागिन् । अघिल्लो दिन फिर्ता गर्ने सर्तमा सूर्यले पाँच सय दिएका थिए । त्यो पनि फिर्ता नगरी पुन: आयुषाले एक हजार पाँच सय मागेपछि सूर्यले इन्कार गरे ।
‘मसँग १५ सय छैन भनेपछि आयुषाले पैसा नदिए प्रहरीमा जबर्जस्ती करणीको मुद्दा हालिदिन्छु भनेर धम्की दिन थालिन्,’ सूर्यले प्रहरीसँगको बयानमा भनेका छन्, ‘आफूलाई मुद्दामा फसाइदिने डर लाग्यो, एकाएक उसको हत्या गर्ने योजना बनाएँ, जुत्ताको तुनाले घाँटी कसेर मारें ।’
आयुषाको हत्या गरेपछि सूर्यले होटलका म्यानेजर नवीन खड्कालाई जानकारी गरएको खुलेको छ । नवीनले उक्त कुरा गोप्य राख्न सुझाव दिएको बयान सूर्यले दिएका छन् ।
‘मैले होटलका म्यानेजरलाई आयुषाको हत्या गरेको जानकारी गराएपछि उहाँले यो कुरा गोप्य राख्नु, मौका मिलाएर राति फाल्नुपर्छ भन्नुभयो,’ सूर्यले बयानमा भनेका छन्, ‘कात्तिक २६ गते राति किचनबाट ठूलो साइजको कालो रंगको दुईवटा प्लास्टिक, एउटा प्याजको बोरा र तन्ना ल्याएर आयुषाको शव पोको पारी जेब्रा झोलामा राखेर बिहानको साढे एक बजेतिर बाहिर लगेर फोहोर फाल्ने ठाउँमा फालेर आएँ ।’
सूर्यले बयान दिएअनुसार पोको पारिएको आयुषाको शव फाल्न लैजाने क्रममा होटलको च्यानल गेट म्यानेजर नवीनले नै खोलिदिएका थिए ।’
शव फोहोरमा फालेर सूर्य होटल फर्किए । शवको व्यवस्थापन राम्रै भयो भन्दै उनी ढुक्क भएर होटलमा मदिरा सेवन पनि गरे । दिन बित्दै गयो । जब प्रहरीले शव बरामद गर्यो, अनि उनी आत्तिए । दिनदिनै मदिराको नशामा पर्न थाले ।
मंसिर ७ गते मिलनटोलमै एक खाजा घरमा सूर्य मदिरा सेवन गर्दै थिए । ‘प्रहरी त्यहीँ पुगेर उनलाई सीसीटीभी फुटेज देखाएर पोको बोक्ने व्यक्ति तपाईं नै हो ? भनेर सोध्यो । सूर्यले आफू रहेको स्वीकारेपछि पक्राउ गरियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले भने, ‘सूर्यले बयानमा होटलका म्यानेजरको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिएका हौं ।’
नवीनले भने होटलको कोठामा शव गन्हाउन थालेपछि बाहिर फाल्न च्यानल गेट खोलिदिएको र कसैले थाहा नपाओस् भनेर बत्ती ‘अफ’ गरिदिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
प्रहरीले यो घटनामा होटल रोयल कुन्डलाका सञ्चालक नरेन्द्र लामासँग समेत सोधपुछ गरेको छ । सोधपुछका क्रममा नरेन्द्रले आफू कात्तिक २६ गते नै नवीनलाई होटलको जिम्मा लगाएर बाली भित्र्याउन नुवाकोट गएको बताएका छन् ।
कात्तिक २७ गते होटल फर्किँदा नवीनलाई नदेखेपछि फोनमा किन होटल नआएको ? भनेर सोधेको पनि उनले खुलाएका छन् । नवीनले आउँछु भनेर जवाफ दिए पनि उनी आएनन् । तर, आयुषाको हत्या गर्ने सूर्य भने होटलमा सामान्य अवस्था झैँ काम गरिरहेका थिए । प्रहरी पुग्दा उनी झस्किएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूर्य र नवीनविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
अर्कै व्यक्तिसँग ‘लिभिङ टुगेदर’ मा थिइन् आयुषा
चोरीसम्बन्धी कसुरमा छुटेपछि शक्ति बोहोरा गत मंसिर ५ गते आयुषाको डेरामा पुग्छन् ।
आयुषा नदेखेपछि उनी खोजीका जुट्छन् । प्रहरीले शवको मुचुल्का गर्दा आयुषाको हातमा ‘शक्ति’ लेखेको ट्याटु छ भनेको सुनेपछि शक्ति आफैं त्रिवि शिक्षण अस्पताल समेत पुग्छन् ।
नयाँ बसपार्कमा सिलाइबुनाइको काम गर्दै आएका शक्ति नेपालटारमा डेरा गरी बस्दै आएका थिए । प्रहरीलाई शक्तिले जानकारी गराएअनुसार उनी र आयुषा विगत दुई वर्षदेखि ‘लिभिङ टुगेदर’ बस्दै आएका थिए ।
उनले आयुषाको हत्या भएको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएका थिए ।
‘हामी दुई वर्षदेखि सँगै बस्दै आएका थियौं, विवाह गर्ने योजनामा थियौं,’ शक्तिले भनेका छन्, ‘एकाएक आयुषाको हत्या भएको सुनेँ । घटनाको बेला म प्रहरी हिरासतमा थिएँ ।’
होटलको तन्नाको पोल यसरी खुल्यो
आयुषाको शव पोको पार्न प्रयोग भएको तन्ना पत्ता लगाउन प्रहरी ‘लन्ड्री’ पसलहरूसम्म पुगेको थियो ।
तन्नामा अंग्रेजी अक्षरमा ‘के’ लेखिएको थियो । केको अर्थ कुन्डला थियो । माछापोखरीमा तीन वर्षदेखि लन्ड्री सञ्चालन गर्ने प्रकाश श्रेष्ठलाई प्रहरीले आयुषाको शव पोको पारेको तन्ना देखाएका थिए । तन्नामा लेखिएको ‘ट्याग’ आफैंले लेखिदिएको स्वीकार प्रकाशले गरेका छन् ।