
फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा चुनाव अन्योलपूर्ण बन्दै गएको सन्दर्भमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरे ।
शीर्ष नेतासहितको बैठकमा ‘चुनाव गराउन मुख्य राजनीतिक दल र सरकार सहमत भएको' भनेर राष्ट्रपतिको सचिवालयले एकतर्फी सूचना सम्प्रेषित गरे पनि खासमा त्यो बैठकमा त्यस्तो कुनै सहमति भएको थिएन ।
बरु, राजनीतिक दलका नेताले राष्ट्रपतिलाई दलहरूबीच नयाँ सहमति हुने जनाउ दिएर फर्किएको स्रोतले लोकान्तरलाई बतायो ।
बैठकको शुरूमै राष्ट्रपति पौडेलले विषय प्रवेश गर्दै फागुन २१ का लागि तोकिएको चुनाव सफल बनाउनेतर्फ लाग्न दलहरूलाई आग्रह गरेका थिए ।
‘चुनाव नभए मुलुकमा संवैधानिक जटिलता थपिन्छ, विद्यमान परिस्थितिको निकासका लागि चुनावमा जाऔं, तपाईंहरू सहमति गर्नुस्,’ पौडेलले प्रधानमन्त्रीसहित दलका नेताहरूलाई आग्रह गरे ।
पौडेल बोलेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनाव गराउने तयारीमा लागेको भन्दै दलहरूको सहयोग आवश्यक रहेको बताइन् ।
बैठकमा कार्कीले भनेकी थिइन्, ‘चुनाव गराउनकै लागि विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व गरेको हो, चुनाव गराएर जतिसक्दो छिटो नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न चाहन्छु ।’
भदौ २७ गते प्रधानमन्त्री बनेपछि सुशीला कार्की र दलका शीर्ष नेताहरूबीच पहिलोपटक औपचारिक छलफल भएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीपछि नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बोलेका थिए ।
उनले प्रधानमन्त्री कार्कीका शुरूदेखिका अभिव्यक्ति र क्रियाकलाप राजनीतिक दललाई निषेध गर्ने र चुनावको वातावरण बिगार्ने खालका रहेको बताए ।
‘प्रधानमन्त्रीजी शुरूदेखि नै हाम्रो (राजनीतिक दलका नेता)को मुख हेर्न चाहन्नँ भन्दै हिँड्नुभएको थियो । चुनाव गराउने भन्दा पनि राजनीतिक दलसँग बदला लिने हिसाबले सरकार चलिरहेको छ,’ ओलीको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘दलका नेतालाई स्थान हद तोकिएको छ । छानबिनका नाममा बदनाम गराउने कोशिश गरेर सरकारले चुनावको वातावरण बनाउँदैछ त ?’
ओली बोलिरहेका बेला माहोल केहीबेर स्तब्ध बनेको थियो ।
‘सुरक्षाकर्मीका हतियार लुटिएका छन् । सुरक्षा निकायको मनोबल उकास्ने काममा सरकार लागेको छैन । स्टन्टबाजी गरेर मात्र चुनाव हुन्छ ?’ ओलीले बैठकमा भनेको थिए, ‘सरकारले अधिकार नै नभएको कुरामा हात हाल्दै जाने कुराले चुनावको वातावरण कसरी बन्छ ? कस्तो चुनाव गर्न खोज्नुभएको हो ?’
