
बुटवलस्थित एभरेस्ट इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रस्तुत गरेको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
गत मंसिर १५ गते विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले ‘नमूना विवाह’ शीर्षकको नाटक प्रस्तुत गरेका थिए ।
उक्त नाटकको छोटो भिडियो क्लिप सामाजिक सञ्जालमा फैलिन थालेपछि यसबारे सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रतिक्रिया आएका छन् । केहीले विद्यालयले बालबालिकालाई विद्यालयमै विवाह गराएको भन्दै आलोचना गरेका छन् भने कतिपयले वास्तविक विवाह पद्धतिबारे जानकारी दिने उद्देश्यले तयार गरिएको प्रस्तुति भएकाले सकारात्मक रूपमा लिनुपर्ने तर्क गरेका छन् ।
विद्यालयको प्राङ्गणमा मञ्चन गरिएको नाटकमा विवाहका धार्मिक विधि र संस्कारहरू वास्तविक विवाहझैँ देखिने गरी प्रस्तुत गरिएको थियो । विद्यार्थीका अभिभावकहरूको सहमति र उपस्थितिमा सम्धेलो गर्ने, अवीर लगाउने, कन्यादान दिने र बिदाइका क्रममा दुलही पक्ष रोएको दृश्यसमेत देखाइएको छ, जसले नाटकलाई अझ यथार्थपरक बनाएको छ ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले अभिभावकको सहमति र उपस्थितिमा प्रस्तुत गरिएको नाटकका विषायमा आलोचना गर्नु आवश्यक नरहेको बताए । 'हामीले वर्षमा एक दिन सांस्कृतिक कार्यक्रम गर्छौं । यो मंसिर १५ गतेको कार्यक्रम हो,' उनले भने, 'विद्यार्थीहरूले अभिनय प्रस्तुत गरेका हुन् । यसमा अभिभावकको पनि सहमति छ । यो करिब ६ मिनेटको एउटा एक्ट मात्र हो, जुन २४ वटा नाटकहरूमध्ये एक हो ।'
१३–१४ वर्ष उमेरका विद्यार्थीलाई विवाह संस्कार कस्तो हुन्छ भन्ने जानकारी दिने उद्देश्यले तयार गरिएको नाटकको एउटा अंश मात्र सामाजिक सञ्जालमा फैलिएको भन्दै उनले यसलाई गलत अर्थ लगाएर बुझ्न आवश्यक नरहेको बताए ।