०२ साउन २०८३, शनिबार

ओस्मान हादीको हत्यापछि बंगलादेशमा अर्का विद्यार्थी नेतामाथि गोली प्रहार

पुस ८, २०८२
काठमाडौं
ओस्मान हादीको हत्यापछि बंगलादेशमा अर्का विद्यार्थी नेतामाथि गोली प्रहार

विद्यार्थी नेता ओस्मान हादीको मृत्यु भएको केही दिनमै बंगलादेशमा अर्का एक विद्यार्थी नेतामाथि गोली प्रहार भएको छ ।

सोमबार खुल्ना शहरमा नेशनल सिटिजन पार्टी (एनसीपी)का नेता मोतालेब सिकदरमाथि गोली प्रहार भएको हो । आक्रमणकारीले उनको टाउको लक्षित गरी गोली चलाएको ‘द डेली स्टार’ले जनाएको छ ।

सोनाडांगा मोडल प्रहरी चौकीका अनुसन्धान अधिकृत अनिमेष मण्डलका अनुसार सोमबार बिहान करिब ११:४५ बजे अज्ञात व्यक्तिहरूले मोतालेबमाथि गोली चलाएका थिए । गम्भीर अवस्थामा उनलाई तत्काल खुल्ना मेडिकल कलेज अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार मोतालेबको अवस्था अहिले खतरामुक्त छ । गोली उनको कानको एकपट्टि प्रवेश गरी छाला छेड्दै अर्को पट्टिबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

मोतालेब सिकदर नेशनल सिटिजन पार्टीका खुल्ना विभागीय प्रमुख तथा एनसीपी श्रमिक शक्ति केन्द्रीय आयोजक हुन् । पार्टीकी संयुक्त प्रमुख समन्वयक महमुदा मितुले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् ।

नेशनल सिटिजन पार्टी सन् २०२४ को विद्यार्थी आन्दोलनपछि ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ र ‘जातिया नागरिक कमिटी’को पहलमा गठन गरिएको हो । बंगलादेशको इतिहासमै पहिलो विद्यार्थी नेतृत्वको राजनीतिक दलका रूपमा यस पार्टीको स्थापना यही वर्ष फेब्रुअरी २८ मा भएको थियो ।

ओस्मान हादीको हत्या

२०२४ को विद्यार्थी आन्दोलनका नेता ओस्मान हादी डिसेम्बर १२ मा ढाकामा भएको आक्रमणमा गोली लागेपछि गम्भीर घाइते भएका थिए । 

उपचारका लागि डिसेम्बर १५ मा उनलाई सिंगापुर जनरल अस्पतालको न्युरोसर्जिकल आईसीयूमा हवाईमार्गबाट लगिएको थियो ।

तर, सिंगापुरको विदेश मन्त्रालयका अनुसार चिकित्सकहरूको प्रयासका बाबजुद डिसेम्बर १८ मा हादीको मृत्यु भएको थियो ।

बंगलादेश प्रहरीले आइतबारसम्म पनि हादीको हत्याका मुख्य संदिग्धको ठेगानाबारे कुनै ठोस जानकारी नभएको जनाएको छ । यसअघि हादीको पार्टी ‘इन्किलाब मञ्च’ले अन्तरिम सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै दोषीको गिरफ्तारीमा ‘देखिने प्रगति’ माग गरेको थियो ।

हादीको मृत्युपछि देशका विभिन्न स्थानमा हिंसा र तोडफोडका घटना भएका थिए । चटग्रामस्थित भारतीय सहायक उच्चायोगको निवासमा ढुंगामुढासमेत भएको थियो ।

कडा सुरक्षा व्यवस्थाबीच शनिबार ढाका विश्वविद्यालय मस्जिद नजिक राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधिस्थल छेउमै ओस्मान हादीको अन्त्येष्टि गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्