ओली बोलेपछि कांग्रेस सभापति शेरबहादुर देउवा बोलेका थिए । उनले ओलीको कुरामा समर्थन जनाउँदै चुनावको वातावरण पटक्कै बन्न नसकेको बताएका थिए ।
‘सरकारले चुनाव भने पनि शान्ति सुरक्षा र अमनचयनको वातावरण बनेको छैन । दलहरू भोट माग्न जाने अवस्था छैन । यस्तो बेला कहाँ चुनाव हुन्छ ?’ देउवाले पनि चुनाव हुनेमा सन्देह पैदा भएको बताएका थिए ।
कांग्रेसले चुनावमा जाने औपचारिक निर्णय गरेर उम्मेदवारहरू सिफारिस गरिरहेको भएपनि सरकारले दलहरूलाई विश्वास दिलाउन र चुनावको वातावरण बनाउन नसकेको देउवाले बताए ।
देउवाले फेरि थपे ‘कांग्रेस–एमाले वर्षौंदेखि चुनाव लड्दै आएका हुन् । चुनाव हाम्रो लागि नयाँ कुरा होइन । चुनावको महत्त्व हामीले बुझेका छौं । तर, सरकारले चुनावको माहोल नै बनाउन सकेको छैन ।’
त्यसपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलेका थिए । उनले आफ्नो पार्टी चुनावको माहौल बनाउन लागिपरेको बताए ।
सोही बैठकमा ओलीले सुशीलालाई ‘तपाईंले छाड्नुपर्छ, संविधानले चिनेको सरकार बनाउनुपर्छ’ भनेपछि उनी चिढिएकी थिइन् । उनीहरूबीच नोकझोक समेत चलेको स्रोतको भनाइ छ ।
प्रमुख दलका कुरा सुनेपछि प्रधानमन्त्री कार्की शीतलनिवासबाट बाहिरिइन् । उनी बाहिरिनुअघि राष्ट्रपतिले 'बालुवाटारमा बोलाएर दलहरूसँग छलफल गर्नू' भनेर सुझाव दिएका थिए ।
सुशीला बाहिरिएपछि पनि राष्ट्रपति पौडेल र दलका शीर्ष नेताहरूबीच केहीबेर कुराकानी भएको थियो ।
आफूले नेताहरूसँगको सल्लाह र परामर्शमै भदौ २७ गते नयाँ सरकार गठनको पहलकदमी लिए पनि अहिले आफूलाई आरोपित गर्ने काम गरेको भन्दै राष्ट्रपतिले गुनासो गरेका थिए ।
त्यसक्रममा एमाले अध्यक्ष ओलीले सरकार गठन गर्दा संविधानको धाराको सही प्रयोग नभएको बताए ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्चले केही बोल्नुपर्ने र त्यहीँबाट निकास निस्किने बताएका थिए ।
ओलीले पुन:स्थापनाबाहेक अर्को संवैधानिक विकल्प नरहेको भन्दै त्यसमा राष्ट्रपतिले सहयोग गर्नुपर्ने बताए ।
ओलीले संविधानविपरीतको काम भए पुन:स्थापित संसदले निर्णय लिनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए ।
उनले निकास दिनका लागि राष्ट्रपति तयार हुनुपर्ने बताएपछि पौडेलले ‘त्यसो भए निकासको उपाय के हो त ?’ भनेर सोधेका थिए ।
जवाफमा ओलीले जेनजीसँग दलहरूले कुनै सहमति गरेर ल्याउने र त्यसमा राष्ट्रपतिको सहयोगको अपेक्षा रहेको बताएका थिए ।
ओलीले सहमतिको खाकाबारे केही बताएनन् । (यसअघि मंसिर ६ गते भृकुटीमण्डपमा सम्बोधन गर्ने क्रममा ओलीले कार्की सरकारलाई जसरी गठन गरेको हो, राष्ट्रपतिले त्यसैगरी बिदा गर्नुपर्ने टिप्पणी गरेका थिए ।)
ओली बोलेपछि देउवाले चुनाव हुने स्थिति नरहेको भन्दै राष्ट्रपतिले निकासका लागि सहयोग गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीका अगाडि चुनावको पक्षमा रहेको बताएका प्रचण्ड कार्की बाहिरिएपछि भने अलि खुलेर कुरा गरेका थिए । उनले आफूहरू पुन:स्थापनको विरोधमा नरहेको बताए ।
‘हामी चुनावको पक्षमा छौं, तर जेनजीसहितको सहमति बन्छ र संविधान संशोधनमार्फत वैधानिक सरकार बन्छ भने त्यसका लागि हामी बाधक छैनौं,’ प्रचण्डले बैठकमा भनेका थिए ।
त्यसपछि थप छलफल गर्ने भन्दै नेताहरू उठेका थिए ।
पढ्नुहोस्, यो पनि:
EXCLUSIVE: पाक्दै गरेको खजाना: पुसभित्रै संसद् पुन:स्थापना, जेनजीसहितको सर्वपक्षीय सरकार